सुमन कार्की
पाल्पा १३, भाद्र
विश्व बैङकको ३ करोड ६५ लाखको लागतमा पुननिर्माण र जिर्णोद्धार गरिएको तानसेन स्थित अमर नारायण मन्दिर र यस क्षेत्रमा रहेको फुलबारीे उचित ब्यवस्थापन नहुदा दाताको लगानी बालुवामा पानी हाले जस्तै भएको छ ।
काजी अमर सिंह थापाले वि.स १८६३ मा निर्माण गरेको ऐतिहासिक महत्व रहेको मन्दिर र फुलवारी निमार्ण गराएका थिए । अहिले भने मन्दिर र त्यस क्षेत्रमा निमार्ण गरिएको फुलवारी अलपत्र अवस्थामा रहेको छ ।
विश्व बैङककको ६० प्रतिशत ऋण र ४० प्रतिशत अनुदानमा पुरातात्वीक महत्व कायम गर्ने गरी तानसेन नगरपालिकाको प्राविधिक रेखदेखमा निर्माणका लागि विश्व बैंकसँग नगरपालिकाले २०७० सालमा सम्झौता गरेको थियो । नगरपालिकाले १८ महिनामा काम सम्पन्न गर्ने गरी निर्माण कम्पनीसंग सम्झौता गरेको थियो तर काम सम्पन्न नहुदै मन्दिर खण्डहरमा परिणत हुन पुगेको छ ।
तानसेन नगरपालिकाले भने जिर्णोद्धारको लागी टेण्डर आव्हान भैसकेको र छिट्टै काम सुरुहुने नगर प्रमुख सन्तोषलाल श्रेष्ठको भनाई छ ।
मन्दिरको पालि खसेर मन्दिरको साइड त्रिपालले छोपीएर राखिएको छ भने फुलबारी परिसरमा निर्मित संरचना अहिले वेवारिसे अवस्थामा छन् । काठका खम्बा फुटेका छन् । शौचालय पनि अस्तव्यस्त छ । छाना विनाका पौवा निर्माण हुदा पौवा खण्डहर बन्न पुगेका छन् भने जङगलको रुपमा परिर्वतन भएको फूलबारीमा जानै नसक्ने अबस्था छ ।
पुन निर्माण र जिर्णोद्धारको जिम्मा पाएको प्राकृतीक निर्माण सेवा कम्पनीले मापदण्ड भन्दा बाहिर गएर काम गर्दा मन्दिर पाँच बर्षमै भत्किएको स्थानियको भनाई छ ।
पुरातात्वीक महत्वलाइ नबिगार्ने गरी पुननिर्माण र जिर्णोद्धार गर्ने सम्झौता भए पनी निर्माण कम्पनीको लापर्वाही र नगरपालिकाको उदासिनताको कारण पछी आधुनिक स्वरुप र शैलिमा मन्दिर र फुलबारी परिसरको निर्माण गरेको भन्दै स्थानियले त्यती बेलानै आवाज उठाएका बखतमा नगरपालिकाले सम्झौता बमोजिमनै काम भएको भन्दै ठेकेदार कम्पनीलाई भुक्तानी गरेको छ । जिर्णोद्धार गर्ने जिम्मेवारी पाएको निमार्ण कम्पनीले सम्झौता अनुरुप काम नगर्दा निमार्ण भएका स्थाई संरचनाहरु खण्डहरमा परिणत हुन पुगेको हो ।
२०० बर्ष भन्दा पुरानो ऐतिहासिक मन्दिर खण्डहर हुने अबस्थामा पुगेको छ । यस्ता ऐतिहासिक सांस्कृतिक सम्पदाको संरक्षणमा सम्बन्धित निकाय, स्थानिय सरकार र राज्यको बेलैमा ध्यान पुग्न जरुरी छ ।













