प्रकृतिको भयानक प्रकोपका कारण भेनेजुएला र जापानमा शक्तिशाली भूकम्प गएको छ, जसमध्ये भेनेजुएलामा लगातार आएका दुई महाभूकम्पले व्यापक विनाश निम्त्याएको छ। राजधानी काराकाससहित विभिन्न क्षेत्रमा बहुमंजिला भवनहरू तासका पत्ता जस्तै भत्किएका छन् भने देशका धेरै भागमा बिजुली र फोन नेटवर्क पूर्ण रूपमा ठप्प भएका छन्। अमेरिकी भूगर्भीय सर्वेक्षण (USGS) को प्रारम्भिक अनुमानअनुसार यस महाविपत्तिमा मृत्यु हुनेको संख्या १० हजारभन्दा बढी हुन सक्ने चेतावनी दिइएको छ। अवस्थाको गम्भीरतालाई ध्यानमा राख्दै कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले देशमा आपतकाल घोषणा गरेकी छन्। त्यहाँस्थित अन्तर्राष्ट्रिय विमानस्थल गम्भीर रूपमा क्षतिग्रस्त भएपछि पूर्ण रूपमा बन्द गरिएको छ भने सुरुमा प्युर्टो रिको, भर्जिन आइल्यान्ड्स र तटीय क्षेत्रहरूका लागि जारी गरिएको सुनामी अलर्ट हाल खतरा टरेकाले फिर्ता लिइएको छ।
यसैबीच, एसियाली मुलुक जापानको धर्ती पनि ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्पले काँपेको छ। इवाते प्रान्तको तटलाई केन्द्रविन्दु बनाएर गएको उक्त भूकम्पको कडा झट्का आओमोरी प्रान्तको हाशिकामा टाउन र आसपासका क्षेत्रमा महसुस गरिएको हो। जापानमा सुनामीको चेतावनी जारी नगरिएको भए तापनि प्रधानमन्त्री साने ताकाचीले सम्पूर्ण नागरिकहरूलाई सतर्क र सुरक्षित रहन आग्रह गरेकी छन्।













