बुटवल, २० जेठ । लुम्बिनी प्रदेश सरकारमा सहभागी नेकपा एमालेका चार मन्त्रीले राजीनामा दिएका छन्। मुख्यमन्त्री चेतनारायण आचार्यको निर्देशनपछि एमालेबाट सरकारमा रहेका मन्त्रीहरूले पदबाट राजीनामा दिएका हुन्।
राजीनामा दिनेमा भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थी, स्वास्थ्य मन्त्री खेम सारुमगर तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री सीता शर्मा चौधरी रहेका छन्। मुख्यमन्त्री आचार्यले आफ्नै सल्लाह र निर्देशनमा मन्त्रीहरूले राजीनामा दिएको बताएका छन्। कांग्रेससँगको सत्ता साझेदारी तथा सरकारको नेतृत्व परिवर्तनबारे लामो समयदेखि छलफल चलिरहेका बेला एमालेले सरकारमा आफ्ना मन्त्रीहरू परिवर्तन गर्ने निर्णय गरेको हो। यसअघि जेठको पहिलो सातामै मन्त्री हेरफेरको तयारी भए पनि नेपाली कांग्रेस संसदीय दलले मुख्यमन्त्रीसहित एकैपटक सरकार पुनर्गठन हुनुपर्ने अडान लिएपछि प्रक्रिया रोकिएको थियो।
एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्देशनपछि मुख्यमन्त्री आचार्यले मन्त्रीहरूलाई राजीनामा दिन आग्रह गरेको एमाले स्रोतले जनाएको छ।स्रोतका अनुसार एमालेले नयाँ मन्त्रीका रूपमा गुल्मीका डिल्लीराज भुसाल, अर्घाखाँचीका रामजी घिमिरे, रूपन्देहीका तुलसीप्रसाद चौधरी र बाँकेका रत्न खत्रीको नाम सिफारिस गरेको छ। खत्री यसअघि सामाजिक विकास मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् भने भुसाल, घिमिरे र चौधरी मन्त्री पदका लागि नयाँ अनुहार हुन्।

एमालेले दोस्रोपटक प्रदेशसभा सदस्य निर्वाचित भएर पनि मन्त्री बन्ने अवसर नपाएका सांसदलाई प्राथमिकतामा राखेको जनाएको छ। सोही आधारमा रामजी घिमिरे र तुलसीप्रसाद चौधरी सिफारिसमा परेका हुन्। प्रदेशसभाका ज्येष्ठ सदस्य भएकाले डिल्लीराज भुसाललाई पनि मन्त्रीका लागि अघि सारिएको बताइएको छ।
प्रदेश सरकारले आगामी साउन १ गतेदेखि मन्त्रालयको संख्या घटाएर ८ मा सीमित गर्ने निर्णय गरिसकेको छ। उक्त व्यवस्था सरकारको नीति तथा कार्यक्रममा समेत समेटिएको छ। यता कांग्रेसले सरकारको नेतृत्व परिवर्तनका लागि दबाब बढाइरहेको भए पनि मुख्यमन्त्री आचार्यले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेपछि मात्रै नेतृत्व हस्तान्तरण गर्ने अडान कायम राखेका छन्। नेपाली कांग्रेसबाट मुख्यमन्त्री बन्ने व्यक्तिको टुंगो भने अझै लाग्न सकेको छैन।













