बाँके ,३० चैत्र
गुणस्तरीय शिक्षा सबैको अभियान भन्ने मुल नाराका साथ शुक्रबार देखि बाँकेको नरैनापुर गाँउपालिकाको ६ वटै वडामा एकैसाथ विद्यार्थी भर्ना अभियान शुरु हुने भएको छ ।
नरैनापुर गाँउपालिकाको शिक्षा शाखा मार्फत विद्यालय बाहिर रहेका विद्यार्थीलाई विद्यालयमा ल्याउने उद्देश्यका साथ विद्यार्थी भर्ना अभियान शुरु गर्न लागिएको नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले बताउनु भयो ।
मंगलबार शिक्षा समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष शाहले विद्यालय भर्ना अभियानमा विद्यार्थीहरुको सहभागिता उत्साहजनक भए पनि असार नलाग्दै पुनः विद्यालय भन्दा बाहिर जाने गरेकोले विद्यार्थीहरुलाई टिकाउने गरी योजना बनाएर अगाडि बढन् शिक्षा समितिलाई निर्देशन दिनु भएको थियो । अध्यक्ष शाहले नामका लागि मात्र दर्ता रहेका मदरसाहरुलाई खारेज गर्ने समेत बताउनु भएको हो ।
नरैनापुर गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालले जुन सुकै बहानामा विद्यार्थीहरु बिचमै बिद्यालय छोड्नु राम्रो होईन । यसका लागि सम्बन्धीत बिद्यालय र अभिभावकलाई गम्भीर बन्न सुझाव दिनु भएको थियो । उहाँले विद्यार्थी टिकाउन र गुणस्तरीय शिक्षा दिन नसक्ने विद्यालयलाई कारवाही गर्ने जिकिर गर्नु भएको थियो ।
योजना शाखा प्रमुख प्रकाश अधिकारीले लोक सेवाबाट आएका शिक्षकहरुलाई मनपरी सहमति पत्र दिने काम बन्द गरी शिक्षाको गुणस्तर सुधार गर्न तर्फ केन्द्रीत हुन बिद्यालयका प्रधानाध्यापकहरुलाई आग्रह गर्नु भएको थियो ।
शिक्षा शाखा प्रमुख कृष्ण थारुले विद्यालय जाने उमेर समूहका कोही पनि बालबालिका विद्यालय जानबाट बञ्चित हुन नपरोस भन्दै भव्यरुपमा घरदैलो अभियान संचालन गर्न शिक्षकहरुलाई निर्देशन दिनु भएको थियो । शिक्षा शाखा प्रमुख थारुले मदरसा शिक्षालाई गाँउपालिकाले व्यवस्थित गर्ने तयारी गरेको बताउदै २०८० को भर्ना अभियानमा असफल हुने मदरसा र विद्यालयलाई नियमानुसार कारवाही गर्ने जिकिर गर्नु भएको थियो ।
शिक्षा समितिका सदस्य एंव गाँउपालिका अध्यक्षका स्वकीय सचिव बिरजेन्द्र यादवले शिक्षा क्षेत्रमा हुने राजनितिलाई अन्त्य गरी गुणस्तरीय शिक्षा प्रदान गर्न तर्फ केन्द्रीत हुन सुझाव दिनु भएको थियो । उहाँले नरैनापुरमा ३० वटा मदरसा र २१ वटा बिद्यालयमा १२ हजार विद्यार्थी रहेको बताउनु भएको थियो ।
नरैनापुर गाँउपालिकाले बिद्यार्थीहरुलाई बिद्यालय सम्म ल्याउनका लागि बस संचालन गरे पछि विद्यार्थीहरुको संख्य बृद्धि भएको शिक्षा समितिका सदस्य सन्तोष श्रीवस्तवले बताउनु भयो । शिक्षा समितिको बैठकमा सहभागि शिक्षकहरुले कति पय विद्यालयहरुमा शिक्षकको अभाव र केही विद्यालयमा भवनको अभाव रहेको गुनासो गर्नु भएको थियो । गाँउपालिकाले आउने वर्ष देखि शिक्षक लगायतको समस्या हुन नदिने गरी तयारी गरेको गाँउपालिकाले जनाएको छ ।












