शिक्षा, विज्ञान तथा खेलकुद मन्त्री सस्मित पोखरेलले आफ्नो कार्यकालको पहिलो १०० दिनमा मन्त्रालयबाट सम्पन्न भएका ४२ वटा प्रमुख काम सार्वजनिक गरेका छन्। मन्त्रालयले चैत १३, २०८२ देखि असार १९, २०८३ सम्म भएका प्रगति विवरण सार्वजनिक गर्दै शिक्षा क्षेत्र सुधारका विभिन्न पहलहरू अघि बढाइएको जनाएको हो।
मन्त्रालयका अनुसार माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा एक महिनाभित्र, कक्षा १२ को नतिजा ४० दिनभित्र तथा विश्वविद्यालय तहका परीक्षाको नतिजा ६५ दिनभित्र प्रकाशन गर्ने प्रणाली कार्यान्वयनमा ल्याइएको छ।
यस्तै, बिदाको दिनमा समेत वैदेशिक अध्ययन अनुमति–पत्र तथा शैक्षिक प्रमाणीकरणसम्बन्धी सेवा उपलब्ध गराउन थालिएको मन्त्रालयले जनाएको छ।
प्रगति विवरणमा जेन्जी आन्दोलनबाट प्रभावित परिवार तथा नागरिकका लागि सरकारी, सार्वजनिक र निजी क्षेत्रमा रोजगारीका अवसर सिर्जना, सीप विकास, मनोसामाजिक परामर्श तथा पुनर्स्थापना कार्यक्रम सुरु गरिएको उल्लेख छ।
मन्त्रालयले त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिको प्रतिवेदन–२०८१ कार्यान्वयन प्रक्रिया सुरु गरिएको जनाएको छ। साथै नेपाल संस्कृत विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, राष्ट्रिय खेलकुद परिषद्, नेपाल स्काउट, राष्ट्रिय परीक्षा बोर्ड, शिक्षा तथा मानव स्रोत विकास केन्द्र तथा पाठ्यक्रम विकास केन्द्रसँग सम्बन्धित विभिन्न कार्यदलका प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाइएको जानकारी दिएको छ।
शिक्षा क्षेत्रमा दलीय हस्तक्षेप न्यूनीकरण गर्न सबै विश्वविद्यालयमा विद्यार्थी संगठनका लागि छुट्टै भवन वा जमिन उपलब्ध नगराउने तथा त्यस्ता भौतिक संकेत हटाउने निर्णय कार्यान्वयन गरिएको मन्त्रालयको दाबी छ।
मन्त्रालयबाट स्वीकृत शैक्षिक क्यालेन्डरअनुसार शैक्षिक कार्यक्रम सञ्चालन गर्ने प्रणाली लागू गरिएको तथा स्वच्छ र प्रतिस्पर्धात्मक सिद्धान्तका आधारमा विश्वविद्यालय र स्वायत्त निकायका पदाधिकारी छनोट प्रक्रिया अघि बढाइएको पनि उल्लेख गरिएको छ।
यस्तै, त्रिभुवन विश्वविद्यालयका करिब ४०० जना अध्ययन बिदामा गएर तोकिएको समयमा नफर्किएका प्राध्यापकहरूमाथि कारबाही प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ। सो क्रममा करिब २ अर्ब रुपैयाँ राजस्व फिर्ता हुनुपर्नेमा हालसम्म १३ करोड रुपैयाँ असुल भइसकेको प्रगति विवरणमा उल्लेख गरिएको छ।













