‘सुरुमा कोरोना भाइरसको महामारीलाई कारण देखाउँदै तातोपानी र रसुवागढी नाकाहुँदै नेपाली वस्तु चीन पठाउन रोक लगाइएको थियो। त्यसपछि यी दुई नाकाबाट नेपाली वस्तु चीन तर्फ गएको छैन,’भन्सार विभागका निर्देशक पुण्य विक्रम खड्काले बताउनुभयो।
रसुवागढी र तातोपानी नाका एकतर्फ सञ्चालन भइरहेको निकै लामो समय भयो। २०७६ चैत ११ गते कोरोन नियन्त्रण गर्ने भन्दै नेपाल सरकारले लकडाउन गरेयता यी दुई नाकाबाट नेपालले सामान पठाउन सकेको छैन।
भन्सार विभागको तथ्याङ्कअनुसार पछिल्लो २८ महिनामा (२०७६ चैतदेखि २०७९ असार मसान्तसम्म) तातोपानी र रसुवागढी नाकाबाट ६८ अर्ब २२ करोड ५४ लाख ८ हजार रुपैयाँको वस्तु चीनबाट नेपाल आएको छ भने सो अवधिमा नेपालबाट ती नाका हुँदै एक रुपैयाँको वस्तु पनि चीनतर्फ गएको छैन।
लामो समयदेखि रसुवागढी र तातोपानी नाकाबाट चीनले आफ्नो भूमिमा नेपाली वस्तु भित्रिन दिएको छैन तर चीनबाट नेपाल भित्रने वस्तुमा भने कुनै रोकतोक गरेको छैन। चीनको यो रवैयाले गर्दा नेपाली व्यावसायी मर्कामा पर्दै आएका छन्। उनीहरू अन्य बाटो प्रयोग गरी वस्तुहरू चीन पठाउन बाध्य भएका छन्।
‘रसुवागढी र तातोपानी नाका खुला गर्नुपर्यो भनेर नेपाली व्यावसायीहरुले पटक पटक माग गरे पनि खुलाउन सकिएको छैन, व्यावसायीहरुले अन्य बाटो प्रयोग गरेर वस्तुहरु चीन पठाउँदै आएका निर्देशक खड्काले बताउनुभयो ।
गत आर्थिक वर्ष वर्ष २०७८र७९ मा मात्र रसुवागढी र तातोपानी नाकाबाट ४० अर्ब ६५ करोड २६ लाख ६० हजार रुपैयाँको वस्तु नेपाल आएको छ। रसुवागढीबाट २६ अर्ब ६२ करोड ८९ लाख ४० हजार रुपैयाँ र तातोपानीबाट १४ अर्ब २ करोड ३७ लाख २० हजार रुपैयाँको वस्तु नेपाल आएको देखिन्छ।
आर्थिक वर्ष २०७७र७८ मा रसुवागढीबाट १७ अर्ब १ करोड ४८ लाख ४९ हजार रुपैयाँ र तातोपानीबाट ५ अर्ब ८४ करोड ९१ लाख ८६ हजार रुपैयाँ गरी २२ अर्ब ८६ करोड ४० लाख ३५ हजार रुपैयाँको वस्तु नेपाल आएको थियो ।
आर्थिक वर्ष २०७६र७७ को चैत, वैशाख, जेठ र असार महिनामा रसुवागढीबाट ७ करोड ७८ लाख २१ हजार रुपैयाँ र तातोपानीबाट ४ अर्ब ६३ करोड ८ लाख ९२ हजार रुपैयाँ गरी ४ अर्ब ७० करोड ८७ लाख १३ हजार रुपैयाँको वस्तु नेपाल आएको थियो।













