बुटवल, १३ चैत ।
रुपन्देही उद्योग संघ र दिगो तथा सम्मानित रोजगारीका लागि सिप परियोजना (इन्स्योर) को सहकार्यमा रुपन्देही उद्योग संघमा स्थापना गरिएको क्षमता विकास ईकाई (SDU) को आयोजनामा बुटवल टेक्नीकल इन्ष्टिच्यूटको व्यवस्थापनमा ९६ घण्टे सिएनसि अपरेटर तालिमको सोमबार शुभारम्भ भएको छ ।
कार्यक्रमको एक समारोहकावीच रुपन्देही उद्योग संघका अध्यक्ष माधव प्रसाद पौडेलले शुभारम्भ गर्दै परिवर्तित सन्दर्भमा उद्योग संचालनमा आएको नयाँ प्रविधि र शैलीलाई कसरी व्यवहारमा उतार्न सकिन्छ भन्ने उद्देश्यले संघले सिप परियोजना अन्तरगत तालिमको आयोजना गरेको जानकारी दिनु भयो । उहाँले तालिमबाट उद्योगहरुको उत्पादन क्षमता बढाउन र लागत खर्च कम गरी सेवा एवं सुविधा थप्ने बाटाहरु दिन सक्ने धारणा राख्नुभयो ।
पौडेलले संघले विटिआईसँग सहकार्य गरी तालिम संचालन गर्न पाएकोमा खुशी व्यक्त गर्दै औद्योगिक क्षेत्रमा देखिएका शिप र क्षमताको अभावलाई कम गर्न संघले भूमिका खेल्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
कार्यक्रममा बुटवल टेक्निकल इष्टिच्यूटका डाइरेक्टर ई.अभिमन्यू भिमार्जुन पन्थीले विटिआईले संचालन गर्ने तालिमले विश्वमै मान्यता प्राप्त गर्ने हुँदा तालिममा सहभागिहरुलाई प्रशिक्षणमा गम्भिर भएर बस्न आग्रह गर्नु भयो । वहाँले संचालन गर्न लागिएको तालिम एक पाइलट प्रोग्राम जस्तै भएका कारण यसबाट औद्योगिक सेवा विस्तारमा आवश्यक नयाँ रोजगार सिर्जना गर्न मद्दत गर्ने विश्वास व्यक्त गर्नु भएको थियो ।
सो अवसरमा इन्स्योर प्रोग्रामका टेक्निकल कोर्डिनेटर चक्रपाणी तिमिल्सीनाले नीजि क्षेत्रका उद्योगीहरुको माग र आवश्यकता अनुसार सिएनसी तालिम संचालन गर्न लागेको र त्यसबाट उद्योगको उत्पादन बढाउन सहयोगी बन्ने अपेक्षा व्यक्त गर्नु भएको थियो । उहाँले प्रविधिको विकासले उद्योग क्षेत्रले धेरै फड्को मारेको वर्तमान अवस्थामा त्यसलाई केन्द्रमा राखेर कामदारहरुलाई वजारको माग अनुसार सीपमा स्तर उन्नती गर्नु जरुरी भएको धारणा राख्नु भयो ।
तलिममा कोभिडका कारणले वेरोजगार भएका, बैदेशिक रोजगारीबाट फर्केका, र सम्बन्धित विषयमा विभिन्न उद्योगमा कार्यरत २० जना दक्ष कामदारको सहभागीता रहने जनाइएको छ । ९६ घण्टा तालिम अवधि रहेकोमा विटिआई र कोरियन टेक्निकल इष्टिच्यूटका प्राविधिकहरुले २० प्रतिशत विषयगत र ८० प्रतिशत प्रयोगात्मक ज्ञान दिने रुपन्देही उद्योग संघका प्रमुख कार्यकारी अधिकृत यादव प्रसाद भण्डारीले जानकारी गराउनु भयो ।
कार्यक्रमको संचालन बुटवल टेक्नीकल इन्ष्टिच्यूटका कार्यक्रम संयोजक मनोज भट्टराईले संचालन गर्नु भएको थियो ।













