बिराट पहारी
अर्घाखाँची 2 जेठ २०८०
गत बैशाख २६ गते अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा नं २ तिरेतिरे जङ्गगल नजिकै जंगली जनावरले सताएका कारणले झाडीमा आगो लगाएको र उक्त आगो फैलिन गइ खरेन हुँदै बस्तितर्फ गएको थियो । उक्त आगोलागीको कारण बेल्बासेटोल बस्ने ७२ वर्षिय पिताम्बर बेल्बासे ,३६ वर्षीय माधब बेल्बासे ,५२ वर्षिय घनश्याम बेल्बासे र ५५ वर्षीय पदम प्रसाद बेल्बासे जल्न गई गम्भीर घाईते भएका र उपचारको क्रममा मृत्यु भइसकेको प्रहरीले जनाएको छ । त्यसैगरी २६ वर्षीय अस्मिता बेल्बासे उपचार पछि घरमै रहेको र निजको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी प्राप्त भएको छ । आगोलागीमा थारो/गोठ, परालको टौवा तथा भैंसी समेत जलेको थियो ।
उक्त आगलागी घटनामा संग्लन आरोपी भुमिकास्थान-२ निवासी ७० बर्षिय देवीराम वेल्वासे, ३६ वर्षीय दिनेश थापा, ३६ वर्षीय धर्मराज वेल्वासे र १८ वर्षीय दिपक बि.क लाई आज एक पत्रकार सम्मेलन मार्फत जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले सार्वजनिक गरेको छ । उनिहरुलाई पक्राउ गरी ज्यान सम्बन्धि कसुर मुद्दा दर्ता गरि अर्घाखाँची जिल्ला अदालतबाट ५ दिन म्याद थप भइ अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।













