कपिल अधिकारी
बुटवल, चैत २७ ।
गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले सोमबार साँझ बुटवल पाल्पा सडकखण्ड अन्र्तगत सिद्धबाबामा निर्माणधिन सुरुङमार्गको निरीक्षण गरेका छन् । लामो समयदेखि मृत्यूमार्गको रुपमा परिचय पाएको सिद्धबाबामा निर्माणधिन सुरुङ मार्ग गृहमन्त्री र विभागिय मन्त्रीले स्थलगत रुपमा निरीक्षण गरेका हुन ।
निरीक्षणपछि सञ्चारकर्मीहरुसँग बोल्दै गृह मन्त्री श्रेष्ठले सिद्धबाबा सुरुङ मार्ग सहित निर्माणधिन सडक चाँडो सक्न सबै पक्षलाई बोलाएर छलफल गर्ने बताए । उनले बुटवल पाल्पा हुँदै विभिन्न जिल्लामा पुग्ने सडक असुरक्षित भएकाले सिद्धबाबामा सुरुङमार्ग निर्माण शुरु गरिएको बताए । श्रेष्ठले यो सडकलाई सुरक्षित बनाउनका लागि सुरुङमार्ग र अन्य ठाउँमा सडक सुरक्षित हुने गरि काम अघि बढाइएको बताए ।
उनले आफू मन्त्री भएपछि पहिलो पटक प्रारम्भिक जानकारी लिनका लागि निरीक्षणमा आएको समेत बताए । उनले सुरुङमार्गको काम छिटो निर्माण सक्ने गरि आवश्यक निर्देशन दिने समेत जनाए । उनले तत्तकालका लागि पास भएका योजनाका कामहरुलाई गुणस्तरीय रुपमा काम गर्न निर्देशन दिएको बताएका छन् ।
‘प्रधानमन्त्री ज्यूले पनि टेण्डर भएका, बजेट छुटिटएका योजना दुई सिफ्टमा काम गरेर भएपनि सक्न निर्देशन दिनुभएको छ’ मन्त्री ज्वालाले भने –‘ अबको ३ महिना काम गर्ने समय हो, रिजल्ट निकाल्ने गरि काम गर्न सबैलाई भनेका छौं ।’ उनले मन्त्रालय, विज्ञ एंव निर्माण व्यवसायीहरु समेतको उपस्थितीमा समस्याहरुको पहिचान गरेर तिनिहरुको समाधान गर्ने गरि काम गर्ने बताए ।
त्यस्तै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँगै निरीक्षणमा आएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री ज्वालाले बुटवल–नारायणगढ सडकखण्डको काम सुस्त भएको पाइएकाले चाँडो गर्न निर्देशन दिएको बताए । उनले बुटवल नारायणगढ सडकखण्डको कामलाई अघि बढाउनका लागि निर्माण व्यवसायी र आयोजना प्रमुखलाई निर्देशन दिएको बताए । ‘हामी दिनभर बुटवल नारायणगढ सडकखण्ड निर्माणको निरीक्षण ब्यस्त भयौं’ उनले भने –‘उपभोक्ता, निर्माण व्यवसायी, आयोजना प्रमुखहरुको कुरा सुनेका छौं’ मन्त्री ज्वालाले भने –‘एक साईड क्लिएर गराउन निर्देशन दिएका छौं ।’ मन्त्री ज्वालाले बर्षामा सडक अवरुद्ध नहुने व्यवस्था मिलाउने समेत बताए ।
गृहमन्त्री नारायाणकाजी श्रेष्ठ सहित भौतिक पूर्वाधार मन्त्री ज्वाला, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्मा, लुम्बिनी प्रदेशसभाका सभामुख तुलबहादुर घर्ती, पूर्व सांसद सोमप्रसाद पाण्डे, तिनाउ गाउँपालिकाका जनप्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।












