युवा ज्योतिष दशरथ पाण्डेय
श्रावण ६ पाल्पा । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ।
‘गु’को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ। ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गरी जीवनमा उज्यालो फैल्याउने व्यक्तिलाई नै गुरु भनिन्छ। यस्ता गुरुलाई हिन्दू शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रुपमा समेत मानेको छ। यसैले विभिन्न ग्रन्थमा यसो भनिएको पाइन्छ। गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वर: । गुरु: साक्षात् पर ब्रह्म तस्मै श्री गुरवे नम: ।।
माता पिताजस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भव’ भनिन्छ। गुरु पूर्णिमाका अवसरमा यस दिन विभिन्न विद्यालय एवम् सङ्घ संस्थाले कार्यक्रम गरी शिक्षा, दीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्ने प्रचलन रहेको अरुको उपकार गरे धर्म हुन्छ एवम् अरुलाई पीडा दिए पाप लाग्छ भनी मानवतावादी सन्देश व्यासले दिएका छन्। पाँचौँ वेदसमेत भनिने महाभारत पनि व्यासले नै रचना गरेको मानिन्छ। वेदादिशास्त्रहरूको उपदेश गर्नेलाई गुरु भनिन्छ । निषेकादि संस्कार यथाविधि गर्ने र अन्नादिद्वारा पोषण गर्नेलाई गुरु भनिन्छ । यस परिभाषाअनुसार प्रथम गुरु माता–पिता हुन् भने द्वितीयगुरु पुरोहित, शिक्षक आदि हुन् । मन्त्रदाता गुरुको प्रसिद्धि छ नै ।
परम्परागत रुपमा गुरु पूर्णिमाका दिन शिष्यहरुले गुरुलाई भेट्ने चलन थियो, तर अहिले भने भेट्न भ्याउनेले भेट्छन् नभए टेलिफोन तथा सामाजिक सञ्जालमार्फत शुभकामना दिने गर्छन् ।











