पाल्पा, २३ असोज
जिल्ला निर्वाचन अधिकृतको कार्यालय पाल्पाका अनुसार आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको पाल्पा क्षेत्र नं. २ मा प्रतिनिधी सभा सदस्यको लागि १४ जनाले मनोनयन दर्ता गरेका छन् । आज क्षेत्र नं. २ को निर्वाचन अधिकृतको कार्यालय तानसेन पुगेर दलका उम्मेद्वार तथा स्वतन्त्र उम्मेद्वारहरुले मनोनयन दर्ता गराएका हुन् ।
पाल्पा क्षेत्र नंं २ अन्तर्गत प्रदेश सभा सदस्यको लागि प्रदेश (क) मा ७ जना, (ख) मा ६ जनाले मनोनयन दर्ता गरेका छन् । क्षेत्र नंं २ प्रतिनिधी सभा सदस्यका लागि नेकपा एमालेबाट ठाकुर गैरे, नेकपा एकिकृत समाजवादीबाट सोम प्रसाद पाण्डे, राप्रपा नेपालबाट खडानन्द गैरे, राप्रपाबाट भोजिन्द्र बहादुर के.सी, राष्ट्रिय जनमुक्ति पार्टी बाट हुम बहादुर थापा मगर, नेपाल मजदुर किसान पार्टीबाट शिव सुन्दर दुख्या, जनता समाजवादी पार्टीबाट दुरपता सोमै, मंगोल नेशनल अर्गनाइजेशनबाट मन बहादुर दर्लामी, जनमत पार्टी नेपालबाट देव बहादुर हिस्की, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सोम प्रसाद गैरे, नेपाल आमा पार्टीबाट तारा प्रसाद खत्रीले उम्मेद्वारी मनोनयन दर्ता गराउनु भएको हो ।
स्वतन्त्रबाट उपेन्द्रराज गहिरे, जीवलाल सुवेदी र केशर बहादुर आलेले उम्मेद्वारी दिनुभएको छ । पाल्पा क्षेत्र नंं २ (क) प्रदेश सभा सदस्यमा नेपाली काँग्रेसबाट विर बहादुर राना, नेकपा एमालेबाट पर्सुराम भट्टराई, जसपाबाट खिक बहादुर रेश्मी, नेशनल मंगोल अर्गनाइजेशनबाट लक्ष्मण गाहा, राष्ट्रिय जनमुक्ति पार्टीबाट टेक बहादुर राना, राप्रपाबाट राजु गैरे, नेपाल मजदुर किसान पार्टीबाट माधव अधिकारीले मनोनयन दर्ता गरेका छन् ।
त्यसैगरी पाल्पा क्षेत्र नंं २ (ख) प्रदेश सभा सदस्यमा नेकपा एमालेबाट ओम बहादुर घर्ती, नेकपा माओवादी केन्द्रबाट तुलाराम घर्ती (बसन्त), राप्रपाबाट चक्रपाणी पौडेल, राष्ट्रिय जनमुक्ति पार्टीबाट इन्द्र अस्लामी नेशनल मंगोल अर्गनाइजेशनबाट शिव बहादुर गाहा, जसपाबाट राजन खड्काले मनोनय दर्ता गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
पाल्पा जिल्लामा २ निर्वाचन क्षेत्र रहेका छन् । पाल्पा क्षेत्र नं. १ मा प्रतिनिधि सभामा १० र प्रदेश सभाको लागि १० जनाको उम्मेद्वारी दर्ता भएको छ ।













