पाल्पा - पाल्पाको रम्भा गाउँपालिका मा विषालु जङ्गली च्याउ खाँदा दुई जनाको मृत्यु भएको छ। रम्भा गाउँपालिका–५, फलकुनकी ६६ वर्षीया विनिमाया कामु मगर र ३५ वर्षीया बालकुमारी खाम्चाको उपचारका क्रममा मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईका अनुसार उनीहरूले गत शुक्रबार घर नजिकैको जङ्गलबाट खोजेर ल्याएको च्याउ पकाएर खाएका थिए।
च्याउ खाएपछि शनिबार बिहानदेखि बान्ता तथा झाडापखाला हुन थालेपछि उनीहरूलाई उपचारका लागि United Mission Hospital Tansen पुर्याइएको थियो। उपचारकै क्रममा दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
विषालु च्याउ खाएर बिरामी परेकी ५० वर्षीया यममाया जर्घा मगरको भने अस्पतालमा उपचार भइरहेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार उनको अवस्था गम्भीर रहेको छ।
यसैबीच, तानसेन, निस्दी गाउँपालिका र माथागढी गाउँपालिका क्षेत्रमा पनि विषालु च्याउ खाँदा १२ जना बिरामी परेका छन्। उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।













