मुख्य समाचार
सोह्र श्राद्ध : पितृऋण, कर्तव्य र संस्कारको शास्त्रीय पर्व | हाम्रो शहरको कथा, हाम्रो पुस्ताको जिम्मेवारी | पूर्वखोलाको आठबिसे बस्ती जोखिममा, समयमै सतर्कता अपनाउँदा मानवीय क्षति टर्‍यो | पहिरोमा पुरिएर एउटै परिवारका तीन जनाको मृत्यु | पितृ पक्ष प्रारम्भ : सनातन संस्कारमा१६ श्राद्धको विशेष महत्त्व | स्याङ्जा–गुल्मी जोड्ने कालीगण्डकीको पुल बाढीले बगायो | माथागढीमा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता | तिनाउ नदीको बाढीले बुटवलमा दुई घर बगायो, तीनमा क्षति | पहिरोमा पुरिएर कृष्णकुमारी सारूको मृत्यु | व्यवसायिक पृष्ठभूमिका रमेश पराजुली कांग्रेस महाधिवेशन प्रतिनिधिको चर्चामा |
मुख्य समाचार
सोह्र श्राद्ध : पितृऋण, कर्तव्य र संस्कारको शास्त्रीय पर्व | हाम्रो शहरको कथा, हाम्रो पुस्ताको जिम्मेवारी | पूर्वखोलाको आठबिसे बस्ती जोखिममा, समयमै सतर्कता अपनाउँदा मानवीय क्षति टर्‍यो | पहिरोमा पुरिएर एउटै परिवारका तीन जनाको मृत्यु | पितृ पक्ष प्रारम्भ : सनातन संस्कारमा१६ श्राद्धको विशेष महत्त्व | स्याङ्जा–गुल्मी जोड्ने कालीगण्डकीको पुल बाढीले बगायो | माथागढीमा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता | तिनाउ नदीको बाढीले बुटवलमा दुई घर बगायो, तीनमा क्षति | पहिरोमा पुरिएर कृष्णकुमारी सारूको मृत्यु | व्यवसायिक पृष्ठभूमिका रमेश पराजुली कांग्रेस महाधिवेशन प्रतिनिधिको चर्चामा |

साहित्य समसामयिक लेख १२ असोज २०८३, सोमबार

हाम्रो शहरको कथा, हाम्रो पुस्ताको जिम्मेवारी

Rastriyanews

कुनै शहर केवल घर, सडक, बजार, चोक र भवनहरूको समूह होइन। शहर एउटा जीवित पात्र हो। उसको आफ्नै जन्मकथा हुन्छ, बाल्यकाल हुन्छ, संघर्ष हुन्छ, उकाली–ओराली हुन्छ, सुख–दुःख हुन्छ। उसले पुस्तौँलाई आउँदै गरेको देख्छ, केही मानिसलाई जन्मिँदै गरेको देख्छ र केहीलाई यहीँबाट बिदा भएको देख्छ। शासन व्यवस्था बदलिन्छ, सडकको स्वरूप बदलिन्छ, घरका ढोका र झ्याल बदलिन्छन्, व्यापारका शैली बदलिन्छन्, मानिसको जीवनशैली बदलिन्छ। तर शहरले ती सबै परिवर्तनलाई आफ्नो स्मृतिभित्र बोकेर निरन्तर यात्रा गरिरहेको हुन्छ।

तानसेनलाई केवल पाल्पा जिल्लाको सदरमुकाम भनेर चिनाउनु यसको विशाल परिचयलाई साँघुरो बनाउनु हो। तानसेन प्रशासनिक केन्द्र मात्र होइन; यो इतिहास हो, संस्कृति हो, व्यापार हो, कला हो, वास्तुकला हो, आस्था हो, संघर्ष हो, स्मृति हो, श्रम हो, सीप हो र सबैभन्दा महत्वपूर्ण कुरा—धेरै पुस्ताले मिलेर निर्माण गरेको एउटा जीवित सांस्कृतिक शहर हो।

यहाँका ढुंगामा समयको स्पर्श छ। पुराना मूलढोकाका छेउमा रहेका काठका झ्यालमा पुस्तौँ पुरानो कलाको छाप छ। मन्दिरका घण्टीमा आस्थाको आवाज छ। पुराना चोकमा सामाजिक सम्बन्धको इतिहास छ। गल्लीहरूमा व्यापारिक यात्राको सम्झना छ। टोलका जात्रा र पर्वमा समुदायको एकता छ। ढाका बुन्ने हातमा सीपको इतिहास छ। करुवा बनाउने कालिगढको हथौडाको आवाजमा पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको ज्ञान छ। वृद्ध पुस्ताले सुनाउने कथामा कागजमा नलेखिएको एउटा विशाल इतिहास लुकेको छ।

त्यसैले आज हामीले आफैँलाई एउटा प्रश्न गर्नुपर्ने बेला आएको छ—तानसेनको कथा आजबाट सुरु भएको होइन।

यसको ऐतिहासिक विकास सेनकालीन पाल्पासँग गहिरोसँग जोडिएको पाइन्छ। विभिन्न ऐतिहासिक स्रोत तथा स्थानीय इतिहासका विवरणमा पाल्पाली सेन शासनसँग जोडिएको श्रीनगर क्षेत्रको उल्लेख भेटिन्छ। महादत्त सेनले वि.सं. १८४४ तिर श्रीनगर शहर बसाएको भन्ने ऐतिहासिक उल्लेख तथा स्थानीय मान्यता पाइन्छ।

त्यो समय आजको जस्तो थिएन। न मोबाइल थियो, न इन्टरनेट, न मोटरबाटो, न आधुनिक सञ्चार। शहरको आवश्यकता पनि फरक थियो। राज्य सञ्चालनका लागि सुरक्षित भूगोल चाहिन्थ्यो, प्रशासनिक केन्द्र चाहिन्थ्यो, सैनिक दृष्टिले उपयुक्त स्थान चाहिन्थ्यो, धार्मिक तथा सामाजिक जीवन सञ्चालन हुने ठाउँ चाहिन्थ्यो र व्यापारका लागि अनुकूल वातावरण चाहिन्थ्यो। त्यही आवश्यकता र भूगोलको बीचबाट श्रीनगरको विकास हुँदै गएको देखिन्छ।

श्रीनगर केवल एउटा बस्ती थिएन। त्यो एउटा राजनीतिक सपना थियो, राज्य व्यवस्थापनको केन्द्र थियो, सामरिक भूगोल थियो र समयसँगै त्यही भूगोलले जीवन्त शहरको रूप लिन थाल्यो।

इतिहासको सुन्दर पक्ष के हो भने शहरका नाम परिवर्तन हुन सक्छन्, शासन बदलिन सक्छ, व्यवस्था फेरिन सक्छ; तर शहरको स्मृति हराउँदैन। श्रीनगर नाम इतिहासका विभिन्न कालखण्डसँग जोडियो। समय बित्दै जाँदा तानसेन नाम प्रचलित हुँदै गयो। नाम फेरियो, शासन फेरियो, राजनीतिक व्यवस्था फेरियो; तर भूगोल उही रह्यो, मानिसको बसोबास उही पहाडमा रह्यो। मन्दिरका घण्टी बजिरहे, चोकहरूमा मानिसहरू भेटिइरहे, व्यापार चलिरह्यो, जात्रा–पर्व चलिरहे। यसरी शहरको शरीर परिवर्तन हुँदै गयो, तर त्यसको आत्मा पुस्तौँदेखि निरन्तर बाँचिरह्यो।

आज श्रीनगर डाँडामा उभिएर तलको तानसेन हेर्दा एउटा प्रश्न मनमा आउँछ—यो दृश्य कति पुस्ताले हेरे होलान्? यही डाँडाले कति राजाको समय देख्यो होला? कति शासन व्यवस्था देख्यो होला? कति युद्ध, कति उत्सव, कति प्रेम, कति पीडा र कति परिवर्तन देख्यो होला?

आज हामी यहाँबाट मोबाइल निकालेर फोटो खिच्छौँ। तर यही भूगोलमा कुनै समय मानिसले आँखाले क्षितिज नियालेर आफ्नो राज्यको सुरक्षा र भविष्यको कल्पना गरेको थियो होला। यही कारण तानसेनको भूगोल आफैँ एउटा इतिहास हो।

श्रीनगर डाँडा वरपरका पहाड, कालीगण्डकीतर्फ जाने बाटो र पश्चिम नेपालका विभिन्न भूभागसँग जोडिने मार्गहरूले तानसेनलाई ऐतिहासिक रूपमा महत्वपूर्ण बनाएका छन्।

तर तानसेनको कथा दरबार र शासनको कथा मात्र होइन। यो मानिसको कथा पनि हो।

राजनीतिक केन्द्र विस्तारै व्यापारिक केन्द्रमा रूपान्तरण भयो। व्यापारी आए, कालिगढ आए, नयाँ परिवार आए, नयाँ सीप आए, पुराना व्यवसाय फैलिँदै गए, बजार बढ्दै गयो, चोकहरू बने, गल्लीहरू जीवन्त भए र मानिसको श्रमले एउटा शहरलाई आकार दियो।

आज पुरानो तानसेन बजारका गल्लीमा हिँड्दा यही इतिहास अझै देखिन्छ। कुनै घरले व्यापारिक परिवारको इतिहास बोकेको छ। कुनै घरमा पुस्तौँदेखि एउटै व्यवसाय चलिरहेको छ। कुनै चोकमा पहिले व्यापारीहरू जम्मा हुन्थे। कुनै गल्लीबाट सामान ओहोरदोहोर हुन्थ्यो। कुनै बहालमा सामाजिक तथा धार्मिक गतिविधि हुन्थे।

त्यसैले पुरानो तानसेनको प्रत्येक गल्ली एउटा अध्याय हो।

तानसेन घुम्न आउने पर्यटकले यदि मुख्य सडक मात्र देखेर फर्कियो भने उसले तानसेनको आधा कथा पनि देखेको हुँदैन। तानसेनको वास्तविक कथा मुख्य सडकभन्दा भित्र छ—असनटोलका गल्लीमा छ, भगवतीटोलमा छ, सिल्खानटोलमा छ, गोलाखानामा छ, बारुदखानामा छ, टक्सारमा छ, शीतलपाटीमा छ, पुराना घरका झ्यालमा छ, बहालका कुनामा छ, पुराना पसलमा छ, चिया पसलको गफमा छ।

तानसेनलाई बुझ्न गाडीबाट झर्नुपर्छ। पैदल हिँड्नुपर्छ। कुनै पुरानो चोकमा केहीबेर रोकिएर मानिसलाई हेर्नुपर्छ। कुनै स्थानीयसँग कुरा गर्नुपर्छ। कुनै वृद्धको कथा सुन्नुपर्छ। कुनै पुरानो घरको झ्याललाई नियाल्नुपर्छ। त्यसपछि मात्र तानसेनले आफ्नो ढोका खोल्न थाल्छ।

पुरानो बजार बिस्तारै जागिरहेको हुन्छ। पसलका सटर खुलिरहेका हुन्छन्। चियाको बाफ उठिरहेको हुन्छ। मन्दिरबाट घण्टी सुनिन्छ। मानिसहरूको आवतजावत सुरु हुन्छ। पुराना घरका झ्यालबाट बिहानको घाम छिर्छ। अनि सूर्य पश्चिमतिर ढल्दै जाँदा श्रीनगर डाँडाबाट देखिने आकाशको रङ बदलिन्छ। शहरमाथि सुनौलो प्रकाश पर्छ। चिसो हावा चल्छ। तल तानसेन विस्तारै साँझमा प्रवेश गर्छ।

त्यो क्षणमा पर्यटकलाई लाग्न सक्छ—यस्तो शहर नेपालमा रहेछ, मैले किन पहिले थाहा पाइनँ?

यही अनुभूति तानसेनको पर्यटनको शक्ति बन्न सक्छ।

तानसेनमा पर्यटकलाई केवल ठाउँ देखाउने होइन, कथा सुनाउने पर्यटन विकास गर्नुपर्छ। रानीमहल देखाउँदा केवल भवन नदेखाऔँ, त्यससँग जोडिएका इतिहास र मानवीय कथा सुनाऔँ। पाल्पा दरबार देखाउँदा केवल वास्तुकला नदेखाऔँ, त्यसले बोकेको राजनीतिक इतिहास सुनाऔँ। श्रीनगर डाँडा देखाउँदा केवल दृश्य नदेखाऔँ, यसको ऐतिहासिक र सामरिक महत्व बुझाऔँ।

टक्सार देखाउँदा नामको अर्थ र पुरानो आर्थिक जीवनसँग जोडिएको कथा सुनाऔँ। गोलाखाना र बारुदखाना देखाउँदा तिनका नामसँग जोडिएको इतिहास खोजौँ। ढाका देखाउँदा कपडा मात्र नदेखाऔँ, त्यसलाई बुन्ने हातको कथा सुनाऔँ। करुवा देखाउँदा धातुको भाँडो मात्र नदेखाऔँ, त्यो बनाउने कालिगढको पुस्तौँ पुरानो सीप देखाऔँ।

मन्दिर देखाउँदा भवन मात्र नदेखाऔँ। त्यहाँको आस्था, जात्रा, बाजा, परम्परा र समुदायको सम्बन्ध पनि सुनाऔँ।

त्यसपछि पर्यटन फोटो खिचेर फर्किने पर्यटन रहँदैन, त्यो अनुभवको पर्यटन बन्छ।

कल्पना गरौँ—कुनै पर्यटक बिहान श्रीनगर डाँडाबाट सूर्योदय हेर्छ। त्यसपछि पुरानो तानसेन बजार हुँदै पैदल हिँड्छ। पुराना घरका झ्याल र ढोका हेर्छ। शीतलपाटीमा बसेर स्थानीयसँग चिया खान्छ। कुनै वृद्धसँग टोलको पुरानो कथा सुन्छ। ढाका बुन्ने ठाउँमा पुगेर कपडा कसरी तयार हुन्छ भनेर आफ्नै आँखाले हेर्छ। करुवा बनाउने कालिगढसँग कुराकानी गर्छ। स्थानीय परिकारको स्वाद लिन्छ। ऐतिहासिक तथा धार्मिक सम्पदा घुम्छ। साँझ फेरि श्रीनगरबाट सूर्यास्त हेर्छ।

अनि फर्किँदा उसको झोलामा एउटा ढाकाको कपडा हुन्छ, एउटा पाल्पाली करुवा हुन्छ, केही तस्वीर हुन्छन् र सबैभन्दा महत्वपूर्ण कुरा—तानसेनको एउटा कथा हुन्छ।

यही हो पर्यटन।

पर्यटकको संख्या मात्र बढ्नु पर्यटनको सफलता होइन। पर्यटक फर्किएपछि आफ्नो घरमा गएर अरूलाई तानसेनको कथा सुनाउन थाल्नु पर्यटनको वास्तविक सफलता हो।

हामीले यस्तो तानसेन बनाउनुपर्छ, जहाँ पर्यटकले फर्किएर भनून्—‘तानसेन जानुभयो भने गाडीमा मात्र नघुम्नुहोस्, गल्लीमा हराउनुहोस्।’ किनकि तानसेनमा हराउनु भनेको बाटो बिराउनु होइन, इतिहास भेट्टाउनु हो।

तानसेनको अर्को ठूलो शक्ति यसको मौलिक वास्तुकला हो। काठका कलात्मक झ्याल, पुराना ढोका, इँटाका संरचना, परम्परागत घर, साँघुरा गल्ली र चोक—यी सबैलाई आधुनिक विकासको बाधक मात्र ठान्यौँ भने हामीले आफ्नो सबैभन्दा ठूलो सम्पत्ति आफैँ गुमाउन सक्छौँ।

पुरानो घर जोगाउनु भनेको केवल काठ र इँटा जोगाउनु होइन। एउटा परिवारको कथा जोगाउनु हो, एउटा समय जोगाउनु हो, एउटा शहरको अनुहार जोगाउनु हो।

त्यसैले विकास चाहिन्छ, तर पहिचान मेटाएर होइन। सडक चाहिन्छ, तर पुरानो शहरको आत्मा भत्काएर होइन। आधुनिक सुविधा चाहिन्छ, तर मौलिक वास्तुकला नष्ट गरेर होइन।

हामीलाई चाहिएको विकास हो—पहिचानसहितको आधुनिकता।

तानसेनलाई सफा बनाऔँ, सुरक्षित बनाऔँ, व्यवस्थित बनाऔँ। सार्वजनिक शौचालय बनाऔँ, पार्किङ व्यवस्थापन गरौँ, तारहरू व्यवस्थित गरौँ, पैदलमार्ग बनाऔँ, सूचना केन्द्र बनाऔँ, डिजिटल नक्सा बनाऔँ। तर पुराना घरका झ्यालले बोल्ने भाषा बन्द नगरौँ। पुराना चोकको आत्मीयता नहराओस्। जात्राका बाजा मौन नहोऊन्। कालिगढका हात रोकिन नपरोस्। ढाका बुन्ने तानमा धागो नटुटोस्। करुवा बनाउने हथौडाको आवाज हराउन नदिऔँ।

किनकि यी सबै मिलेर तानसेन बनेको हो।

आजको संसारमा पर्यटक केवल सुन्दर भवन खोज्दैन। ऊ मौलिक अनुभव खोज्छ। उसलाई आफूले अरू ठाउँमा नदेखेको कुरा हेर्न मन लाग्छ। स्थानीय मानिससँग भेट्न मन लाग्छ। स्थानीय खाना खान मन लाग्छ। स्थानीय संस्कृति बुझ्न मन लाग्छ। आफू फर्किएपछि अरूलाई सुनाउन सक्ने एउटा कथा लिएर जान मन लाग्छ।

तानसेनसँग त्यो सबै दिने क्षमता छ।

हामीसँग एउटा जीवित शहर छ। अब त्यसलाई संसारसामु चिनाउने जिम्मेवारी हाम्रो हो।

तानसेनमा हेरिटेज वाक सुरु गर्न सकिन्छ। स्थानीय युवालाई तालिम दिएर इतिहास सुनाउने गाइड बनाउन सकिन्छ। पुराना घरमा क्यूआर कोड राख्न सकिन्छ। पर्यटकले मोबाइल स्क्यान गर्दा घरको इतिहास पढ्न सक्ने व्यवस्था गर्न सकिन्छ।

टोलको नाम कसरी रह्यो? यहाँ कुन जात्रा हुन्छ? पुरानो समयमा यहाँको भूमिका के थियो? कुन परिवारले के योगदान गर्‍यो? यी सबै डिजिटल माध्यमबाट जानकारी दिन सकिन्छ।

हामीले तानसेनको एउटा यस्तो डिजिटल नक्सा बनाउन सक्छौँ, जहाँ सडक मात्र होइन, कथाहरू देखिन्छन्। कुनै ठाउँमा क्लिक गर्दा इतिहास खुलोस्। कुनै घरमा क्लिक गर्दा पुरानो तस्वीर देखियोस्। कुनै मन्दिरमा क्लिक गर्दा जात्राको भिडियो देखियोस्। कुनै कालिगढमा क्लिक गर्दा उसको जीवनकथा सुनियोस्। कुनै टोलमा क्लिक गर्दा त्यस टोलको पुरानो नाम र इतिहास खुलोस्।

त्यसपछि तानसेन एउटा खुला डिजिटल इतिहासको शहर बन्न सक्छ।

र सबैभन्दा सुन्दर कुरा के हुन सक्छ भने यो इतिहास सरकारी कार्यालयको फाइलमा मात्र सीमित नहोस्। यसमा तानसेनवासीको आवाज पनि होस्। हजुरबाको सम्झना होस्। हजुरआमाको कथा होस्। पुरानो व्यापारीको अनुभव होस्। कालिगढको सीप होस्। महिलाको श्रमको कथा होस्। श्रमिकको पसिनाको कथा होस्। किसानको योगदान होस्। विद्यार्थीको खोज होस्। युवाको क्यामेरा होस्।

किनकि शहर राजा र शासकले मात्र बनाउँदैनन्। शहर मजदुरले बनाउँछ, मिस्त्रीले बनाउँछ, काठ कुँद्ने कालिगढले बनाउँछ, ढाका बुन्ने हातले बनाउँछ, करुवा बनाउने कलाकारले बनाउँछ, व्यापारीले बनाउँछ, किसानले बनाउँछ, सडक सफा गर्ने श्रमिकले बनाउँछ, घर सम्हाल्ने महिलाले बनाउँछ र पुस्तौँसम्म त्यसलाई जोगाएर राख्ने परिवारले बनाउँछ।

त्यसैले तानसेनको इतिहास लेख्दा दरबार र राजाको कथा मात्र होइन, पसिना र श्रमको कथा पनि लेखिनुपर्छ।

हामीले अब एउटा अभियान सुरु गर्नुपर्छ—हरेक टोलको कथा खोजौँ। हरेक पुरानो घरको फोटो खिचौँ। हरेक वृद्धको आवाज रेकर्ड गरौँ। पुराना दस्तावेज सुरक्षित गरौँ। पुराना जात्राका भिडियो खोजौँ। पुराना गीत र बाजाका धुन रेकर्ड गरौँ। स्थानीय शब्द र उखान संकलन गरौँ। ढाका र करुवाको इतिहास लेखौँ। पुराना व्यवसायको कथा खोजौँ। विद्यालयका विद्यार्थीलाई आफ्नै टोलको इतिहास खोज्न लगाऔँ। युवालाई डिजिटल अभिलेख निर्माणमा जोडौँ।

आज एउटा वृद्धले सुनाएको कथा भोलि अमूल्य इतिहास बन्न सक्छ। आज सुरक्षित गरिएको एउटा पुरानो फोटो भोलि सम्पदाको प्रमाण बन्न सक्छ। आज बचाइएको एउटा पुरानो झ्याल भोलि तानसेनको पहिचान बन्न सक्छ। आज सम्मान गरिएको एउटा कालिगढको सीप भोलि संसारका लागि तानसेनको परिचय बन्न सक्छ।

त्यसैले इतिहास जोगाउने समय भोलि होइन, आज हो।

तानसेनको पर्यटनलाई रानीमहल, श्रीनगर वा पुरानो बजारमा मात्र सीमित राख्नु हुँदैन। तानसेन र वरपरका धार्मिक, सांस्कृतिक, प्राकृतिक र ऐतिहासिक गन्तव्यलाई एउटै कथामा जोड्नुपर्छ।

पुरानो तानसेन बजारबाट सुरु भएको यात्रा श्रीनगर पुग्न सक्छ। त्यहाँबाट धार्मिक तथा सांस्कृतिक सम्पदासँग जोडिन सक्छ। त्यसपछि प्रभास, रानीमहल र कालीगण्डकी क्षेत्रसम्म पुग्न सक्छ। बाटोमा स्थानीय खाना, स्थानीय उत्पादन, होमस्टे, हस्तकला र ग्रामीण जीवनसँग पर्यटकलाई जोड्न सकिन्छ।

त्यसपछि तानसेन केवल एक दिन घुम्ने ठाउँ रहँदैन, दुई–तीन दिन बस्ने गन्तव्य बन्न सक्छ। पर्यटक केही दिन बसेपछि मात्र शहरको अर्थतन्त्रले पनि वास्तविक लाभ पाउँछ। होटल चल्छ, होमस्टे चल्छ, रेस्टुरेन्ट चल्छ, ट्याक्सी चल्छ, स्थानीय उत्पादन बिक्छ, ढाका बिक्छ, करुवा बिक्छ, कला बिक्छ, गाइडले रोजगारी पाउँछ र युवाले आफ्नै शहरमा भविष्य खोज्न सक्छ।

त्यसैले पर्यटन केवल पर्यटकको कुरा होइन, यो स्थानीय अर्थतन्त्रको कुरा पनि हो।

तर एउटा कुरा कहिल्यै बिर्सनु हुँदैन—पर्यटक आकर्षित गर्न तानसेनले आफ्नो मौलिकता बेच्नु हुँदैन।

हामीले तानसेनलाई पोखरा बनाउनुपर्दैन। काठमाडौँ बनाउनुपर्दैन। अरू कुनै शहरको नक्कल गर्नुपर्दैन। तानसेनलाई तानसेन नै बनाउनुपर्छ।

किनकि पर्यटकलाई नक्कल चाहिएको छैन, उनीहरूलाई मौलिकता चाहिएको छ। तानसेनको पहाड चाहिएको छ। तानसेनको पुरानो बजार चाहिएको छ। तानसेनको ढुंगे गल्ली चाहिएको छ। तानसेनको काठे झ्याल चाहिएको छ। तानसेनको ढाका चाहिएको छ। तानसेनको करुवा चाहिएको छ। तानसेनको जात्रा चाहिएको छ। तानसेनको चिया पसलको गफ चाहिएको छ। तानसेनको चिसो हावा चाहिएको छ। र सबैभन्दा महत्वपूर्ण—तानसेनको कथा चाहिएको छ।

भोलि कुनै विदेशी पर्यटक श्रीनगरको डाँडामा उभिएर तलको शहर हेर्दै गर्दा उसले केवल सुन्दर पहाड नदेखोस्। उसलाई भनियोस्—‘तपाईंले तल देखिरहनुभएको शहर धेरै पुस्ताको इतिहास बोकेर उभिएको छ।’

कुनै पर्यटक पुरानो बजारको गल्लीमा हिँड्दा उसलाई भनियोस्—‘यी गल्ली केवल बाटो होइनन्, यहाँ पुस्तौँको व्यापार र सामाजिक जीवन हिँडेको छ।’

कुनै पर्यटक ढाका किन्दा उसलाई भनियोस्—‘यो कपडा मात्र होइन, पुस्तौँको सीप हो।’

कुनै पर्यटक करुवा किन्दा उसलाई भनियोस्—‘यसको चमकभित्र एउटा कालिगढको जीवनको श्रम छ।’

कुनै पर्यटक पुरानो घरको झ्याल हेर्दा उसलाई भनियोस्—‘यो काठमा केवल नक्काशी छैन, एउटा पुस्ताको कल्पना र सीप बाँचेको छ।’

त्यसपछि पर्यटकले तानसेनलाई आफ्नो मोबाइलमा मात्र होइन, आफ्नो स्मृतिमा लिएर जानेछ।

त्यसैले तानसेनको भविष्यका लागि हाम्रो लक्ष्य केवल धेरै पर्यटक ल्याउने हुनु हुँदैन। हाम्रो लक्ष्य हुनुपर्छ—यस्ता पर्यटक ल्याउने, जो तानसेनको कथा बुझून्; यस्ता पर्यटक ल्याउने, जो स्थानीय उत्पादन किनून्; यस्ता पर्यटक ल्याउने, जो केही दिन बसून्; यस्ता पर्यटक ल्याउने, जो फर्किएपछि तानसेनको नाम अरूलाई सुनाऊन्।

र यस्तो तानसेन बनाउने, जहाँ पर्यटक आएर भनून्—‘नेपालमा धेरै ठाउँ घुमेँ, तर तानसेनमा मैले एउटा शहर मात्र होइन, एउटा समय भेटेँ।’

यही हाम्रो सपना हुनुपर्छ।

किनकि तानसेन केवल बस्ने ठाउँ होइन। यो सम्झनाको शहर हो। यो पहाडमाथि उभिएको इतिहास हो। यो पुराना झ्यालबाट वर्तमानलाई हेर्ने विगत हो। यो चोकमा बसेर भविष्यको कुरा गर्ने वर्तमान हो। र यो आउने पुस्तालाई हस्तान्तरण गर्नुपर्ने हाम्रो साझा जिम्मेवारी हो।

महादत्त सेनले बसाएको भनिएको श्रीनगरबाट सुरु भएको यात्रा आजको तानसेनसम्म आइपुगेको छ। तर यात्रा सकिएको छैन। श्रीनगरको कथा सकिएको छैन। तानसेनको कथा सकिएको छैन।

कथा आज पनि लेखिँदैछ।

कहिले सडकले लेख्छ, कहिले घरले लेख्छ, कहिले मन्दिरले लेख्छ, कहिले बजारले लेख्छ, कहिले जात्राले लेख्छ, कहिले ढाका बुन्ने हातले लेख्छ, कहिले करुवा बनाउने हथौडाले लेख्छ, कहिले वृद्धको सम्झनाले लेख्छ, कहिले युवाको क्यामेराले लेख्छ र कहिले हामीले लेख्छौँ।

अब प्रश्न ‘तानसेनको इतिहास के थियो?’ मात्र होइन। प्रश्न यो पनि हो—‘हामीले तानसेनको भविष्यका लागि के छाड्दैछौँ?’

भोलिका सन्तानले एक दिन हामीलाई सोध्नेछन्—‘तपाईंहरूले पाएको तानसेन कस्तो थियो?’

र त्यसपछि उनीहरूले अर्को प्रश्न गर्नेछन्—‘तपाईंहरूले हामीलाई कस्तो तानसेन दिएर जानुभयो?’

त्यो दिन हामीले गर्वका साथ भन्न सक्नुपर्छ—हामीले केवल सडक दिएनौँ, कथा दियौँ। हामीले केवल भवन दिएनौँ, पहिचान दियौँ। हामीले केवल बजार दिएनौँ, संस्कृति दियौँ। हामीले केवल पर्यटकीय गन्तव्य बनाएनौँ, अनुभव दिने शहर बनायौँ। हामीले केवल पुराना घरको तस्वीर बचाएनौँ, तिनको स्मृति बचायौँ। हामीले केवल इतिहास पढेनौँ, इतिहास जोगायौँ।

त्यसैले आजदेखि एउटा संकल्प गरौँ—श्रीनगरको स्मृति बचाऔँ। तानसेनको पहिचान बचाऔँ। पुराना घर बचाऔँ। पुराना चोक बचाऔँ। जात्रा, बाजा र परम्परा बचाऔँ। ढाका बुन्ने हात बचाऔँ। करुवा बनाउने सीप बचाऔँ। वृद्ध पुस्ताका कथा बचाऔँ। स्थानीय उत्पादन बचाऔँ। र सबैभन्दा महत्वपूर्ण—तानसेनको आत्मा बचाऔँ।

किनकि तानसेन केवल एउटा शहर होइन। तानसेन हाम्रो स्मृति हो। तानसेन हाम्रो पहिचान हो। तानसेन हाम्रो साझा इतिहास हो। तानसेन हाम्रो गर्व हो। र तानसेन हाम्रो भावी पुस्तालाई दिने जिम्मेवारी पनि हो।

यदि हामीले आफ्नो शहरलाई आफैँ चिन्न सकेनौँ भने अरूले हाम्रो शहरलाई कसरी चिन्लान्? यदि हामीले आफ्नो इतिहासलाई आफैँ बुझेनौँ भने पर्यटकलाई कसरी बुझाउँला? यदि हामीले आफ्नो पहिचान जोगाएनौँ भने संसारले हामीलाई के भनेर चिन्ला?

त्यसैले अब तानसेनलाई केवल हेर्ने शहर होइन, बुझ्ने शहर बनाऔँ। केवल बस्ने शहर होइन, महसुस गर्ने शहर बनाऔँ। केवल घुम्ने ठाउँ होइन, कथा सुनाउने गन्तव्य बनाऔँ। केवल पुराना घर बाँकी रहेको शहर होइन, जीवित सम्पदा भएको शहर बनाऔँ। केवल इतिहासमा गर्व गर्ने शहर होइन, इतिहास संरक्षण गर्ने शहर बनाऔँ।

र जब संसारको कुनै कुनामा कसैले सोध्नेछ—‘तानसेन कहाँ छ?’

हामीले भन्न सकौँ—

नेपालको पहाडमा एउटा यस्तो शहर छ, जहाँ पुराना ढुंगाले कथा सुनाउँछन्, काठका झ्यालले इतिहास देखाउँछन्, मन्दिरका घण्टीले आस्था सुनाउँछन्, बजारले पुस्तौँको व्यापार सम्झाउँछ, कालिगढका हातले संस्कृति बचाउँछन् र श्रीनगर डाँडाले आज पनि पूरै शहरलाई हेरेर उभिएको छ।

त्यो शहर एकपटक पुगेर मात्र बुझिँदैन। त्यहाँ पुग्नुपर्छ, गल्लीमा हिँड्नुपर्छ, मानिससँग कुरा गर्नुपर्छ, कथा सुन्नुपर्छ। त्यसपछि मात्र थाहा हुन्छ—तानसेन एउटा ठाउँ होइन, एउटा अनुभूति रहेछ।

श्रीनगरदेखि तानसेनसम्मको कथा जारी छ। कथा सकिएको छैन।

अबको अध्याय हामीले लेख्ने हो।

हाम्रो शहरको कथा, हाम्रो पुस्ताको जिम्मेवारी।

हाम्रो तानसेन, हाम्रो पहिचान, हाम्रो भविष्य।

लेखक– नवराज बस्याल (बादल)

प्रतिक्रिया

सम्बन्धित समाचार