लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका नेता डिल्लीबहादुर चौधरी नियुक्त हुनु भएको छ । बिहीबार दिउँसो ५३ जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका चौधरीलाई प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ अर्थात बहुमतको आधारमा मुख्यमन्त्रीमा नियुक्त गर्नु भएको हो ।
चौधरीले प्रदेश प्रमुख शेरचन समक्ष प्रदेश सभाका बहुमत सांसद ५३ जनाको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गर्नु भएको थियो ।त्यसैका आधारमा बिहीबार ६ बजेपछिप्रदेश प्रमुख शेरचनले चौधरीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नु भएको हो ।
दाङको निर्वाचन क्षेत्र नं. ३ (१) बाट निर्वाचित काँग्रेस नेता चौधरी २०७४ सालमा पनि दाङकै संस्थापक मुख्यमन्त्री तथा नेकपा एमालेका महासचिव शंकर पोखरेलको पालामा लेखा समितिको सभापतिको जिम्मेवारी निर्वाह गरि सकेका नेता हुनुहुन्छ । पोखरेल पछि मुख्यमन्त्री भएका रोल्पाका नेकपा माओबादी केन्द्रका नेता कुलप्रशाद केसी मुख्यमन्त्री छँदा चौधरी ग्रामिण, पर्यटन तथा नागरिक उड्यन मन्त्री हुनुहुन्थ्यो । चौधरीलाई नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी बाहेक अन्य सबै दलहरुका समर्थन रहेको छ ।
काँग्रेस नेता चौधरी माओवादी केन्द्र, जसपा, लोसपा, नागरिक उन्मुक्ति, जनमत, राजमो, एकीकृत समाजवादी लगायतको समर्थनमा मुख्यमन्त्री बन्नु भएको हो ।८७ सदस्य लुम्बिनी प्रदेश सभामा बहुमतका लागि ४४ सांसदको समर्थन प्रयाप्त हुने गर्छ । लुम्बिनीमा एमालेका २९, नेपाली कांग्रेसका २७, माओवादीका ११, राप्रपाका र नागरिक उन्मुक्ति र जनमतका ४ – ४ , जनता समाजवादी र लोकतान्त्रिक समाजवादीका ३ – ३ , राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका १ – १ र स्वतन्त्रबाट १ सांसद रहेका छन ।पछिल्लो समय एमालेका लीला गिरी मुख्यमन्त्री हुँदा भने काँग्रेस सत्ता बाहिरै बसेको थियो ।













