तस्वीर सौजन्य : नाम्लो इभेन्ट्स
काठमाडौं मिस नेपाल नर्थ अमेरिका २०२२ को १४ जना प्रतिस्पर्धीलाई हराएर प्रत्युषा बोहराले जितेकी छन् । आन्या थापा फस्ट रनरअप र दिव्या पन्त सेकेन्ड रनरअप घोषित भए ।
नेपाली समयानुसार गएराति न्युयोर्कमा भएको फिनालेमा अमेरिकाको १४ राज्यमा बसोबास गर्ने सुन्दरीले भाग लिएका थिए ।
यसपटक पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठ कोरियोग्राफर थिइन् । अभिनेत्री स्वस्तिमा खड्का, अभिनेता सञ्जोग कोइराला, नीति शाह, जोली अमात्य, राजु श्रेष्ठ, तेन्जिङ पाल्देन र उज्वल सिंह निर्णायक हुनुहुन्थ्यो । फिनालेमा मिस नेपाल प्रियंकारानी जोशी र हिडन ट्रेजरका निर्देशक सुवर्ण क्षेत्री पनि उपस्थित भएका थिए ।
मिस नेपालको सबै मापदण्ड पूरा भए मिस नेपाल नर्थ अमेरिकाकी विजेता प्रत्युषाले सिधै मिस नेपालको अन्तिम प्रतिस्पर्धामा भाग लिन पाउनेछिन् । उनी मापदण्डअनुसार योग्य छिन् वा छैनन् भन्नेबारे हिडन ट्रेजरले जानकारी गराउने छ ।
यसैवर्ष हिडन ट्रेजर र मिस नेपाल उत्तर अमेरिकाबीच भएको सम्झौताअनुसार मिस नेपाल उत्तर अमेरिकाको विजेताले मापदण्डमा योग्य भएपछि मिस नेपालमा भाग लिन पाउने भएका हो ।













