चैत २८,पाल्पा
तानसेन स्थित शितलपाटीमा रहेको दक्षिण एशियाको ठूलो मूल ढोकाको मर्मत भईरहेको छ । तानसेन दरबार परिसरमा रहेको दक्षिण एशियाकै ठूलो मूल ढोका लाई नेपालकै ठूलो ढोका मानिन्छ । लामो समयसम्म मर्मतसम्भार हुन नसक्दा जीर्ण अवस्थामा रहेको मूल ढोकालाई पुरानै स्वरुपमा मर्मत गर्ने कार्य सुरू गरिएको हो । आगामी २०८१ असार मसान्त भित्र काम सक्ने गरी मूल ढोकाको मर्मत सुधार सुरु भएको तानसेनका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले जानकारी दिनुभयो । ।
दरबार क्षेत्र बाहिरको पर्खाल निर्माण लगायतका कार्य पुरातत्व विभागको प्रत्यक्ष निगरानीमा रहेर काम सम्पन्न हुने क्रममा रहेको श्रेष्ठले बताउनु भयो ।
यो ढोकाको निर्माण आन्तरिक तथा बाह्य सुरक्षालाई ध्यान दिँदै मूल ढोका तथा दरबार परिसरका संरचना बनाइएको छ । पाल्पा दरबार परिसरको ऐतिहासिक संरचना बिग्रन नदिने गरी हाल मुल ढोका क्षेत्रमा पुरातत्व विभागको लगानीमा पर्खाल लगाउने कार्य भएरहेको छ । तानसेन स्थित मूल ढोकाको उचाइ पाँच मिटर बढी र चौडाइ तीन मिटर रहेको छ । वि.स. १९११ सालमा दरबारको सुरक्षाका लागि पाल्पा दरबार परिसर वरिपरि डेढ मिटर चौडा कडा ढुङगाको पर्खाल र भित्र हातहतियार सहित सेनाको टोली प्रवेश गर्न मिल्ने ढोका तत्कालित प्रधानमन्त्री जङ्गबहादुर राणाका भाई बद्रीनरसिंह कुवँरले दरबार परिसरको सुरक्षाका लागि मूल ढोका बनाउन लगाएका हुन् ।













