
खेमराज पाण्डे
असोज, ६ पाल्पा - लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले ग्रामिण जिल्लाका अस्पतालमा डाक्टर पठाउन निकै चुनौती रहेको बताउनुभएको छ ।
पाल्पा अस्पतालले तानसेनमा राजनैतिक दलका प्रतिनिधी तथा पत्रकारहरु संग गरेको छलफल कार्यक्रममा मन्त्री खनालले यस्तो बताउनुभएको हो । मन्त्री खनालले ग्रामिण जिल्लाका अस्पतालहरुमा डाक्टरहरुको रोजाईको केन्द्र बन्न नसकेको भन्दै डाक्टरहरु ग्रामिण क्षेत्रमा आउन नखोज्ने गरेको बताउनुभयो । मन्त्री खनालले संविधानमा व्यवस्था भएको निशुल्क शिक्षा र स्वास्थ्य पुरा गर्न साधन र स्रोतको कारणले समस्या भएको बताउनुभयो ।
पाल्पा अस्पतालमा बजेट अभाव नभएको भन्दै मन्त्री खनालले जमिनको समस्या समाधान गर्नुपर्ने बताउनुभयो । भौतिक पुर्वाधारको कमी भएमा अन्य विकास गर्न नसकिने भन्दै मन्त्री खनालले उक्त समस्याको समाधान गर्न आफु लागिपर्ने बताउनुभयो । मन्त्री खनालले ग्रामिण क्षेत्रका अस्पतालमा डाक्टरहरुको सहज पहुँच पुर्याउन मन्त्रालयले यसबर्ष थप बजेट विनियोजन गरेको र केही सहज हुने विश्वास लिएको बताउनुभयो । कार्यक्रममा अस्पतालका अध्यक्ष गुरास आत्रेयले सबैको सहमती हुँदा पनि अस्पताल र मोहनकन्या माविको जग्गा साटफेरको विषय निष्कर्षमा पुर्याउन नसकिएको बताउनुभयो ।
कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रमुख, प्रतिनिधी र पत्रकारहरुले अस्पतालको समस्या र समाधानका विषयमा आआफ्ना विचार प्रस्तुत गरेका थिए ।