
बासुदेव ढकाल
आश्विन ५
रामपुर -पाल्पा ,
पाल्पा रामपुर नगरपालिका अन्र्तगतका गाँडाकोट स्वास्थ्य चौकी र गेझा स्वास्थ्य चौकीलाई नगरपालिकाले एम्बुलेन्स हस्तान्त्ररण गरेको छ । रामपुर नगरपालिकाको पूर्बमा रहेको वडा नं.१ को दुर्गम डाँडाभेगको गाडाकोट स्वास्थ्य चौकी र पश्चिममा वडा नंं.१०को गेझा स्वास्थ्य चौकीले एम्बुलेन्स पाए संगै सेवा संचालनमा ल्याएको हो । एम्बुलेन्स संचालन संगै बिकट र दुर्गम भेगका जनताले आपतकालिन अवस्थामा छिटो छरितो स्वास्थ्य उपचारको लागि पहुच पुग्ने भएको छ । रामपुर नगरपालिकाले खरिद गरि मातहतमा रहेको एम्बुलेन्स स्वास्थ्य चौकीहरुलाई प्रदान गरेको हो । रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापा र उपप्रमुख बालकुमारी थापाले एम्बुलेन्सको चावी प्रदान गरी एम्बुलेन्स हस्तानत्रण गरेको हो । गाँडाकोट स्वास्थ्य चौकीको लागि रामपुर १ का वडा अध्यक्ष कपिल बहादुर खाँण, गाँडाकोट स्वास्थ्य चौकीका प्रमुख मजिवुर रहमान शेख र गेझा स्वास्थ्य चौकीको लागि रामपुर १० का वडा अध्यक्ष तोयानाथ सारु थापा, गेझा स्वास्थ्य चौकीका प्रमुख विक्रम भण्डारीलाई एकैसाथ एम्बुलेन्सको चावी प्रदान गरिएको थियो ।
एम्बुलेन्स हस्तान्तरण गर्दै नगर प्रमुख थापाले नगरबासीको स्वास्थ्य प्रति नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो । स्वास्थ्य समस्या भएको वेला उपचारका लागि अस्पताल सम्म पुग्न सहज होस भन्ने उद्देश्यले एम्बुलेन्स सेवा प्रदान गर्नका लागि एम्बुलेन्स हस्तान्तरण गरेको उल्लेख गर्नुभयो । साथै नगरका हरेक नागरिकलाई सहज र सर्वसुलभ रुपमा अस्पतालसम्म पुग्ने वातावरण बनाउन नगरपालिका प्रतिबद्ध भएर लागेको बताउनुभयो । साथै आगामी दिनमा आवश्यक वडा र स्वास्थ्य संस्थाहरुलाई पनि एम्बुलेन्स वितरण गरिने जानकारी दिनुभयो । नगर प्रमुख थापाले एम्बुलेन्स प्रदान गर्दै सही रुपमा व्यवस्थापन गरी सेवा प्रदान गर्न आग्रह गर्नुभयो । रामपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख गिरिराज घिमिरेले दुर्गम र विकट भेगका नगरवासीलाई सहज र सर्बसुलभ उपचारमा पहुच पुर्याउन यी दुइ स्वास्थ्य सस्था छनोट गरि हस्तान्तरण गरेको बताउनु भएकोछ ।