पाल्पा - पाल्पाको बगनासकाली गाउँपालिका–६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका दुवै युवकको शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार बगनासकाली गाउँपालिका–६ शिखरडाँडा निवासी २४ वर्षीय पुजन गाहाको शव शनिबार बिहान करिब १०:०५ बजे बगनासकाली–६ कै टिपुवाघाटस्थित कालिगण्डकी नदी किनारमा फेला परेको हो।
गत असार ४ गते साँझ करिब ५:१५ बजे कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा पुजन गाहा र १४ वर्षीय शिशिर गाहा डुबेर बेपत्ता भएका थिए। घटनालगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीयवासीको सहयोगमा खोजी कार्य सञ्चालन गरिएको थियो।
यसअघि शुक्रबार बिहान १४ वर्षीय शिशिर गाहाको शव पनि नदी किनारमै फेला परेको थियो। दुवै शव फेला परेसँगै खोजी कार्य सम्पन्न भएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ।












