पाल्पा , चैत्र-१३ बुटवल पावर कम्पनी लिमिटेडको आँधिखोला वितरण केन्द्रले विद्युत महशुल दर बृद्धिका लागि गरेको प्रस्ताव प्रति रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले असहमति जनाउनु भएको छ । नगर प्रमुख थापाले आईतबार प्रेस विज्ञप्ति जारी गर्दै विद्युत महशुल दर बृद्धि गर्नु भनेको जनताको ढाड सेक्नु सरह भएको भन्दै प्रस्ताव प्रति असहमति जनाउनु भएको हो । “हाल प्रति युनिट ५.८०७ रुपैयाँ कायम रहेको विद्युत महशुल दरलाई बढाएर प्रति युनिट ११ रुपैयाँ बनाउने उक्त प्रस्ताव प्रति रामपुर नगरपालिकाको पूर्ण असहमति छ” विज्ञप्तिमा भनिएको छ । सम्बन्धित पालिका र सरोकारवालाहरु संग कुनै सल्लाह र समन्वय नगरि विद्युत महशुल दर बृद्धिको प्रस्ताव प्रति आपत्ति जनाएको छ ।
नगर प्रमुख थापाले आयोगमा प्रस्ताव पेश गरि सरोकारवाला र उपभोक्ताले थाहा नपाइ सार्वजनिक सुनुवाई गरेर बृद्धिको प्रक्रिया अगाडी बढाएको प्रति आफुहरू असहमत रहेको जनाउदै बुटवल पावर कम्पनीले गरेको यो प्रस्ताव र प्रक्रिया आम जनताको हित विपरित रहेकोले उक्त प्रस्तावमा कुनै निर्णय नगर्न सम्बन्धित निकाएको ध्यानाकर्षण समेत गराउनु भएको छ ।













