पाल्पा । पाल्पा जिल्लाको सदरमुकाम तानसेन बजारमा वैशाख १४ देखि "पाल्पा महोत्सव २०८०" सुरु भएको छ ।
उद्योग वाणिज्य संघ, पाल्पाद्वारा 'पाल्पामा कृषि, पर्यटन, उद्योग र व्यापार: अवसर र सम्भावना अपार' भन्ने नाराका साथ सञ्चालन भएको पाल्पा महोत्सव २०८० ले पाल्पाको कृषि, पर्यटन तथा व्यापारमा ठूलो टेवा पुर्याउने आयोजको विश्वास रहेको छ ।
वैशाख १४ गते, बिहिवारबाट सुरु भएको कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय उपाध्यक्ष हेमराज ढकालले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै ढकालले भन्नुभयो, " कोरोनाको कहरले विश्व अर्थतन्त्र धराशायी भएको अवस्थामा सरकारी र निजि क्षेत्रको सहकार्यले मात्र खस्किएको अर्थतन्त्रलाई सुधृड पार्न सकिन्छ ।"
कार्यक्रममा प्रदेशसभा सदस्य खेमबहादुर सारु, राजुप्रसाद श्रेष्ठ, इन्द्रा गहतराज, पूर्व मन्त्री सोमप्रसाद पाण्डेय, पूर्वसांसद यादवबहादुर रायमाझी, लिला सोमैलगायतले व्यापार महोत्सवले सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने बताएका थिए ।
उक्त महोत्सव वैशाख १४ देखि वैशाख २४ सम्म सञ्चालन हुने पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराईले बताउनुभयो । झाँकी र नगर परिक्रमा सँगै सुरु भएको कार्यक्रम अध्यक्षको मन्तव्यबाट समापन भएको थियो ।













