विष्णुप्रसाद घिमिरे
पाल्पाको बगनासकाली गाउँपालिकाले एक वर्षमै १४ लाख वढी रकम अवलोकन भ्रमणका नाममा खर्च गरेको छ । गएको आर्थिक वर्ष २०७९।८० मा यस गाउँपालिकाले विभिन्न शिर्षकहरुबाट ४ पटक अवलोकन भ्रमण गर्दा १४ लाख वढी रकम खर्च गरेको हो । गाउँपालिकाका जनप्रतिनिधिहरु, कर्मचारीहरु, कृषि समूह र एकल महिलाहरु विभिन्न पटक गरी चार पटक मुस्ताङ्ग, पोखरा, पर्वत लगायतका स्थानहरुमा अवलोकन भ्रमण गरेका थिए ।
बगनासकाली गाउँपालिकाका पदाधिकारीहरु मुस्ताङ्ग भ्रमणमा गएका थिए । भ्रमणमा जादा ४ लाख २३ हजार ४ सय ३५ रुपैया खर्च भई २०८० वैषाख २५ मा भुक्तानी भएको थियो । त्यस्तै गाउँपालिकाका ३५ जना कर्मचारीहरु पर्वत, पोखरा र मुस्ताङ्ग भ्रमणमा जादा ४ लाख ३० हजार ७ सय ४४ रुपैया खर्च भएको उल्लेख छ । त्यस्तै विभिन्न कृषि समूहहरुलाई पोखरा भ्रमणमा लैजादा १ लाख ५० हजार र एकल महिलाहरुलाई अवलोकन भ्रमण गराउँदा ३ लाख ५४ हजार ९ सय रुपैया खर्च भएको छ । यसरी एक वर्षमै झण्डै १४ लाख रुपैया अवलोकन भ्रमणमा मात्रै खर्च भएको छ । यी भ्रमणहरुलाई महालेखा परिक्षणको प्रतिवेदनले पनि धार्मिक र मनोरञ्जनात्मक भ्रमण भनेको छ । गाउँपालिकाको नियमित कार्यसम्पादन र सेवा प्रवाहलाई फाईदा नपुग्ने यस्तो खालको भ्रमण खर्चलाई नियन्त्रण गर्न महालेखाले सुझाव दिएको छ ।
अझ महत्वपूर्ण कुरा त के भने महिलाहरुको सशक्तिकरण र सीप विकासको लागि भनेर महिला वालवालिका तथा ज्येष्ठ नागरिक कार्यक्रमबाट खर्च गर्नुपर्ने रकमबाट अवलोकन भ्रमण गरेकोले उपयुक्त नदेखिएको भनिएको छ । महिला वालवालिका तथा ज्येष्ठ नागरिक तर्फको वजेटबाट १३ प्रतिशत मात्रै सम्बन्धित ठाउँमा खर्च भएको छ, वाँकी ८७ प्रतिशत रकम अवलोकन भ्रमण, दर खाने कार्यक्रम र तीज गीत प्रतियोगिता जस्ता कार्यक्रममा खर्च भएको छ । महिलाहरुको सीप विकास र सशक्तिकरणका लागि भनी विनियोजन भएको वजेटबाट भ्रमण, दर खाने कार्यक्रमहरु भएका हुन् ।
त्यस्तै गएको वर्ष गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, कार्यालय प्रमुख लगायतले पालिकाको आफ्नै सवारीसाधानको प्रयोग नगरी अन्य भाडाका गाडी प्रयोग गरी २ लाख खर्च गरेका छन् । त्यसैगरी गाउँपालिकाका विभिन्न वडाहरुमा सहजिकरणको लागि भन्दै कार्यालयले दिएको सवारीसाधनको प्रयोग नगरी भाडाका सवारीहरु प्रयोग गर्नेहरु पनि छन् । जवकी बगनासकाली गाउँपालिका संग आफ्नै चारपाङ्ग्रे सवारीसाधन २ वटा थिए ।
नागरिकलाई श्रमको मूल्य समेत दिन नसक्ने बगनासकालीले अवलोकन भ्रमणका नाममा लाखौं रुपैया खर्च गरेको छ । यतीका मोटो रकम भ्रमणहरुमा खर्च हुँदा नागरिकले साना साना विकासे आयोजनामा समेत वजेट नपुगेको बताएका छन् । बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती चिदीले कर्मचारीहरुको कार्यसम्पादन वढाउन र एकल महिलाहरुलाई घरवाहिर निस्केर समाजमा घुलमिल हुन सक्ने वनाउनको लागि भ्रमण आयोजना गरिएको दावी गर्नुभयो । उपाध्यक्ष हरि प्रसाद पाठकले गएको वर्ष भ्रमणमा खर्च धेरै भएको स्वीकार्दै आगामी दिनमा खर्च कटौती गरिने बताउनुभयो ।