पाल्पा १४ चैत्र
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले लाई राजनीतिको राजा अर्थात ‘सिंह’ भएको बताएका छन्।
एमाले पाल्पाले मंगलबार तानसेनको दमकडामा आयोजना गरेको जिल्लास्तरीय बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले ५ दलिय ८ दलिय १० दलीय सत्तारुढ गठबन्धन भएता पनि उनीहरु स्यालको बथान भएको टिप्पणीसमेत गरे।
पछिल्लो समय एमाले विरुद्ध चौतर्फी घेराबन्दी भइरहेको र यस्तो अवस्थामा एमालेले एक्लै लडिरहेको उनको भनाइ थियो।
पार्टी कब्जा गर्न नसकेर माधवकुमार नेपाल र प्रचण्डले पार्टी फुटाएको आरोप समेत ओलीले लगाए।
दशदलीय गठबन्धनमा रहेका दलले सत्तामा पुगेर लुछाचुँडी गरिरहेको आरोप उनले लगाए। देश र जनताको पक्षमा काम गर्न ध्यानै नदिएको र देश बनाउन एमालेले जित्नै पर्ने वताए ।
मुलुकको भूभाग खुम्चीदा पनि सरकार मौन रहेको आरोपसमेत अध्यक्ष ओलीले लगाए।
एमालेको नेतृत्वमा बनेको सरकारले जनमुखी काम गरेको दावी उनले गरे। सत्तामा टिक्न र दोहन गर्न गठबन्धनका नाममा वामपन्थी भन्नेहरूले दक्षिणपन्थीसँगसाँठगाठ रहेको उनले बताए।
‘मलाई त प्रधानमन्त्री ओलीले बनाइदिए तर मन उतै थियो भनेर प्रचण्ड आफैँले बोले। बकुल्ला(बकुल्लाको बथानमा जानु कुनै नौलो कुरा होइन‚’ ओलीले भने‚ ‘बाहिरको गोटी बनेका हुन् प्रचण्ड। भारतीय इशारामा सरकार परिवर्तन गरेका हुन्। उनले नेपाल र नेपालीको हितमा काम गर्दैनन्।’
‘अहिले देश बनाउने कुरा ख्यालख्याल जस्तो भइरहेको छ। देश बनाउन पर्दैन भन्नेजस्तो भइसक्यो। यस्तो राष्ट्र निर्माणका लागि मुर्छित भइरहेका सपना एमालेले जगाएको छ‚’ उनले भने‚ ‘मिसन ग्रासरुट कार्यक्रमले आगामी निर्वाचनमा एमालेले बहुमत पाउनेछ र एकल सरकार बनाएर राष्ट्र, राष्ट्रियता र जनताका जनजीविकाका पक्षमा काम गर्छ।’