पाल्पा । पाल्पाको तानसेन नगरपालिका–१२ गाईघाट नजिक पाल्पा–गुल्मी सडकखण्डमा इँटा बोकेको टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार मिति २०८३ साउन ११ गते राति करिब ९:१५ बजे हार्थोकबाट रिडीतर्फ जाँदै गरेको लु २ ख २४४७ नम्बरको इँटा लोड गरिएको टिप्पर ओरालोमा आफैँ अनियन्त्रित भई सडकमा पल्टिएको थियो।
दुर्घटनामा टिप्परका सहचालक बागलुङको ढोरपाटन नगरपालिका–१ खप्तरीवाङ निवासी अन्दाजी २५ वर्षीय तेजेन्द्र कुमाल र चालक सोही स्थानका अन्दाजी २७ वर्षीय मिनबहादुर कुमाल घाइते भएका थिए।
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी अर्गलीबाट खटिएको प्रहरी टोलीले दुवै घाइतेलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज, प्रभास पठाएको थियो। उपचारकै क्रममा सहचालक तेजेन्द्र कुमालको राति करिब ११:३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका चालक मिनबहादुर कुमालको अवस्था सामान्य रहेको र उनी प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।













