गिता भट्टराई
स्याङ्जा,२७ चैत्र
स्याङ्जाको कालीगण्डकी गाउँपालिका –७ मिर्मिमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । गाउँपालिकाको आयोजना, रोटरी क्लब अफ क्पापिटल बुटवलको सह–आयोजना र गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलको प्राविधिक सहयोगमा शिविर सञ्चालन भएको हो ।
शिविरमा ७ सय जनाले स्वास्थ्य परीक्षण गराएका छन् । शिविरमा मुटु, मृगौला र सुगर जस्ता रोगहरुको ल्याव परीक्षण गरिएको थियो ।
अस्पतालको पहुँच भन्दा बाहिर रहेकाहरुको लागि शिविर महत्वपूर्ण रहेको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलमले बताउनु भयो । रोटरी क्लबका प्रेसिडेन्ट अशोक कुँवरले समुदायसँग सम्बन्धित हरेक कार्यमा क्लबले स्थानीय सरकारसँग सधैं सहकार्य र सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
शिविरमा बोल्दै पालिका उपाध्यक्ष सावित्रा कोईरालाले जनताको नजिकको सरकार भनेकै स्थानीय सरकार भएकाले आम जनतामा त्यसको अनूभति प्रदान गर्ने गरी काम गर्दै आएको बताउनु भयो । उहाँले नागरिक स्वस्थ भए मात्र स्थानीय सरकार समृद्धि हुुने भन्दै स्वस्थ नागरिक उत्पादनमा आफुुहरुले विशेष ध्यान दिएको बताउनु भयो । विपन्न वर्गका नागरिकहरुका लागि निःशुल्क स्वास्थ्य शिविरले ठूलो सहयोग पुुगेको वडा नं.७का वडा अध्यक्ष उम प्रसाद भट्टराईले बताउनु भयो । आफ्नो गाउँघर छेउमै उपचार गर्न पाउँदा विरामीहरु उत्साहित भएका थिए । सेवा लिन अन्यत्रै जानुुपर्ने बाध्यतामा रहेका यहाँका नागरिक घर गाउँमै सेवा लिन पाउँदा खुसी देखिन्थे ।
शिविरमा निःशुल्क औषधी वितरण साथै निशुल्क ल्याब सेवा प्रदान गरिएको थियो । नागरिकको स्वास्थ्यलाई मध्यनजर गरी शिविर सञ्चालन गरिएको प्रमुख प्रशासकिय अधिकृत देवेन्द्र पाण्डेयले बताउनु भयो । उहाँले समृद्ध गाउँपालिका सुखी नागरिक हुनको लागि नागरिकको स्वास्थ्य नै हाम्रो प्राथमिकता भएको भन्दै आगामी दिनमा पनि यस्ता शिविर सञ्चालन गर्दै जाने बताउनु भयो ।