पाल्पा । त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा कार्यरत विद्यार्थी संगठन असंलग्न विद्यार्थी युनियनले हिजो विज्ञप्ती जारी गार्दै क्याम्पस प्रशासनलाई सात दिने अल्टिमेटम दिएको थियो । क्याम्पसमा रहेको शौचालय र खानेपानीको समस्या दिनानुदिन बढ्दै गएकाले कडा रुपमा प्रस्तुत हुन बाध्य भएको असंलग्न विद्यार्थी युनियनका क्याम्पस कमिटी अध्यक्ष प्रवेश अर्यालले जनाएका छन् । उनले भने, "हामी निकै शान्तिपुर्ण तरिकाले सरसफाइको मुद्दालाई उठाइरहेका थियौँ तर पिउने पानीमा नै जुका भेटिएपछि अलिकति माथि उठ्न बाध्य भएका छौँ ।"
विज्ञप्तीमा लेखिएको थियो:
उपरोक्त सम्बन्धमा यस त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पाको अवस्था दिनानुदिन खस्किदै गएको यहाँलाई अवगत नै छ । पश्चिमाञ्चलकै सबैभन्दा ठूलो क्याम्पसको ताज भिरीरहँदा यहाँ उपलब्ध सेवासुविधा गुणस्तरहीन बन्दै गएको हामीले पाएका छौँ । क्याम्पस भित्र प्रवेश गर्दा फुलका सुगन्धले स्वागत हुनुपर्ने सट्टा विद्यार्थीहरु शौचालयको दुर्गन्ध लिँदै क्याम्पस पस्न बाध्य छन् । लहरेपिपल स्थित सबै भवन लगायत बतासेडाँडा स्थित बि.एस्.सि भवनमा शौचालयहरुको अवस्था निकै दयनीय छ । पिउने पानीलाई फिल्टर गर्न मेसिनहरु त राखिएको छ तर ती मेसिन खोल्दा पानीको सट्टा जुका बगेर आउँने गर्छ । नियमित निगरानी र सरसफाइको अभावमा पिउने पानीका ट्याङ्कीहरुको अवस्था निकै घिनलाग्दो बनेको छ । यति सबै भइरहँदा पनि क्याम्पसले कुनै अग्रसरता नदेखाउनु लाजमर्दो कुरा हो । तर हामी विद्यार्थीहरु र विद्यार्थीहरुको साझा संगठन असंलग्न विद्यार्थी युनियन चुप लागेर बस्न सक्दैनौँ । त्यसैले आउँदो हप्ताको आइतबारसम्म क्याम्पसमा रहेका सबै (लहरेपिपल र बि.एस्.सि स्थित) शौचालयहरु सरसफाइ गरि आवस्यकता अनुसार फेनल आदि सरसफाइका सामाग्रीहरु नराखिएमा र सबै खाने पानीका ट्याङ्कीहरु विद्यार्थीको निगरानीमा सरसफाइ गरि फिल्टरमा शुद्ध पानीको व्यवस्था नगरिएमा असंलग्न विद्यार्थी युनियन हदैसम्म पुग्न सक्ने क्याम्पस प्रशासनलाई चेतावनी दिन चाहान्छ ।
उक्त संगठनले पटक पटक विद्यार्थीका समस्यालाई प्रशासनसामु राख्दै आएको थियो । अरु समस्यालाई हल्का रुपमा लिए पनि यो गम्भीर समस्यालाई चाँडो भन्दा चाँडो हल गर्न उनीहरुले प्रशासनलाई दबाब दिएका छन् । विज्ञपति लिँदै क्याम्पस प्रमुख टंक भट्टराईले यही हप्ता भित्र नै समस्याको समाधान गर्ने आश्वासन समेत दिनुभएको थियो ।