पाल्पा जेठ २५, विष्णु प्रसाद घिमिरे
बगनासकाली गाउँपालिकाले हेरालु शिक्षिकालाई अति न्यून ज्यालामा काम गराएर श्रम शोषण गरेको छ । बगनासकाली ६ यम्घा दरपुकको श्री भगवती आधारभूत विद्यालयमा कार्यरत रुपा वोटेलाई ५ वर्ष देखी मासिक ५ हजार रुपैयामा श्रम गराएको छ ।
नेपालको श्रमऐन तथा न्यूनतम पारिश्रमिक र गाउँपालिकाको आफ्नै दररेटको समेत ख्याल नगरी अति न्यून पारिश्रमिकमा लामो समयदेखी काम गराएको छ । आर्थिक वर्ष २०७४।७५ बाट सुरु भएको वालमैत्री स्थानीय साशन गाउँपालिका बनाउने अभियानमा वडा नं. ६ का वोटे वालवालिकालाई विद्यालय पुरयाउनु पर्ने थियो । यहाँका वोटे समुदायका वालवालिका विद्यालय नजाने र गएका विचमै छोड्ने गर्दथे । गाउँपालिकाले वालवालिका विद्यालय वाहिर रहँदा वालमैत्री स्थानीय शासन घोषणा गर्न सकेको थिएन् ।
वोटे समुदायकै रुपा वोटेलाई घरघरबाट वालवालिकालाई फकाएर विद्यालय ल्याउने र वेलुका घरघर पुरयाउने कामको लागि नियुक्त गरेको थियो । रुपाले सोहि अनुरुप विद्यालय वाहिर भएका वालवालिका र अभिभावकलाई सम्झाई बुझाई विद्यालय ल्याउने वातावरण गर्नुभयो । रुपाका अनुसार विहान ८ वजे देखी नै विद्यालयबाट टाढाँ रहेका वोटे समुदायको घरघर जाने विद्यार्थीहरु वटुलेर विद्यालय ल्याउने गर्नुहुन्छ । त्यतीमात्रै होईन १० वजेदेखी ४ वजेसम्म दैनिक ६ पिरेड कक्षा समेत पढाउनुपर्छ । वेलुका विद्यालय सकिएपछी फेरी तिनै विद्यार्थीलाई अधिंकाश समय छोड्न समेत जानुपर्ने रुपाको भनाई छ । विद्यालयमा १०—४ पढाउनुको अवाला वालवालिका लिन र छोड्न जाने समेत काम गरेकी रुपालाई अति न्यून ज्यालामा काम गराइएको छ ।
तत्कालिन समयमा वोटे समुदायबाट एस एल सी उर्तिण गर्ने रुपा एक्लो हुनुहुन्थ्यो । अहिले स्नातक तह चौथो वर्षमा अध्ययनरत रुपाको यो कामको शिलशिला ५ वर्ष चल्यो । तर अहिले पनि रुपाले विद्यालयमा काम गर्दा लगाउने विद्यालय पोषाक समेत सोहि ५ हजारबाट नै किन्नुपर्छ । गाउँपालिकाले चाडपर्व वापत वर्षको ५ हजार वाहेक अन्य अतिरिक्त सुविधा दिएको छैन् । विद्यालयका प्रधानाध्यापक वेद प्रसाद न्यौपानेका अनुसार रुपाको पारिश्रमिक वढाउने विषयमा गाउँपालिकामा अनौपचारिक छलफल हुने गरेका थिए । गाउँपालिकाबाट प्राप्त भएको वजेटबाट विद्यालयले पारिश्रमिक दिने गरेको छ ।
सरकारले गत साउन १ गतेदेखि लागू हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक १५,००० पु¥यायो। त्यसअघि श्रमिकको न्यूनतम पारिश्रमिक १३ हजार ४५० रुपैयाँ थियो । अब श्रमिकले मासिक आधारभूत पारिश्रमिक ९,३८५ र महँगी भत्ता ५,६१५ पाउने छन्। दैनिक ज्यालादारी गर्नेको पारिश्रमिक ५७७ र घण्टाको हिसाबमा काम गर्दा ७७ रुपैयाँ पाउने व्यवस्था गरिएको छ ।
बगनासकाली गाउँपालिका आफैले समेत अहिलेको अवस्थामा अदक्ष कामदारको प्रतिदिन ७ सय १५ रुपैया र दक्ष कामदारको लागि ९ सय ४५ रुपैया तोकेको छ । यसरी अदक्ष कामदारले समेत मासिक कम्तीमा १८ हजार पाउछन् । गाउँपालिकाको वजेटबाट कसैले कुनै काम गर्दा उल्लेखित ज्याला भन्दा थोरै दिए गाउँपालिकाबाट उक्त योजना तथा कार्यक्रम नै फरफारक हुदैन र भुक्तानी रोकिन्छ । तर गाउँपालिकाले आफ्नै श्रोतबाट काम गर्ने कर्मचारीलाई भने विभेद गर्दै आएको छ ।
पत्रकार यज्ञमूर्ती तिमिल्सेनाले वोटे समुदायको विषयमा तयार पारेको कार्यपत्रमा वोटे समुदायका वालवालिका विद्यालय ल्याउन महत्वपूर्ण भूमिका खेलेको कार्यपत्र वोटे समुदायमा पेश गर्नुभएको थियो । गाउँपालिकाका उपाध्यक्ष हरी प्रसाद पाठकले समेत रुपाको योगदानले विद्यालय नजाने वालिवालिका विद्यालय जान थालेको बताउनुहुन्छ । तर उनै रुपा श्रम शोषणमा पर्दा भने उनको पक्षमा वकालत गर्नेहरु छैनन् । बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती चिदीले पालिकाबाट एकमुष्ट रकम दिईने गरेको बताउदै विद्यालयले दिने सुविधा वारेमा जानकार नभएको बताउनुभयो । सिमान्तकृत वर्गमा रहेका वोटे समुदायको आर्थिक र सामाजिक विकासमा महत्वपूर्ण भूमिका खेली अभिभावक बन्नुपर्ने स्थानीय सरकार नै श्रमको उचित मूल्य समेत दिदैन भने नागरिकले अभिभावकको अपनत्व कसरी लिन सक्लान ।













