फागुन १, रामपुर पाल्पा, तेस्रो रामपुर महोत्सव तथा व्यापार मेलामा यहि फागुन ३ गते देखि जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ प्रतियोगिता सुरु हुन लागेको हो । जिल्ला भलिबल संघ पाल्पाको आयोजना, नगर खेलकुद विकास समिति रामपुरको सहआयोजना, रामपुर भलिबल संघको व्यवस्थापन र रामपुर उद्योग वाणिज्य संघको मुख्य प्रायोजकमा प्रतियोगिता सुरु हुन लागेको हो । आयोजकले सोमबार भलिबल हुने स्थानमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको बारेमा जानकारी दिएको हो ।
प्रतियोगितामा पाल्पा, बाग्लुङ, पर्वत, स्याङ्जा, नवलपुर, नवलपरासी, गुल्मी, तनहुँ, कास्की, रुपन्देही लगाएत १० जिल्लाहरुको सहभागिता रहने छ । प्रतियोगिताको उपाधि हाशिल गर्ने विजेताले नगद १ लाख ५१ हजार १ सय ११ रुपैयाँ सहित कप मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै प्रतियोगितामा दोस्रो स्थान हाशिल गर्नेले नगद १ लाख १ हजार १ सय ११ रुपैयाँ सहित कप मेडल र प्रमाणपत्र र तेस्रो स्थान हाशिल गर्नेले नगद ५१ हजार १ सय ११ रुपैयाँ सहित कप मेडल र प्रमाणपत्र प्रदान गरिने जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिताको संयोजक शंकर बहादुर खाँणले जानकारी दिनुभयो ।













