राष्ट्रिय सभाको आज बस्ने बैठकमा बजेटमाथिको मन्त्रालयगत छलफलका क्रममा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने भएका छन्। गृहमन्त्री सुधन गुरुङ, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसहित आठ मन्त्रीले सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिने कार्यसूची रहेको छ।
आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि तथा वन तथा वातावरण मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय तथा परराष्ट्र मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको जवाफ प्रस्तुत गरिनेछ।
राष्ट्रिय सभाको बैठक दिउँसो १२:१५ बजे बस्ने तय भएको छ। बैठकमा रक्षा मन्त्रालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा राष्ट्रिय योजना आयोगको सचिवालयसँग सम्बन्धित प्रश्नहरूको जवाफ पनि प्रस्तुत गरिनेछ।
यसैगरी, राष्ट्रिय सभाका अध्यक्षले विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न शीर्षकमा दर्ता भएका खर्च कटौतीका प्रस्तावहरू निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८३ पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन्। साथै, प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयकलाई पनि राष्ट्रिय सभामा अगाडि बढाउने कार्यसूची रहेको छ।














