गिता भट्टराई
चैत्र २९,गल्याङ ।
स्याङ्जाको गल्याङमा जेसिज रमाइलो मेला हुने भएको छ । यही चैत्र ३० देखि वैशाख ९ गतेसम्म हुने प्रथम गल्याङ जेसिज रमाइलो मेलाको तयारी अन्तिम चरणमा पुगेको बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।
“आर्थिक समृद्धिका लागि युवा अभियान” भन्ने मूल नारासहित गल्याङ जेसिजले रमाइलो मेलाको आयोजना गरेको हो ।
विभिन्न वस्तुु तथा सेवाको एकैस्थानमा प्रदर्शनी, स्थानीय वस्तु तथा सेवाको बजार , स्थानीय उत्पादन, हस्तकलामा गुणात्मक सुधार गर्ने रमाइलो मेलाको उद्देश्य रहेको गल्याङ जेसिज वर्ष २०२३ का अध्यक्ष एवम् रमाइलो मेला मूल आयोजक समितिका संयोजक ऋषि बस्यालले जानकारी गराउनुभयो । यसैगरी रमाइलो मेलाका अवसरमा आधुनिक एवम् नयाँ प्रविधि, उपकरण तथा उपकरणका बारेमा कृषकहरुलाई जानकारी गराइने छ । विभिन्न जातजाति, भाषा, धर्म, संस्कृति, भेषभूषा, झाँकी प्रदर्शन गराई अनेकतामा एकता कायम गर्ने, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको कला प्रस्तुत गरी कला र संस्कृतिको जगेर्ना लगायत मेलाको उद्देश्यमा समेटिएको छ ।दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति तथा बाल उद्यान रमाइलो मेलाको मुख्य आकर्षण रहने आयोजकले जनाएको छ । यसैगरी कृषि तथा स्थानीय उत्पादनको प्रदर्शनी एवम् विक्रि वितरण गरिने छ । मेला अवलोकन गर्नेहरुका लागि टिकटको मूल्य रु ७० राखिएको छ भने विद्यार्थी र वृद्धहरुका लागि रु ५० लाग्ने आयोजकले जनाएको छ ।
स्टल भाडा, बाल उद्यान, टिकट विक्रि, प्रायोजक तथा विज्ञापनबाट कूल ४२ लाख २० हजार आम्दानी गर्ने आयोजकको लक्ष्य राखेको छ । नेतृत्व र व्यक्तित्व विकास सँगै बचत भएको रकम विभिन्न सामाजिक क्षेत्रमा लगानी गर्ने मेला आयोजक मूल आयोजक समिति संयोजक जेसिज ऋषि बस्यालले जानकारि दिनु भयो ।













