पाल्पा साउन ६,
पाल्पाका ग्रामीण क्षेत्रका महिलाहरु आत्मनिर्भर बन्नका लागि स्रोत र सीपको खोजी गर्न थालेका छन् । विभिन्न तालिममा सहभागी भएर सीप सिकेसँगै आत्मनिर्भर बन्दै गएका हुन् । आफूले सिकेका सीपले आफूसँगै अरूलाई पनि रोजगारी सिर्जना गर्न सकिने यहाँका महिलाको भनाइ छ ।
उद्यमी बन्न चाहने महिलालाई विभिन्न सङ्घसंस्था तथा स्थानीय तहले आवश्यक सीपका लागि तालिम दिनुका साथै उद्योग स्थापना गर्नका लागि आवश्यक सामग्री अनुदानमा उपलब्ध गराएर गाउँगाउँमा महिलालाई प्रोत्साहन गर्दै आएका छन् ।
पाल्पाको बगनासकालि गाउँपालिका २ र ३ का महिला परालको चप्पल बनाउने काममा आकर्षित भएका छन्।
उनीहरूले सात दिनको तालिमबाट चप्पल बनाउने सीप सिकेका हुन्। विशेष गरी महिला,एकल महिला, अतिविपन्न परिवारलाइ लक्षित गरी ३ वर्ष अगाडि तालिम दिएको थियो ।तालिम पश्चात परालको चप्पल बनाउने काममा सक्रिय भएर लागेका छन्।
बगनासकाली गाउँपालिका–२ पोखराथोकका कल्पना वि.क. ले परालको चप्पल बनाएर बिक्री गर्न लागेको ३ वर्ष भयो। अहिले उहाले दैनिक ३।४ जोर चप्पल बनाउनुहुन्छ। उहाले विगतका अनुभव सुनाउदै पहिले बिक्री गर्न निकै समस्या थियो,अहिले माग धेरै छ, माग गरेजति बुनेर पुर्याउन भ्याइनभ्याइ भएको बताउनुभयो। बगनासकालि गाउँपालिका–३ की लक्ष्मी कुवँरले पनि तालिमबाट चप्पल बनाउन सिकेको बताउनुभयो । आजसम्म लिएका तालीम व्यवहारमा ल्याउन नसकेपनी परालको चप्पल बनाउने तालीम तालीममा मात्र सिमित नभइ राम्रो आम्दानीको स्रोत बनाउन सफल भएको बताउनुभयो।
राधिका गहतराजले पनि परालको चप्पल बनाउएर राम्रो कमाइ गरेको बताउनुभयो। परालको काँटछाँट गरी मोटा र मसिना डोरा बुनेर चप्पल बनाउन सिकेपछी दैनिक जिवनयापनमा सहज भएको बताउनुभयो। ’बूढेसकालमा भारी काम गर्न सक्दिन यो चप्पल बनाएर दैनिक दुई–चार सय कमाउन सकिन्छकी भन्ने लागेर सुरु गरेको अहिले कमाइ राम्रो भएको छ’ उहाले भन्नुभयो।
पछिल्लो समयमा परालबाट बनाइएको चप्पलको माग बढ्दै गएपछि आफूहरूले यो पेशामा आर्षित गर्न तालिम दिएको बगनासकाली गाउँपालिकाका प्रमुख सरस्वती चिदिले बताउनुभयो
। कम्तिमा सय रुपैयादेखी एक सय पचास सम्म मूल्य पर्ने परालको चप्पल विशेष गरी क्रियापुत्रीले लगाउछन्। उहाले भन्नुभयोे, ’यसको माग बजारमा मात्र नभई गाउँमा समेत बढ्दै गएको छ।’
तालिमपश्चात् व्यवसायीक रुपमा काम गर्नेलाई आफूहरूले आवश्यक आर्थिक तथा भौतिक सहयोग गर्दै आएको बताउनुभयो।
चप्पल उधोगका अध्यक्ष्य वि.क.ले सुरुका दिनमा आम्दानी नहुदा पनि विचलित नभइ काम गरेको बताउदै पछिल्लो समय महिनामा २० हजार देखी २५ हजारसम्म आम्दानी हुने गरेको बताउनुभयो। उत्पादन गरेको चप्पल जिल्लाको सदरमुकाम तानसेन, राम्दी, बुटवल, लगायतका स्थानमा खपत हुने गरेको बताउनुभयो। गाउँपालिकाले संचालन गरेको तालिमबाट २५ जना महिलाले चप्पल बनाउन सिकेका हुन्।तालिम लिएका मध्ये ६ जना मात्रै व्यवसायिक रुपमै चप्पल बनाएर बिक्रि गर्दै आएका छन।












