गुल्मी, असार २२ गते। गुल्मीमा सफारी जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
सोमबार बिहान करिब २ः३० बजे रेसुङ्गा नगरपालिका–८, गर्जुरास्थित तम्घास–रेसुङ्गा सडकखण्डमा रेसुङ्गा पोखरीबाट तम्घासतर्फ आउँदै गरेको लु १ ज १५२८ नम्बरको सफारी जिप सडक छेउमा रहेको बिरुवाको जालीमा ठोक्किएपछि अनियन्त्रित भई सडकमै पल्टिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
दुर्घटनामा रेसुङ्गा नगरपालिका–२ बाघमारे स्थायी घर भई हाल रेसुङ्गा–८ बसपार्क बस्दै आएका १६ वर्षीय सुदिप नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिनुभयो। विभिन्न भागमा गम्भीर चोट लागेका नेपालीको उपचारका क्रममा मृत्यु भएको हो।
दुर्घटनामा परी अन्य तीन जना घाइते भएका छन्। घाइते हुनेमा प्युठानको नौबहिनी गाउँपालिका–१ घर भई हाल रेसुङ्गा–८ बस्ने १७ वर्षीय अर्जुन बुढाथोकी, बागलुङको भिमगिठ्ठे घर भई हाल रेसुङ्गा–८ बसपार्क बस्ने १८ वर्षीय गणेश परियार तथा रेसुङ्गा नगरपालिका–९ चारीखोला निवासी १८ वर्षीय आयुष गैरे रहेका छन्।
उनीहरूको जिल्ला अस्पताल तम्घासमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि जिपका चालक र सहचालक फरार रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।














