विष्णुप्रसाद घिमिरे
पाल्पाको बगनासकाली गाउँपालिकामा संचालन भएको समृद्धीका लागि वन कार्यक्रमबाट २ सय १५ रोपनी जग्गामा बृक्षारोपण गरिएको छ । यहाँका बाँझिएको खरवारी, खेतवारी, भिरपाखा र झाँडी फाँडेर बृक्षारोपण गरिएको हो ।
बगनासकाली गाउँपालिकाको वडा नं. १, २, ४, ५, ७, ८ र ९ का ५७ घरधुरीले विभिन्न प्रजातीको बृक्षारोपण गरेका छन् । यहाँ खयर, कागती, दालचिनी, टाँकी, वँडहर, श्रीखण्ड, अगरहुड लगायतका विरुवाहरु रोपण गरिएको गाउँपालिकाका वन प्राविधिक सागर बस्यालले जानकारी दिनुभयो । बस्यालका अनुसार २ कलस्टरमा कार्यक्रम संचालन गरिएको थियो । जसमा ५७ घरधुरीले नीजि जग्गामा र एउटा विद्यालयले सामुदायिक जग्गामा गरी ५८ जनाले १५ प्रजातीको १७ हजार ३ सय ९५ विरुवा रोपण गरेका छन् । विश्व वैंकको सहयोगमा संचालित समृद्धीका लागि वन परियोजनाबाट ५० प्रतिशत अनुदान सहयोगमा विरुवा रोपण गरिएको हो । यी प्रजातीका विरुवा रोपण कार्यक्रम बहुवर्षे कार्यक्रम हुन् । कृषकहरुले ३ वर्ष सम्मको अवधीमा गरिएको लगानीमा ५० प्रतिशत अनुदान पाउने व्यवस्था छ । खयर लगायतका विरुवामा कृषकहरुको रुची भएकोले उनीहरुले नीजि लगानीमा समेत थप विरुवाहरु रोपण गरेका छन् । गाउँपालिकाको सहयोग वाहेक पनि ५ हजार वढी खयरका विरुवा रोपण गरेको प्राविधिक बस्यालले जानकारी दिनुभयो ।
यहाँका बाँझिएको खरवारीहरु, खोला छेउछाउका खेतवारी, भिरपाखा र झाँडी क्षेत्रहरुमा फँडानी गरेर खयर लगायतका विरुवाहरु रोपण गरिएका छन् । चालु आर्थिक वर्षमा ६ लाख रुपैया वरावरको अनुदान कार्यक्रम संचालन गरिएको थियो । दिगो वन व्यवस्थापनमा सुधार गर्दै वनबाट फाईदा बृद्धी गर्न कार्यक्रम संचालन गरिएको बगनासकाली गाउँपालिकाका प्रमुख प्रसाशकिय अधिकृत बद्रिनाथ लम्सालले बताउनुभयो, लम्सालका अनुसार हरित गृह ग्यास उत्र्सजनमा न्यूनीकरण योगदान दिदै, बनमा आधारित साना तथा मझौला उद्यमहरुको विकास तथा सुधार गर्ने उदेश्यले संचालन भएको परियोजनाले बगनासकालीमा उत्साह थपेको बताउनुभयो । बाँझिएका र झाँडीयुक्त जमिनहरु सफाई गरेर बृक्षारोपण गरिनुले उत्साह थपेको छ ।
वगनासकाली खयर लागि उपयुक्त भूगोल मानिन्छ । खासगरी १५ सय देखी १८ सय मिटर उचाई सम्म राम्रो प्रतिफल लिन सकिन्छ । बगनासकालीमा रुखो माटो, बलौटे माटो, पारीलो क्षेत्र वढी भएकोले खयरको लागि उपयुक्र्त मानिन्छ । खयरबाट १० देखी १२ वर्षको अवधीमा विक्री गरी प्रतिफल लिन सकिन्छ । समृद्धीका लागि वन कार्यक्रम पाल्पाका बगनासकाली, तिनाउ र रैनादेवी छहरा गाउँपालिकामा संचालनमा छन् ।