प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकार नागरिकको जनजीवन सुधारभन्दा सामाजिक सञ्जालमा ‘लाइक’ बटुल्नतर्फ बढी केन्द्रित भएको आरोप लगाएका छन्।
सरकारले आफ्नो १०० दिने उपलब्धि सार्वजनिक गरेपछि नेपाली कांग्रेसले आयोजना गरेको समीक्षा कार्यक्रममा बोल्दै थापाले सरकारका कामलाई पाँच वटा आधारमा मूल्याङ्कन गरेको बताए। उनले सरकारको प्राथमिकतामा नागरिकको जनजीविका नभई प्रचारमुखी गतिविधि परेको टिप्पणी गर्दै, “सरकारलाई लाइफ (जीवन) भन्दा लाइकको चिन्ता बढी देखिएको छ,” भने।
थापाले प्रधानमन्त्रीको ध्यान शासकीय गतिविधिमा केन्द्रित देखिए पनि जनताका आधारभूत समस्याप्रति आवश्यक संवेदनशीलता नदेखिएको आरोप लगाए। उनले भूमिहीनको समस्या संरचनागत प्रकृतिको रहेको उल्लेख गर्दै यसको जरा दलित समुदायसँग समेत जोडिएको बताए। विगतका सरकारले यस विषयमा धेरै तयारी गरिसकेको भन्दै अहिलेको सरकारसँग समस्या समाधानका लागि अनुकूल अवस्था भए पनि प्रभावकारी काम हुन नसकेको उनको भनाइ थियो।
अव्यवस्थित बसोबासी तथा सुकुम्बासी व्यवस्थापनका विषयमा बोल्दै थापाले कानुनी प्रक्रिया पूरा नगरी बस्तीमा डोजर चलाएर सरकारले ‘फिल्मी शैली’ प्रदर्शन गरेको आरोप लगाए। उनले यस क्रममा सरकारले मानवीय संवेदनशीलता गुमाएको दाबी गर्दै सुकुम्बासी बस्तीबाट विस्थापित भएकामध्ये अधिकांश दलित समुदायका नागरिक रहेको बताए।
दलित समुदायसँग सरकारले माफी मागेको विषयलाई स्वागतयोग्य भन्दै थापाले माफी मात्र पर्याप्त नभई उनीहरूको जीवनस्तर सुधारका लागि ठोस काम आवश्यक रहेको बताए।
शिक्षा क्षेत्रबारे बोल्दै थापाले सरकारले यसपटक परीक्षा नतिजा छिटो सार्वजनिक गरे पनि नतिजामा देखिएका गम्भीर त्रुटिका कारण सयौं विद्यार्थी अहिले पनि माइतीघर मण्डलामा आन्दोलन गर्न बाध्य भएको बताए। उनका अनुसार विद्यार्थीको भविष्यसँग प्रत्यक्ष जोडिएको विषयलाई सरकारले गम्भीर रूपमा लिन सकेको छैन।
“एक–दुई जनाको समस्या भएको भए सामान्य मान्न सकिन्थ्यो, तर सयौं विद्यार्थी सडकमा उत्रिनुपर्ने अवस्था सामान्य होइन,” थापाले भने। उनले सरकारले निर्णय गर्दा त्यसले नागरिकको जीवनमा पार्ने प्रभावभन्दा सामाजिक सञ्जालमा कति ‘लाइक’ प्राप्त हुन्छ भन्ने सोचलाई प्राथमिकता दिएको आरोप लगाए।
सरकारको कार्यशैलीप्रति पनि असन्तुष्टि व्यक्त गर्दै थापाले लोकतान्त्रिक व्यवस्थामा प्रक्रिया र विधिको सम्मान अनिवार्य हुने बताए। “सरकार प्रतिनिधि संस्था हो, त्यसैले कानुनी प्रक्रिया पूरा गरेर मात्र अघि बढ्नुपर्छ। प्रक्रिया बेवास्ता गरियो भने अन्ततः दुर्घटना निम्तिन्छ,” उनले भने।
थापाले अहिलेको सरकार ‘परिणाम दिन्छु, प्रक्रिया गोली मार’ भन्ने शैलीमा अघि बढिरहेको आरोप लगाउँदै त्यसले लोकतान्त्रिक मूल्य र सुशासनलाई कमजोर बनाउने चेतावनी दिए।













