पाल्पा, जेठ १
लामो समय पछि पाल्पा तानसेनको टुँडिखेल मैदानमा फुटवल खेल हेर्न पाइने भएको छ । पाल्पा फुटवल संघले कर्णेल उजीरसिंह पाल्पा गोल्ड कप फुटबल प्रतियोगिता आयोजना गरेको छ ।
यही जेष्ठ १२ देखि २७ गतेसम्म राष्ट्रियस्तरको कर्णेल उजीरसिंह पाल्पा गोल्ड कप फुटबल प्रतियोगिता हुन लागेको सोमवार पाल्पा फुटवल संघले पत्रकार सम्मेलन गरि जानकारी गराएको हो । लामो समयको अन्तराल तथा तानसेनको टुडिखेल स्तरउन्नती भएपछि पहिलो पटक राष्ट्रिय स्तरको ठूलो प्रतियोगीता आयोजना हुन् लागेको हो ।
प्रतियोगितामा लक्षीत १६ टिमको सहभागीता रहने आयोजकले जनाएको छ । जसमा पाल्पा, रुपन्देही, नवलपरासी, कपिलवस्तु, बाके, स्याङ्गजा, कास्की, चितवन र काठमाडौंवाट रहने छन् । प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ३ लाख, ट्रफी मेडल र प्रमाणपत्र, द्वितीय हुने टिमलाई नगद १ लाख ५० हजार, ट्रफी मेडल र प्रमाणपत्र, प्रत्येक दिनको म्यान अफ दि म्याचलाई नगद ३ हजार र उत्कृष्ट गोल रक्षक, डिफेण्डर, सर्वश्रेष्ठ खेलाडी, सर्वाधिक गोलकर्तालाई नगद ६ हजार प्रदान गरिने पाल्पा फुटवल संघका अध्यक्ष प्रणय बिरजंग राणाले जानकारी गराउनु भएको हो ।
गोल्डकप संचालनकोलागी ५१ सदसीय मूल आयोजक समिति र विभिन्न ८ वटा उपसमितिहरु पनि गठन भएको संघले जनाएको छ ।
पत्रकार भेटघाटका प्रमुख अतिथी जिल्ला खेलकुद विकास समितिका कार्यवाहक अध्यक्ष दिपक घिमिरेले जिल्लामा राष्ट्रियस्तरको प्रतियोगिता सञ्चालन हुनुु गौरवको विषय भएको बताउदै आफ्नो व्यक्तीगत तर्फवाट खेल संचालनको लागी रु २५ हजार सहयोग दिने घोषणा समेत गर्नु भयो ।
कार्यक्रम संघका अध्यक्ष प्रणय विरजंग राणाको अध्यक्षता, प्रथम उपाध्यक्ष मनोज लिगलको स्वागत तथा सञ्चार उपसमितिका संयोजक करण चित्रकारको सञ्चालनमा सम्पन्न भएको थियो।














