काठमाडौं- नेपाल प्रहरी प्रधान कार्यालयले प्रहरी नायब उपरीक्षक (डीएसपी) हरुको सरुवाको तयारी थालेको छ ।
उपत्यकाको आकर्षक मानिने प्रहरी बृत्त र पहाडी जिल्लाका प्रहरी प्रमुखको एक वर्षे कार्यकाल पूरा भएपछि सरुवाको तयारी गर्न थालिएको हो ।
नेपाल प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखाले आज (शुक्रबार) केही डीएसपीहरुको सरुवा, जनपद समुहतर्फ बढुवा भएका ३३ र प्राविधिक समुहतर्फ बढुवा भएका ९ डीएसपीहरुको पदस्थापन गर्ने तयारी गरिएको छ ।
उपत्यकाको आकर्षक मानिने प्रहरी बृत्त लैनचौर (सोह्रखुट्टे) मा भेषराज रिजाल, हरि खतिवडा र उद्धवसिंह भाट र दरबारमार्ग बृत्तमा हरि बस्नेत, नारायण अधिकारी, कोपिला चुडाँल र दिप्ती कार्कीको प्रतिस्पर्धा चलिरहेको स्रोतको दाबी रहेको छ ।
महाराजगन्ज बृत्तमा सुवास खड्का, सुगन्ध श्रेष्ठ, राजकुमार श्रेष्ठ लगायतका डीएसपीहरु सरुवाको लागि दौडधुपमा लागेको बुझिएको छ । मालीगाउँ बृत्तमा जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी नरहरी अधिकारीको चर्चा छ ।
बौद्ध, बालाजु, गौशाला, नयाँबानेश्वर, जगाती र सिंहदरवार बृत्तको लागि डीएसपीहरु जागेश्वर भण्डारी, मनोज लामा, मन्जिल मुकारुङ, प्रकाश दाहाल, सुन्दर तिवारी, दीपककुमार राय, प्रेम शाही, दीपक श्रेष्ठ, प्रदिप बहादुर क्षेत्री, दीपक भारती र पुष्पराज मल्ल र नगर प्रहरी कार्यालय भृकुटीमण्डपमा सिआईबीका डीएसपी रोशन खड्काको सरुवा हुने बुझिएको छ ।
स्रोतका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट डीएसपी सन्जिव बाबु खड्काको नाम सिफारिस भएपनि जिल्ला प्रहरी कार्यालय संखुवासभाको लागि नेपाल प्रहरी प्रधान कार्यालयको लेखा शाखाका डीएसपी बिरेन्द्र गोदारको सरुवा हुने पक्कापक्की छ । संखुवासभा नहुने भएपछि डीएसपी खड्कालाई जिल्ला प्रहरी कार्यालय भोजपुर पठाउने तयारी गरिएको हो । भोजपुरको लागि ललितपुर परिसरमा कार्यरत डीएसपी शरत कुमार थापा क्षेत्रीको नाम समेत चर्चामा छ । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत डीएसपी मुकुन्द रिजालको सरुवा हुने बलियो सम्भावना छ ।
काठमाडौं उपत्यकाको बृतमा सरुवा नभए डीएसपी मन्जिल मुकारुङको जिल्ला प्रहरी कार्यालय खोटाङ सरुवा हुने सम्भावना छ । जिल्ला प्रहरी कार्यालय लमजुङको लागि डीएसपी रबिन्द्र पौडेल र गणेश बमले राजनीतिक लबिङ तिब्र पारेको बुझिएको छ । नेपाल प्रहरी प्रधान कार्यालयले भने लामो समयदेखि कर्मचारी प्रशासन शाखामा बसेर संगठनको लागि थुप्रै काम गरेका डीएसपी होमबहादुर पराजुलीलाई पठाउन चाहेको बुझिएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्वतमा बाँकेका डीएसपी मधुसूदन न्यौपानेको सरुवा हुने पक्कापक्की देखिएको छ । कालीकोटका डीएसपी सिद्धराज न्यौपानेलाई पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड को पिएसओ मा सरुवा गरिएपछि उक्त जिल्ला पनि नेतृत्वबिहिन छ । ईलाका प्रहरी कार्यालय तुल्सिपुर दाङका डीएसपी श्यामु अर्यालको एकवर्षे कार्यकाल पूरा भईसकेको छ । ईलाका प्रहरी कार्यालय सुख्खड कैलालीका डीएसपी लक्ष्मण शाही आफैले सरुवा मागेका छन् ।
डीएसपी सरुवा पश्चात खाली हुने स्थानमा नवनियुक्त ३३ डीएसपीहरूको पदस्थापन हुने छ ।












