गुल्मी- गुल्मीका दुई वडाध्यक्षले दल परिवर्तन गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेपछि उनीहरूको पद रिक्त भएको छ । निर्वाचन आयोगले नेपाली कांग्रेसबाट निर्वाचित दुई जनप्रतिनिधिको पद स्वतः रिक्त भएको जानकारी सार्वजनिक गरेको हो । मुसिकोट नगरपालिका–२ का वडा अध्यक्ष रविन्द्र के.सी. र धुर्कोट गाउँपालिका–३ का वडा अध्यक्ष पदमबहादुर बिष्टले कांग्रेस परित्याग गर्दै रास्वपामा प्रवेश गरेका थिए ।
राजनीतिक दल सम्बन्धी ऐन, २०७३ अनुसार कुनै पनि निर्वाचित जनप्रतिनिधिले आफू निर्वाचित भएको दल त्याग गरी अर्को दलमा प्रवेश गरेमा उसको पद स्वतः रिक्त हुने कानुनी व्यवस्था रहेको छ । सोही व्यवस्था अनुसार निर्वाचन आयोगले दुवै जनाको पद रिक्त भएको निर्णय सार्वजनिक गरेको जनाएको छ ।
निर्वाचन आयोगले २०८३ जेठ १४ गते सूचना प्रकाशित गर्दै उक्त निर्णयबारे सम्बन्धित निकायलाई समेत जानकारी गराइसकेको छ ।














