पाल्पा ५, असोज
जिल्ला फुटबल संघले आयोजना गरेको कर्णेल उजीर सिंह पाल्पा गोल्ड कप फुटबल प्रतियोगिता २०८० को आय व्यय सार्वजनिक तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला फुटबल संघका अध्यक्ष प्रणय वीर जङ्ग राणाले आय व्यव प्रस्तुत गर्दे गत जेठ १५ देखि २७ गते सम्म सञ्चालन भएको प्रतियोगितामा तानसेन नगरपालिका,प्रदेश सरकार,पाल्पा उद्योग वाणिज्य संघ, चन्दादाता र टिकट बिक्रीबाट गरी कुल ३२ लाख ३० हजार १ सय ४४ रूपैयाँ आम्दानी भएकोमा खेल संचालनमा कुल खर्च ३३ लाख ३२ हजार ३ सय ९७ रूपैयाँ खर्च भएको जानकारी दिनु भयो।
खेल संचालनमा संघलाई १ लाख २ हजार २ सय ५३ रूपैयाँ घाटा भएको पत्रकार सम्मेलनमा राणाले जानकारी दिनुभयो ।
कर्णेल उजीर सिंह पाल्पा गोल्ड कप फुटबल प्रतियोगिता आयोजना गरि खेल पर्यटनको माध्यमबाट आर्थिक गतिविधिलाई चलाएमान बनाउन सहयोग गरेको कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी बन्दु प्रसाद बास्तोलाले बताउनुभयो । संघलाई यसपटक प्रतियोगीमा आर्थिक घाटाभएता पनि जिल्लालाई फाइदा भएको वताउदै आगामी दिनमा जिल्लाका १० वटै स्थानीय तहसँग सहकार्य गरि थप आर्थिक पक्ष वलियो वनाउन र स्तरीय खेल आयोजना गर्न सकिने वताउनु भयो ।
कार्यक्रममा तानसेन नगरपालिकाका प्रवक्ता यादब सिङ कार्की, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराई, नेपाल प्रेस युनियन पाल्पाका उपाध्यक्ष रामचन्द्र रायमाझी,क्लबका सल्लाहकार सुवर्ण मुनि शाक्यले सुझाव सहितको मन्तव्य राख्नु भएको थियो ।
३३ बर्षको अन्तरालमा प्रतियोगिता राखिएको हुनाले पनि यसपटकको प्रतियोगीतामा केही कमीकम्जोरी हुन गएको महसुस आयोजकले गरेको छ । संघले आगामी दिनमा अझ योजनावद्ध तरीकाले स्तरीय खेलकुद प्रतियोगीता आयोजना गर्ने बताएको छ ।
प्रतियोगिता सम्पन्न गर्न सहयोग गर्नुहुने विभिन्न व्यक्ति एवम संस्थालाई सम्मान पत्र प्रदान गरिएको थियो । कार्यक्रम पाल्पा जिल्ला फुटबल संघका बरिष्ट उपाध्यक्ष मनोज मान लिगलको स्वागत र करण चित्रकारको सञ्चालनमा सम्पन्न भएको थियो ।















