रामपुर- पाल्पाको रामपुर नगरपालिकाले सार्वजनिक तथा ऐलानी जग्गा संरक्षण तथा आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रमका विषयमा सरोकारवालासँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। सरकारको निर्देशनअनुसार सार्वजनिक तथा ऐलानी जग्गा संरक्षण, सुकुम्बासी समस्या समाधान तथा आगामी नीति तथा कार्यक्रमका लागि सुझाव सङ्कलन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
रामपुर नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा नगरप्रमुख रमणबहादुर थापाको अध्यक्षता तथा लुम्बिनी प्रदेशसभा अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजुप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले रामपुरमा अन्य जग्गाभन्दा अव्यवस्थित बसोबासको समस्या बढी जटिल रहेको बताउनुभयो। उहाँले जग्गा संरक्षणका नाममा संरचना भत्काउनु मात्रै समाधान नभएको उल्लेख गर्दै व्यवस्थित व्यवस्थापन आवश्यक रहेको धारणा राख्नुभयो। फरक–फरक प्रकृतिका जग्गालाई एउटै ढाँचामा व्यवस्थापन गर्न नसकिने भएकाले व्यवहारिक समाधान खोज्नुपर्नेमा उहाँले जोड दिनुभयो।
नगरप्रमुख रमणबहादुर थापाले अव्यवस्थित बसोबासी, सुकुम्बासी तथा सार्वजनिक स्थानमा निर्माण भएका संरचनालाई नगरपालिकाको मातहतमा ल्याएर व्यवस्थापन गरिने बताउनुभयो। उहाँले भत्काएर मात्रै समस्या समाधान नहुने भन्दै सार्वजनिक स्थानमा बनेका भवन तथा संरचनालाई सञ्चालन र व्यवस्थापनको दायरामा ल्याइने जानकारी दिनुभयो। जोखिमयुक्त क्षेत्रका बस्ती तथा सुकुम्बासी बस्तीका नागरिकलाई उचित व्यवस्थापनपछि मात्रै स्थानान्तरण गरिने उहाँको भनाइ थियो।
नेपाली कांग्रेस रामपुर नगर कार्यसमितिका सभापति नेत्रप्रसाद भट्टराईले वास्तविक सुकुम्बासीको पहिचान गरी व्यवस्थापन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले एकीकृत बस्ती विकासमार्फत सुकुम्बासी व्यवस्थापन गर्न सुझाव दिनुभयो।
नेकपा एमाले रामपुर नगर कमिटी अध्यक्ष लिलबहादुर गाहाले अव्यवस्थित जग्गाको समस्या समाधानका लागि सम्बन्धित निकायले पहल गर्नुपर्ने बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सचिव जोगन भुजेलले सार्वजनिक जग्गामा बनेका प्रतिष्ठान भवन नगरपालिकाको स्वामित्वमा ल्याउनुपर्ने सुझाव दिनुभयो।
नेकपा नगर अध्यक्ष फणेश्वर गौतमले सार्वजनिक स्थलमा बनेका संरचनाको निगरानी आवश्यक रहेको बताउनुभयो भने राष्ट्रिय प्रजातन्त्र पार्टी रामपुरका नगर अध्यक्ष बृहस्पति अर्यालले सार्वजनिक स्थानमा बनेका भवनबाट उठ्ने घरबहाल नगरपालिकाले असुल गर्नुपर्ने धारणा राख्नुभयो।
कार्यक्रममा विभिन्न वडाध्यक्ष, नगर सल्लाहकार तथा राजनीतिक दलका प्रतिनिधिहरूले सार्वजनिक जग्गाको संरक्षणसँगै उचित उपयोग, सुकुम्बासीको पहिचान, कर व्यवस्थापन तथा दीर्घकालीन समाधानका विषयमा सुझाव दिएका थिए।
रामपुर नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १ का अध्यक्ष कपिलबहादुर खाँणले वास्तविक सुकुम्बासीभन्दा अव्यवस्थित बसोबासीको समस्या बढी रहेको बताउनुभयो। वडा नम्बर ३ का अध्यक्ष दामोदर पाठकले जग्गाको पुनः वर्गीकरण गरी संरचनालाई पालिकाको मातहतमा ल्याएर कर सङ्कलन गर्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रमको सञ्चालन योजना शाखा प्रमुख विक्रम बस्नेतले गर्नुभएको थियो।













