

पाल्पामा निर्माणाधीन चिस्यान केन्द्र १२ वर्ष देखी अलपत्र,सवारी पार्किङ र कुकुर लगायतका पशु चौपाया बस्ने थलो ।
पाल्पा–जिल्लाको तानसेन नगरपालिका –७ को निर्माणाधीन चिस्यान केन्द्र १२ वर्ष देखी अलपत्र अवस्थामा छ ।भारतीय राजदूतावासको चार करोड ९९ लाख ९१ हजार नौ सय पाँच रुपैयाँको लागतमा चिस्यान केन्द्र निर्माण गरिएको हो । चिस्यान केन्द्र सञ्चालनमा आउन नसक्दा जिल्लामा फलफूल, तरकारी उत्पादन गर्दै आएका किसान मर्कामा परेका छन् । तानसेन वाघखोरमा निर्माणाधीन चिस्यान केन्द्रको काम पुरा त भएको छैन नै संरक्षणको अभावमा भत्किँदै गएको तानसेन ७ प्रभासका मुक्ति भुषालले बताउनुभयो । उहाँले वरपर तार जाली नहुँदा बनेको संरचनाको अवस्था बिजोग भएको बताउनुभयो ।
चिस्यान केन्द्र बनेपछि बजारमा खपत हुनेभन्दा बढी उत्पादन भएका तरकारी, फलफूल, अदुवा, दूधलगायत कृषि उत्पादन भण्डारण गर्न पाउने आस लिएका तानसेन बासीहरुको आस निराशामा परिणत भएको छ । चिस्यान केन्द्रको व्यवस्थापनका लागि सामान्य घेराबार समेत नहुँदा अहिले सवारी पार्किङ र कुकुर लगायतका पशु चौपाया बस्ने थलो बनेको छ ।
स्थानीय कृषक हरि पाण्डेले ७ रोपनी जग्गामा तरकारी खेती गर्दै आउनुभएको छ , उहाँले आफ्नो बारीमा सिजन अनुसारका तरकारी लगाउनुहुन्छ तर कहिलेकाहीँ तरकारी समयमा बेच्न नपाउँदा खेतबारीमै कुहिने बताउनुभयो ।
चिस्यान केन्द्र दुई वर्षमा सक्ने गरी निर्माण सुरु गरिएपनी १२ वर्ष सम्म २७ प्रतिशत मात्र काम भएको तानसेन नगरपालिकाका सूचना अधिकारी भरत प्रसाद आचार्य बताउनुभयो । तेत्तीस फिट अग्लो, २६ मिटर लम्बाइ र १४ मिटर चौडाइको चिस्यान केन्द्र, दुई हजार टन कृषि उपज राख्न सकिने क्षमताको छ ।
भारतीय राजदूतावासको सहयोगमा २०६९ फागुन २३ गते सम्झौता गरेको निर्माण कम्पनीले २०७१ जेठ २३ गते काम सक्ने लक्ष्य लिएको थियो तर काम २७ प्रतिशत मात्र भएको छ आचार्यले बताउनुभयो । उहाँका अनुसार निर्माण कम्पनी हिमडुंग एन्ड थोकर र जय रक्त काली जेबीले तानसेन नगरपालिकाबाट रु दुई करोड बढी रकम भुक्तानी लगेका छन् । आर्थिक सहयोग गरेको भारतीय राजदूतावासले चिस्यान केन्द्रको अवलोकन गरेको छ ।
समयमा काम सम्पन्न नभएपछि तानसेन नगरपालिकाले पूर्व निधारित क्षतिपूर्ति रु ४८ लाख रकम तिर्न निर्माण कम्पनीलाई पत्राचार गरेको तानसेन नगरपालिका उपप्रमुख प्रतीक्षा सिंजालीले बताउनुभयो । पूर्वनिर्धारित योजना र सम्झौताअनुसार काम नगरेको भन्दै पटक पटक परिपत्र गर्दै आएको नगरपालिकाले अन्य कम्पनी छनोट गरेर भए पनि योजना सम्पन्न गर्ने लक्ष्य लिएको नगरप्रमुख सन्तोषलाल श्रेष्ठले बताउनुभयो ।
पाल्पामा तत्काल बजारमा खपत हुनेभन्दा बढी उत्पादन भएका तरकारी, फलफूल, अदुवा, दूधलगायत कृषि उत्पादन भण्डारण गर्न किसानको मागअनुसार केन्द्र निर्माण सुरु गरिएको थियो । तानसेनमा सो केन्द्र निर्माण पछि उत्साही यहाँका कृषक निर्माण कार्यमा भएको ढिलाइले पुनः निरुत्साहित बनेका हुन् ।