
काठमाडौँ । संविधानसभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष स्वर्गीय सुवासचन्द्र नेम्वाङको बिहीबार पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो ।
नेम्वाङको पार्थिव शरीरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेताहरुले पशुपति आर्यघाटमा राष्ट्रिय झण्डा ओढाएर नेम्वाङप्रति अन्तिमश्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । यसैगरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा ओढाएर सम्मान व्यक्त गर्नुभएको हो। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कांग्रेस सभापति शेरबहादुर देउवासहित विशिष्ट व्यक्तिहरुले नेम्वाङलाई श्रद्धाञ्जलि व्यक्त गरे ।
नेम्वाङलाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो । त्यसअघि निजी निवास बालुवाटारबाट टिचिङ अस्पताल, नारायणगोपाल चोक, धुम्वाराही, चाबहिल हुँदै पशुपतिसम्म शव यात्रा गरिएको थियो । शोक मनाउन आज सार्वजनिक बिदा पनि दिइएको छ ।