५ साउन, पाल्पा
नेपाली काँग्रेसमा आस्था राख्ने पार्टीका सदस्य र सुभेच्छुकहरुको भेला तानसेनमा सम्पन्न भएको छ । संगठन सुदृणीकरण गर्दै पार्टीलाई चलायमान बनाउन भेला आयोजना गरिएको थियो । कृष्णप्रसाद बस्यालको संयोजकत्वमा आयोजित भेलाले पार्टीलाई बलियो बनाउन संगठनलाई सुदृणीकरण गर्ने निर्णय गरेको छ ।
४२ औं वीपी स्मृती दिवसको पूर्वसंध्यामा आयोजित भेलाका सहभागीहरुले जिल्लामा पार्टीको अवस्था कमजोर बन्दै गएको, जिल्ला कार्यसमितिले अधिंकाश कार्यकर्ताको आवाजलाई वेवास्ता गर्ने गरेको बताएका थिए । गएको स्थानीय निर्वाचनमा राम्रोलाई भन्दा हाम्रोलाई उमेदवार बनाइएको र परिणाम संतोषजनक नआएको विषयमा समेत चर्चा गरेका थिए । ‘लोकतन्त्र भनेको निर्वाचन गर्नुमात्रै होईन, निर्वाचनबाट वाहिरिएका कार्यकर्तालाई समेट्न सक्नु पनि लोकतन्त्र हो’ संयोजक बस्यालले भन्नुभयो, ‘सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टी भएपनि जिल्लामा त्यस्तो अवस्था नरहेको भन्दै कार्यकर्ताको गुनासो रहेको छ ।’
भेलामा नेपाली काँग्रेसका पूर्व केन्द्रिय सदस्य राजन प्रसाद पन्त, नेपाली कांग्रेस पाल्पाका पूर्वपार्टी सचिव माधव नेपाल, तानसेन नगरपालिकाका प्रमुख शन्तोषलाल श्रेष्ठ, रैनादेवी छहरा गाउँपालिकाका पूर्व अध्यक्ष राम बहादुर कार्की, नेपाल प्राध्यापक संघ केन्द्रिय समितिका निर्वतमान महासचिव केशवराज शर्मा, हुमनाथ न्यौपाने, अर्जुन रेग्मी, माथागढि गाउँपालिकाका नेता कृष्णप्रसाद भट्टराई, महिला नेतृ सिता ज्ञवाली, गीता भट्राई केशव शर्मा, रिब्दिकोट गाउपालिकाका नेता गोविन्द आचार्य, तानसेन नगरसभापति सुवर्णमुनी शाक्य, रामपुर नगरपालिकाका पूर्व नगरप्रवत्ता हुमनाथ न्यौपाने, प्राध्यापक राधेश्याम ज्ञवाली लगायतले वोल्दै पार्टी नेतृत्वलाई संगठनलाई चलायमान बनाउन, सुदृणीकरण गर्न र मतदाता र कार्यकर्ताको भावना अनुसार संचालन गर्न अनुरोध गर्नुभयो । पाल्पा जिल्लाका विभिन्न स्थानीय तहहरुबाट दुईसय जना नेता तथा कार्यकर्ताहरु सहभागी भएका थिए ।












