
सुमित्रा कंडेल,पाल्पा
पाल्पाको माथागढि गाउँपालिकाले सुन्तला पकेट क्षेत्र निर्माण गर्नका लागि मौलाथर कृषि समुहलाई अनुदानमा सुन्तला र कागतीका बिरुवा वितरण गरेको छ।
गाउँपालिकाले किसानहरूलाई फलफूल खेतीमा व्यवसायिक बनाउन २६ जना व्यावसायिक किसानलाई ७५ प्रतिशत अनुदानमा १ हजार ८ सय ३३ वटा सुन्तलाको बिरुवा र ३ सय ९१ वटा कागती गरी करिब २ हजार ३ बिरुवा वितरण गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले ७५ प्रतिशत र सम्बन्धित किसानले २५ प्रतिशत ब्यहोर्ने गरी बिरुवा खरिद गरेको हो ।
गाउँपालिका अध्यक्ष यम बहादुर चिदिले किसानलाई आर्थिक रूपमा सक्षम बनाउन व्यावसायिक खेती पद्धतिलाई आफूहरूले जोड दिएको बताउनुभयो । गाउँपालिकाका जनतालाई फलफूल खेतीबाट पनि आत्मनिर्भर गराउने र कमसेकम आफ्नो भान्छामा आवश्यक पर्ने कागती आफूनै बारीबाट उत्पादन गर्न सक्ने वातावरण मिलोस् भन्ने लक्ष्यका साथ बिरुवा वितरण गरिएको अध्यक्ष चिदिले बताउनुभयो ।
व्यावसायिक कृषिलाई गाउँपालिकाले आफ्नो प्राथमिकतामा राख्दै सम्भाव्य फलफूल खेती एवं कृषिको स्थान पहिचानका लागि विभिन्न स्थानको माटो परीक्षण गरी बिरुवा वितरण गरिएको कृषि शाखा प्रमुख गौतम थापाले बताउनुभयो । कृषकको चाहना अनुसार वहाँहरूले के–के जातका फलफूल लगाउन चाहनुहुन्छ, वडा कार्यालयमार्फत निवेदन माग गरी बिरुवा वितरण गरिएको थापाले बताउनुभयो ।
पालिकाका अधिकांश स्थानमा विभिन्न किसिमका फलफूलको उत्पादन सम्भावना रहेकाले व्यावसायिक फलफूल खेतीलाई प्राथमिकता दिएको बताउदै फलफूल खेती प्रवद्र्धन तथा विकास कार्यक्रमलाई प्राथमिकतामा राखिएको प्रमुख प्रशासकीय अधिकृत राम प्रशाद घिमिरेले बताउनुभयो।
किसानलाई प्रोत्साहन गरी फलफूलको उत्पादन बढाउन गाउपालिकाले चासो देखाएको हो। यो आर्थिक वर्षमा व्यावसायिक फलफूल खेती प्रवद्र्धन तथा विकास कार्यक्रमका लागि गाउपालिकाले ३ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । मौलाथरका किसान कोष बहादुर बाह्रघरेले पालिकाले आफ्नो मौलाथर क्षेत्रलाई सुन्तला पकेट क्षेत्र निर्माण गर्नका लागि माग गरेअनुसार फलफुलका बिरुवा उपलब्ध गराएकोमा पालिकालाई धन्यवाद दिनुभयो।प्राप्त गरेका बिरुवालाई राम्रो मलजल गरी छिटो नै उत्पादन दिने बनाउन कुनै कसुर बाकि नराख्ने बताउनुभयो।
