जनक राज भट्टराई
पाल्पा - हिन्दु परम्परा अनुसार आज पूजाअर्चना गरी घरको मूलढोकामा नागको तस्बिर टाँसेर नागपण्चमी पर्व मनाइँँदै छ । हरेक वर्ष साउन शुक्ल पञ्चमीको दिन मनाइने यो पर्व लाई नेपाली हिन्दुहरूको पर्व को सुरूवाती पर्व पनि भनिन्छ ।
नागलाई गाईको दूध, अक्षता, दुबो, खीर र रोटीलगायतका परिकार प्रसाद चढाएर पूजा गरि घरको मूल ढोकामा टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भने धार्मिक विश्वास रहेको छ । नाग पूजाको प्रचलन वैदिक कालदेखि नै शुरु भएको हो । वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो ।
बराहपुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल पञ्चमीमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिनमा नागपूजाका लागि प्रसिद्ध मानिन्छ । नागका बाह्र नाम भए पनि आठ कूलका आठवटा नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा छ ।अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ नागलाई आजको दिन ब्राह्मण पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ । आजको दिन घरमा नाग टाँसेपछि खेतबारीमा खनजोत गर्न हुँदैन भने चलन सङ्गै आजैदेखि वर्षा को अन्त्य भइ हिउदे समय सुरू हुने चलन पनि समुदाय मा रहेको छ ।













