पाल्पा, १५ माघ
आइतवार पाल्पामा ७० औँ विश्व कुष्ठ रोग दिवस मनाइएको छ । प्रायजसो दिवसहरुमा र्याली सहित वजार परिक्रमा गरेर मनाउने गरिने दिवसलाई यस पटक भने अन्तरक्रिया कार्यक्रम मार्फत सम्पन्न गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाको आयोजनामा भएको कार्यक्रममा समयमै उपचार गरे कुष्ठ रोग निको हुने र त्यसले उक्त रोग उन्मुलनमा सहयोग पुग्ने जानकारीका साथै पाल्पा जिल्लामा यसको अवस्था वारे जिल्ला स्वास्थ्य कार्यालयले जानकारी गराएको थियो।
कार्यक्रममा स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र गिरीले अहिले पनि ग्रामीण क्षेत्रमा कुष्ठ रोग लागेमा लुकाउने प्रचलन रहेकाले त्यसलाई समयमै उपचार गर्न आग्रह गर्नुभयो । डा. गिरीले पाल्पा जिल्लामा कुष्ठ रोगीको सङ्ख्या बढ्दै जानुले सरोकारवाला निकाय थप सचेत हुनुपर्ने र आवश्यक न्युनीकरणका उपाय अबलम्बन गर्नुपर्ने वताउनु भयो।
कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष रेखीराम रानाले कुष्ठ रोगको निवारणका लागि आम नागरिक सचेत हुनुपर्नेमा जोड दिनुभयो । कुष्ठ रोगको नियन्त्रणका लागि पालिका, प्रदेश र संघीय सरकारले कार्यक्रम सन्चालन गर्न सुझाव दिनुभएको थियो।
पाल्पामा पनि अझै १२ जना कुुष्ठरोगीहरु रहेका छन् । पाल्पामा २०७६ मा १५ जना कुुष्ठरोगीका विरामी रहेका थिए । त्यसयता २०७७ मा १३ जना, २०७८ मा १८ जना रहेको स्वास्थ्य कार्यालय पाल्पाका क्षयकुष्ठ अधिकृत विश्वनाथ न्यौपानले जानकारी दिनुभयो । न्यौपानका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा भने घटेर कुष्ठरोगीको संख्या १२ मा पुगेको हो । कार्यक्रममा फोकल पर्सन समेत रहेका न्यौपानेले रोगबारे जानकारी गराउँदै अहिले रहेका १२ जना कुष्ठरोगी मध्ये ९ जना पुरुष र ३ जना महिला रहेको र उनीहरु सबैको उपचार भइरहेको समेत वताउनु भयो ।
तानसेन नगरपालिकामा ३, रिब्दीकोट गाउँपालिकामा २, रैनादेवी छहरा गाउँपालिका १, बगनासकाली गाउँपालिका १, पूर्वखोला गाउँपालिका १, निस्दी गाउँपालिकामा १, माथागढी गाउँपालिकामा २ र अन्य जिल्लाका १ जना कुष्ठरोगी रहेका छन् । यहाँ अन्य जिल्लाबाट पाल्पामा आएका व्यक्तिको संख्यालाई समेत गणना गरिएको हो । ति विरामीहरु मध्ये ७ जनाको जिल्ला अस्पताल पाल्पा, १ जनाको रामपुर अस्पताल र ४ जनाको अन्य स्वास्थ्य संस्थाहरुमा उपचार भइरहेको छ । कार्यक्रममा प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष माधव अर्याल, जिल्ला सभापति भरत शर्मा, चौतारीका जिल्ला अध्यक्ष कृष्ण कार्की, प्रेस सेन्टरका कोषाध्यक्ष कमल अधिकारी, कृष्ण पोखरेललगायतले बोल्नुभएको थियो ।
कुनै मानिसको छालामा रातो रंगको फोका देखिएमा, रातो भएको छालाको भाग छुँदा थाहा नपाउने भएमा, छाला फुस्रो भएमा कुष्ठ रोगको आशंका गर्नुपर्ने उहाँले बताउनुभयो । कुष्ठ रोग औषधि सेवनबाट निको हुने भएपनि लामो समयसम्म बेवास्ता गर्दा अपाङ्गता हुन सक्ने सम्भावना बढी हुने चिकित्सकको भनाई छ ।
कार्यक्रममा पाल्पामा क्रियाशील पत्रकारहरुको सहभागिता रहेको थियो । स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी टिकाराम अधिकारीको संचालन र स्वास्थ्य कार्यालय प्रमुख डा. गिरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।













