इतिहास सधै विजेताहरूले लेख्छन भनिन्छ तर इतिहासको वास्तविक निर्माता ती सिपाहीहरू हुन जसले आफ्नो छातीमा गोली थापेर नयाँ युगको जग बसाल्छन म इतिहासको त्यही एउटा अज्ञात तर इमानदार सिपाही हु जब म आजभन्दा ढाई तीन दशक अगाडिको नेपाल सम्झिन्छु मेरो मानसपटलमा एउटा फरक नेपालको चित्र आउछ त्यो नेपाल जहा विभेदको पहाड यति अग्लो थियो कि गरिब, दलित, जनजाति, महिला र उत्पीडितहरूका लागि श्वास फेर्न पनि कठिन थियो राज्यसत्ता मुठ्ठीभर सामन्तहरूको कब्जामा थियो र दूरदराजका गाउँहरू अन्धकार र भोकको चपेटामा थिए
त्यही अन्धकारलाई चिर्नका लागि एउटा राको बलेको थियो नेकपा (माओवादी) को नेतृत्वमा सुरु भएको दीर्घकालीन जनयुद्ध
जब मैले घरको न्यानो ओछ्यान, आमाको ममतामयी काख र व्यक्तिगत भविष्यका सारा रंगीन सपनाहरूलाई तिलाञ्जली दिएर क्रान्तिको बाटो रोजे मेरो उमेर केवल जोस र रगतले उम्लिएको बेला थियो पार्टीले मलाई नया नाम दियो बादल त्यो नाम केवल एउटा परिचय थिएन त्यो त सामन्तवादको छातीमा गर्जने र अन्यायको कुरुप धर्तीमा परिवर्तनको वर्षा गराउने एउटा संकल्प थियो।
घरको दैलो नाघेर जङ्गलको बाटो समात्दा मभित्र म भन्ने भावना कतै जीवित थिएन। जनमुक्ति सेना (PLA) को एउटा सिपाही बन्नुको अर्थ आफ्नो व्यक्तिगत अस्तित्वलाई सामूहिक हितको महासागरमा विसर्जन गर्नु थियो हामीले बन्दुक बोक्यौ तर त्यो कसैको हत्या गर्नका लागि होइन बरु युगौदेखि भइरहेको हत्या र शोषणको श्रृंखलालाई सदाका लागि अन्त्य गर्नका लागि थियो भोकभोकै जङ्गलका कन्दमूल खादा जाडो महिनामा नाङ्गो डाँडामा एउटा पातलो प्लास्टिक ओढेर रात काटदा र आफ्नै आखा अगाडि आफ्ना अनन्य मित्र सहयोद्धा कमरेडहरूको रगतले लतपतिएको शवलाई आफ्नै हातले खाल्डो खनेर पुर्दा पनि हाम्रो अनुहारमा निराशा थिएन किन? किनभने हामीभित्र एउटा प्रचण्ड विश्वास थियो हाम्रो बलिदानले यो देशका करोडौ गरिब र उत्पीडितहरूको अनुहारमा हासो ल्याउनेछ।
त्यो युग म बाट हामी मा रूपान्तरण हुने एउटा ऐतिहासिक र सुनौलो युग थियो हामी व्यक्तिगत स्वार्थ, सम्पत्ति, परिवार र सुखभन्दा धेरै माथि उठेर एउटा समतामूलक समाजको परिकल्पनामा बाँचेका थियौ सामूहिकताको त्यो उच्च चेतना आज पनि मेरो जीवनको सबैभन्दा ठूलो सम्पत्ति हो।
क्रान्तिको मैदानमा जादा हामीलाई एउटै कुरा सिकाइएको थियो यो लडाइ कसैको व्यक्तिगत सनक वा महत्त्वाकांक्षा होइन यो वर्गीय लडाइँ हो हामीले बुझेका थियौ कि समाजमा दुईवटा वर्ग छन एउटा शोषक वर्ग र अर्को शोषकको पाउमुनि पिसिएको शोषित वर्ग म आफै त्यही शोषित वर्गको प्रतिनिधित्व गर्थे त्यसैले त्यो सङ्घर्ष मेरो आफ्नै मुक्तिको सङ्घर्ष पनि थियो तर मेरो मुक्ति तबसम्म सम्भव थिएन जबसम्म मेरो समाज मेरो वर्ग मुक्त हुँदैनथ्यो
हामीले कहिल्यै सोचेनौ कि क्रान्ति सफल भएपछि म मन्त्री बन्नेछु म महलमा बस्नेछु वा मेरो बैंक ब्यालेन्स हुनेछ हाम्रा कमाण्डरहरूले राजनीतिक कक्षामा पढाउँदा भन्थे क्रान्तिकारीहरू त समाजका माटे डाँडा हुन जसले आफू खिइएर अरूलाई बाटो दिन्छन हामी त्यही माटे डाँडा बन्न तयार भयौ
हामीले लडेका ती मोर्चाहरू चाहे त्यो सिन्धुलीगढी होस होलेरी होस वा बेनी र पिलीका भीषण भिडन्तहरू हुन प्रत्येक मोर्चामा मृत्यु हाम्रो अगाडि नाचिरहेको हुन्थ्यो तर हामी मृत्युसँग डराएनौ किनकि हामीलाई थाहा थियो कि यदि हामी रोक्रियौ भने इतिहास रोकिनेछ हामी भन्दा पनि हाम्रा लागि हाम्रा आउने पुस्ताका लागि त्यो गिट्टी कुटने मजदुरका लागि त्यो हलो जोत्ने किसानका लागि र त्यो हलिया र कमैयाका लागि हामीले आफ्नो रगतको खोलो बगाएका थियौ सामूहिकताको त्यो जग यति बलियो थियो कि एउटा कमरेडलाई गोली लाग्दा अर्को कमरेडले आफ्नो ज्यान जोखिममा राखेर उसलाई बचाउन अगाडि बढ्दथ्यो स्वार्थको सानो अंश पनि नभएको त्यो पवित्र सङघर्ष नै हाम्रो वास्तविक पुजी थियो।
इतिहासको गति कहिल्यै पनि एउटै रेखामा चल्दैन यो बाङ्गो टिङ्गो, घुमाउरो र चुनौतीपूर्ण हुन्छ भन्ने कुरा मैले समयको थपेडीहरूसँगै बुझ्दै गए १० वर्षको भीषण जनयुद्धले देशको जग हल्लाइदियो जुन राजतन्त्रलाई कसैले छुन सम्म सक्दैनथ्यो त्यसको जग जनमुक्ति सेनाको बन्दुकको नालले हल्लाई दियो तर क्रान्ति केवल बन्दुकको बलमा मात्रै सफल हुदैन यसका लागि व्यापक जनसहभागिता र राजनीतिक रणनीतिको पनि आवश्यकता पर्छ
त्यही रणनीतिक मोडमा देश २०६२/६३ को ऐतिहासिक जनआन्दोलनमा प्रवेश गर्यो हिजो जङ्गलमा लडिरहेका हामी र सडकमा आन्दोलन गरिरहेका संसद्वादी दलहरूबीच एउटा बिन्दुमा सहमति भयो निरंकुश राजतन्त्रको अन्त्य र लोकतान्त्रिक गणतन्त्रको स्थापना
शान्ति प्रक्रियामा आउदा मेरो मनमा एकातिर खुसी थियो भने अर्कोतिर एउटा अज्ञात डर पनि थियो खुसी यस अर्थमा कि अब देशमा रगत बग्न रोकिनेछ र हामीले उठाएका एजेन्डाहरू संघीयता, समावेशिता, धर्मनिरपेक्षता र नया संविधान राजनीतिक टेबलबाटै संस्थागत हुनेछन तर डर यस कुराको थियो कि कतै संसदीय राजनीतिको फोहोर नालीमा पसेर हाम्रा क्रान्तिकारी एजेन्डाहरू र हाम्रा नेताहरूको चरित्र स्खलित त हुने होइन?
दुर्भाग्यवश मेरो त्यो डर आज आएर सत्य साबित भएको छ शान्ति प्रक्रियापछि जब हामी क्यान्टनमेन्ट (शिविर) मा थुनियौ त्यहाबाटै क्रान्तिको एउटा अध्याय समाप्त भयो र सम्झौताको राजनीति सुरु भयो सेना समायोजनका नाममा हाम्रा सपनाहरूलाई कौडीको भाउमा साटियो धेरै कमरेडहरू अयोग्य को विल्ला भिरेर हातमा केही हजार रुपैयाँ थामेर समाजमा अपमानित हुनुपर्यो हिजोका हाम्रा कमाण्डरहरू सत्ताको खेलमा लागे उनीहरूका लागि क्यान्टनमेन्टका सिपाहीहरू केवल सत्तामा पुग्ने भर्याङ मात्र बने तैपनि हामीले चित्त बुझायौ कि देशमा कम्तीमा नया संविधान आयो, गणतन्त्र आयो र शताब्दीयौ पुरानो सामन्ती राजतन्त्रको अन्त्य भयो । समय बदलियो र समयसगै पुस्ता पनि बदलियो आज २०८३ (२०२६) सालमा उभिएर हेर्दा म समाजमा एउटा नयाँ प्रकारको हलचल देखिरहेको छु यो हलचल हिजो हामीले गरेको जस्तो हतियारबद्ध आन्दोलन होइन यो आजको नयाँ पुस्ता जसलाई समाजशास्त्रमा जेन जी (Gen Z) भनिन्छ उनीहरूको डिजिटल र वैचारिक विद्रोह हो।
यो पुस्ता इन्टरनेट, स्मार्टफोन र सामाजिक सञ्जालको डिजिटल पर्यावरणमा हुर्किएको पुस्ता हो उनीहरूले जनयुद्धको विभिषिका देखेका छैनन उनीहरूले राजाको प्रत्यक्ष शासन भोगेका छैनन उनीहरूले केवल हिजोका क्रान्तिकारी नेताहरूको आश्वासन, भाषण र आजको कुरुप राजनीतिक विकृति मात्र देखेका छन
मैले निकै गम्भीरतापूर्वक यो पुस्तालाई नियालिरहेको छु हिजो हामीले अन्यायविरुद्ध आवाज उठाउन जनादेश र दिशाबोध जस्ता भूमिगत पत्रिकाहरू छाप्थ्यौ गाउँ गाउँमा सांस्कृतिक टोली लिएर पुग्थ्यौ आजको यो नयाँ पुस्ता टिकटक, फेसबुक, इन्स्टाग्राम र युट्युबको माध्यमबाट राज्यसत्तालाई प्रश्न गरिरहेको छ उनीहरूको विद्रोह ह्यासट्याग (#) मा व्यक्त हुन्छ उनीहरूको आक्रोश र्याप संगीत, डिजिटल आर्ट र सडकका शान्तिपूर्ण फ्ल्यास मब मा देखिन्छ।
सुरुसुरुमा मलाई लाग्थ्यो यो पुस्ता त केवल रिल र भिडियोमा हराउने देशप्रति चासो नराख्ने सतही पुस्ता हो तर होइन म गलत रहेछु जब देशमा ठूला-ठूला भ्रष्टाचारका काण्डहरू बाहिर आउछन जब राज्यले नागरिकमाथि अन्याय गर्छ तब यही जेन जी पुस्ता नै सबैभन्दा पहिले सडकमा ओर्लिन्छ उनीहरू राजनीतिक दलका अन्धभक्त कार्यकर्ता होइनन उनीहरू कुनै नेताको दौराको फेर समातेर जिन्दावाद र मुर्दावाद भन्दैनन उनीहरू त सिधा एउटै प्रश्न सोध्छन हाम्रो कर कहा गयो ? हाम्रो भविष्य कहा छ? हामीले यो देशमा किन बस्ने?
यो नयाँ पुस्ताको विद्रोहको रूप फरक होला तर यसको अन्तर्य र हाम्रो जनयुद्धको अन्तर्य एउटै हो असमानता, अन्याय र स्थापित व्यवस्थाको बेथितिविरुद्धको आक्रोश उनीहरू पनि परिवर्तन चाहन्छन उनीहरू पनि न्याय चाहन्छन फरक यति मात्र हो कि हामीले परिवर्तनका लागि बन्दुक समात्यौ उनीहरू प्रविधिको शक्ति प्रयोग गरिरहेका छन।
अब म मेरो जीवनको सबैभन्दा पीडादायी र अनुत्तरित प्रश्नको सामना गर्न चाहन्छु जसले मलाई हरेक रात सुत्न दिदैन के मैले हामीले देखेका सपनाहरू पूरा भए त…?
यो प्रश्नको उत्तर खोज्न मैले आफ्नो छातीमा हात राखेर आफ्ना सहिद कमरेडहरूको अनुहार सम्झदै गम्भीर आत्मसमीक्षा गर्नुपर्ने हुन्छ यो उत्तर न त पूर्ण रूपमा हो मा आउँछ, न त पूर्ण रूपमा 'होइन' मा। यो एउटा गम्भीर दोसाधमा उभिएको छ।
क) सपनाहरूको त्यो अंश जुन पूरा भयो:
यदि कसैले जनयुद्ध र जनआन्दोलनले यो देशमा केही पनि गरेन भन्छ भने त्यो इतिहासप्रतिको बेइमानी हुनेछ हामीले बगाएको रगतको जगमा देशले ठूला राजनीतिक उपलब्धिहरू हासिल गरेको छ।
राजतन्त्रको अन्त्य र गणतन्त्रको उदय: राजाको कोखबाट जन्मेको व्यक्ति मात्रै देशको शासक बन्ने सामन्ती प्रथाको अन्त्य भयो आज एउटा सामान्य गरिब किसानको छोरा वा छोरी देशको सर्वोच्च पद (राष्ट्रपति) सम्म पुग्न सक्ने राजनीतिक वातावरण बन्यो
समावेशिता र पहिचान: हिजो राज्यको मूलधारबाट पूर्ण रूपमा बहिष्कृत गरिएका महिला, दलित, आदिवासी जनजाति, मधेसी र पिछडिएका क्षेत्रका मानिसहरूले आज संसद, सेना, प्रहरी र निजामती सेवामा आफ्नो उपस्थिति सुनिश्चित गरेका छन।
संघीयता र स्थानीय सरकार: सिंहदरबारमा केन्द्रित रहेको अधिकार आज गाउँ गाउँका स्थानीय सरकारसम्म पुगेको छ विकास र निर्णय प्रक्रियामा स्थानीय जनताको सहभागिता बढेको छ यी उपलब्धिहरू कुनै दानमा पाइएका होइनन यी उपलब्धिहरू त हाम्रा हजारौ सहिदहरूको बलिदान, घाइतेहरूको रगत र बेपत्ता योद्धाहरूको परिवारको आसुको जगमा उभिएका हुन।
तर जब म क्रान्तिको मूल मर्म अर्थात आर्थिक र सामाजिक मुक्ति को कसीमा आजको नेपाललाई जोख्छु तब म गहिरो निराशाको खाडलमा भासिन्छु हामीले व्यवस्था त बदल्यौ तर जनताको अवस्था बदल्न सकेनौ हामीले सामन्तवादको राजनीतिक संरचना त भत्कायौ तर समाजमा त्योभन्दा पनि खतरनाक दलाल पुजीवाद र नव सामन्तवाद को जन्म भयो।
नेतृत्वको स्खलन र सर्वहारा संस्कृतिमाथि प्रहार: हिजो जनयुद्धको कमाण्ड गर्दा हाम्रा नेताहरू सर्वहारा वर्गको कुरा गर्थे उनीहरू भन्थे हामी जनताको सुखमा सुखी र दुखमा दुःखी हुनेछौ तर आज जब उनीहरू सत्ताको स्वादमा लिप्त भए उनीहरूको जीवनशैली हिजोका राणा र राजाहरूको भन्दा कम छैन हिजोका क्रान्तिकारीहरू आज महलमा बस्छन चिल्ला गाडीमा गुडछन र दलाल पुजीपतिहरूसग मित्रता गास्छन तर हिजो उनीहरूलाई नै जोगाउन आफ्नो ज्यान बाजी लगाउने घाइते सिपाहीहरू आज आफ्नो शरीरमा रहेको गोलीको छर्रा निकाल्ने पैसा नपाएर छटपटिइरहेका छन यो भन्दा ठूलो गद्दारी इतिहासमा अर्को के हुन सक्छ?
युवा जनशक्तिको लामबद्ध पलायन: हामीले सोचेका थियौ कि क्रान्तिपछि देशभित्रै उद्योगहरू खुल्नेछन कृषिमा क्रान्ति हुनेछ र प्रत्येक नेपालीले आफ्नै माटोमा पसिना बगाएर आत्मसम्मानको जीवन जिउन पाउनेछ तर आज के भइरहेको छ? दैनिक हजारौको संख्यामा हाम्रा उर्जावान युवाहरू खाडीको ५० डिग्रीको गर्मीमा रगत पसिना बगाउन र मलेसियाका जंगलहरूमा श्रम बेच्न बाध्य छन देशको अर्थतन्त्र विप्रेषण (रेमिट्यान्स) को जगमा टिकेको छ र त्यही रेमिट्यान्स पठाउने युवाहरूको शव बाकसमा बन्द भएर त्रिभुवन विमानस्थलमा ओर्लिदा यो राज्यसत्ता उत्सव मनाइरहेको हुन्छ के हामीले यही दिन देख्नका लागि क्रान्ति गरेका थियौ ?
शिक्षा र स्वास्थ्यको व्यापारीकरण हामीले नारा लगाएका थियौ शिक्षा र स्वास्थ्य नागरिकको मौलिक अधिकार हो यसको जिम्मा राज्यले लिनुपर्छ तर आज शिक्षा र स्वास्थ्य यति महगो व्यापार बनेको छ कि एउटा गरिबको छोराले डाक्टर वा इन्जिनियर बन्ने सपना देख्नु पनि अपराध जस्तै भएको छ पैसा नहुनेहरू अस्पतालको बार्दलीमा उपचार नपाएर मर्नुपर्ने स्थिति आज पनि जस्ताको तस्तै छ।
त्यसैले एउटा इमानदार पूर्व जनमुक्ति सेनाको सिपाहीको हैसियतले म नलुकाइकन भन्छु मेरा राजनीतिक सपनाहरू आंशिक रूपमा पूरा भए पनि आर्थिक, सामाजिक र वर्गीय न्यायका सपनाहरू आज कुरुप ढंगले अधुरा र अपूर्ण छन।
आज धेरै मानिसहरू अन्योलमा छन जेन जी का युवाहरू देशको यो अवस्था देखेर आक्रोशित छन र पुराना पुस्ताका मानिसहरू निराश छन सबैको एउटै साझा प्रश्न छ अब देश कसरी बन्छ? परिवर्तनका लागि पहिलो कुरा के हो?
मैले मेरो जीवनको आधा हिस्सा सङघर्ष र राजनीतिमा बिताउदा बुझेको कुरा के हो भने देश परिवर्तनका लागि सबैभन्दा पहिलो र अनिवार्य कुरा राजनीतिक इमानदारिता नैतिक नेतृत्व र व्यवस्थापकीय शुद्धीकरण हो।
कुनै पनि देश केवल व्यवस्था खराब भएर भत्किदैन व्यवस्था चलाउनेहरूको नियत खराब भएर भत्किन्छ हामीले संसारकै उत्कृष्ट भनिएको लोकतान्त्रिक र समावेशी संविधान त बनायौ तर त्यसलाई कार्यान्वयन गर्ने नेतृत्वको सोच अझै पनि मध्ययुगीन, स्वार्थी र नातावाद कृपावादमा लिप्त छ देश परिवर्तनका लागि सबैभन्दा पहिले निम्नलिखित तीनवटा क्षेत्रमा आमूल प्रहार (Radical Restructuring) हुनुपर्छ।
नेपालको सबैभन्दा ठूलो शत्रु आज वैदेशिक हस्तक्षेप वा स्रोतको कमी होइन बल्कि देशभित्रै जरा गाडेर बसेको संस्थागत भ्रष्टाचार हो जबसम्म राज्यको माथिल्लो तहदेखि तल्लो तहसम्म रहेको भ्रष्टाचारको यो सञ्जाल (Nexus) लाई तोडिदैन तबसम्म जतिसुकै राम्रो नीति ल्याए पनि त्यसले नागरिकको जीवनलाई छुदैन भ्रष्टाचार केवल पैसा खानु मात्र होइन न्यायको हत्या गर्नु र जनताको विश्वासको खिल्ली उडाउनु पनि हो त्यसैले परिवर्तनको पहिलो सर्त नै भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता (Zero Tolerance) र भ्रष्टाचारीहरूलाई कठोर कानुनी कारबाही हुनु हो।
हाम्रो देश बिग्रिनुको मुख्य कारण प्रत्येक सरकारी निकाय विश्वविद्यालय अदालत र संस्थानहरूमा गरिने राजनीतिक भागबण्डा हो आफ्नो मान्छे लाई भर्ती गर्ने र योग्य मान्छे लाई पाखा लगाउने जुन संस्कृति छ त्यसले देशका सारा संस्थाहरूलाई सुकाएर कंकाल बनाइदिएको छ जबसम्म योग्यता, क्षमता र इमानदारिताको कदर हुदैन तबसम्म कुनै पनि प्रणालीले काम गर्न सक्दैन हामीलाई राजनीतिक दलका दासहरू होइन देश विकास गर्ने विज्ञ र इमानदार प्रशासकहरूको आवश्यकता छ।
हामी जबसम्म सियोदेखि गाडीसम्म र चामलदेखि तरकारीसम्म आयातमा निर्भर रहन्छौ तबसम्म हाम्रो राष्ट्रिय सार्वभौमिकता र आर्थिक स्वतन्त्रता केवल कागजमा सीमित रहनेछ देश परिवर्तनका लागि पहिलो प्राथमिकता देशभित्रै रोजगारीको सिर्जना गर्नु हो हाम्रा नदीहरूबाट बिजुली निकाल्ने हाम्रा बाझो जमिनहरूमा कृषि क्रान्ति गर्ने र साना तथा मझौला उद्योगहरूलाई प्रोत्साहन गरेर युवाहरूलाई देशभित्रै श्रम गर्ने वातावरण बनाउनु नै वास्तविक परिवर्तनको प्रस्थानविन्दु हो।
आजको समाजमा एउटा गम्भीर रोग लागेको छ— त्यो हो चरम व्यक्तिवाद हिजो हामीले म भन्दा पनि हाम्रो लागि सङ्घर्ष गरेका थियौ तर आजको पुजीवादी उपभोक्तावादी संस्कृतिले मानिसलाई यति स्वार्थी बनाइदिएको छ कि ऊ केवल आफ्नो करियर आफ्नो बैंक ब्यालेन्स र आफ्नो सुखभन्दा बाहिर केही पनि देख्दैन।
हामीले बुझ्न जरुरी छ कि एउटा व्यक्ति तबसम्म सुरक्षित र सुखी हुन सक्दैन जबसम्म उसको समाज असुरक्षित र गरिब रहन्छ यदि समाजमा अशान्ति छ यदि समाजमा अन्याय छ भने तपाईको महल पनि सुरक्षित रहने छैन हामीले जनयुद्धमा सिकेको सबैभन्दा ठूलो पाठ यही नै हो कि वास्तविक खुसी र शक्ति सामूहिकतामा हुन्छ।
आजका युवाहरू (Gen Z) मा व्यक्तिगत रूपमा अगाडि बढने तीव्र इच्छा छ जुन सकारात्मक हो तर उनीहरूले यो पनि बुझ्नुपर्छ कि व्यक्तिगत सफलताले मात्रै देश बदलिदैन देश बदल्नका लागि सामूहिक चेतना (Collective Consciousness) को आवश्यकता पर्छ हामीले हिजो बन्दुकको मोर्चामा जुन सामूर्हिक एकता देखाएका थियौ आज देश निर्माणको मोर्चामा भ्रष्टाचारविरुद्धको मोर्चामा र सुशासनको मोर्चामा त्यस्तै सामूहिकताको आवश्यकता छ जबसम्म म को भावना हामी मा रूपान्तरण हुदैन तबसम्म कुनै पनि दिगो परिवर्तन सम्भव छैन।
मेरो यो लेखको मूल उद्देश्य केवल अतीतको रोदन होइन बरु वर्तमानको मूल्यांकन र भविष्यको मार्गचित्र कोर्नु हो म आजको यो नया पुस्तासग सिधा संवाद गर्न चाहन्छु जो व्यवस्था सग निराश भएर देश छोडने सपना देखिरहेका छन
युवा मित्रहरू
तपाईहरूको आक्रोश जायज छ तपाईहरूले यो देशका नेताहरूमा जुन पाखण्डपन देख्नुभएको छ त्यसप्रति तपाईहरूको घृणा स्वाभाविक छ तर म तपाईहरूलाई एउटा कुरा स्मरण गराउन चाहन्छु आज तपाईहरूले जुन स्वतन्त्रताका साथ सामाजिक सञ्जालमा नेताहरूलाई गाली गरिरहनुभएको छ जुन स्वतन्त्रताका साथ सडकमा प्लेकार्ड बोकेर सरकारलाई चुनौती दिइरहनुभएको छ त्यो स्वतन्त्रता सजिलै प्राप्त भएको होइन
हिजो राजाको शासनकालमा एउटा पम्फ्लेट बाडदा वा एउटा शब्द बोल्दा जेल जानुपर्थ्यो चरम यातना भोग्नुपर्थ्यो र कतिपय अवस्थामा ज्यानै गुमाउनुपर्थ्यो आज तपाईहरूले उपभोग गरिरहनुभएको यो लोकतान्त्रिक स्पेस (Democratic Space) को जगमा हिजो हजारौ म जस्तै बादल हरूले आफ्नो बैस आफ्नो रगत र आफ्ना सपनाहरू बगाएका छन हामीले आफ्नो भागको लडाइँ लड्यौ र यो व्यवस्था ल्याएका हौ व्यवस्था ल्याउने काम हाम्रो थियो तर यो व्यवस्थालाई सुदृढ बनाउने यस भित्रका फोहोरहरूलाई सफा गर्ने र यसलाई सुन्दर देशमा रूपान्तरण गर्ने जिम्मेवारी अब तपाईंहरूको काधमा आएको छ।
क्रान्ति कुनै एक विन्दुमा पुगेर टुङ्गिने पूर्णविराम होइन यो त नदी जस्तै निरन्तर बगिरहने प्रक्रिया हो हिजो हाम्रो क्रान्तिको हतियार बन्दुक थियो आज तपाइ हरूको क्रान्तिको हतियार प्रविधि, ज्ञान, विज्ञान र सचेत मत (Vote) हो तपाईंहरूले यो देश छोडेर भाग्ने होइन बरु यही देश भित्रै बसेर यो कुहिएको राजनीतिक प्रणालीलाई सफा गर्न हस्तक्षेप गर्नुपर्छ।
म नवराज बस्याल (बादल) हिजो जनयुद्धको मोर्चामा जति दृढ र अविचलित थिए आज जीवनको यो पाको उमेरमा आइपुग्दा पनि यो देशप्रतिको मेरो चिन्ता मेरो प्रेम र मेरो क्रान्तिकारी चेतना उत्तिकै प्रगाढ र जीवन्त छ मलाई मेरो विगतप्रति कुनै पश्चात्ताप छैन हामीले सामूहिक स्वार्थका लागि लडेको त्यो लडाइ व्यर्थ गएको छैन त्यसले समाजमा चेतनाको त्यो आधीबेहरी ल्यायो जसको कारण आज एउटा सामान्य नागरिकले पनि राज्यलाई प्रश्न गर्ने हिम्मत राख्छ
हो हाम्रा सपनाहरू अधुरा छन हो हाम्रा नेताहरूले गद्दारी गरे हो व्यवस्थामा अझै पनि कुरुपता छ तर इतिहास साक्षी छ कुनै पनि क्रान्ति एकै पटकमा पूर्ण हुदैन फ्रान्सेली क्रान्ति होस वा रुसी क्रान्ति इतिहास सधै उतारचढावबाटै गुज्रिएको छ।
मलाई आजका जेन जी युवाहरूको आखामा त्यो आक्रोश देख्दा खुसी लाग्छ किनकि आक्रोश हुनुको अर्थ परिवर्तनको भोक अझै मरेको छैन भन्ने हो हिजो हामीले बालेको क्रान्तिको राको आज नया पुस्ताको हातमा पुगेको छ रूप फरक होला शैली फरक होला मोर्चा फरक होला तर न्याय समानता समृद्धि र मानवीय गरिमाको लडाइ अझै जारी छ र यो सधै जारी रहनेछ।
म आजको नया विद्रोही पुस्ता र सत्ताको कुर्सीमा बस्नेहरू दुवैलाई एउटा गम्भीर अपिल गर्न चाहन्छु परिवर्तनको जोस हुनु र क्रान्तिको नारा लगाउनु राम्रो कुरा हो तर परिवर्तन गर्ने नाममा हामीले चाल्ने प्रत्येक कदमले यो देशका आम जनतालाई कस्तो असर पारिरहेको छ भन्ने कुरामा हामी सधै सचेत हुनुपर्छ।
हिजो हामीले जनयुद्ध लडदा होस वा आजका युवाहरूले सडक आन्दोलन र जेन जी विद्रोह गर्दा होस यदि हाम्रा गतिविधिले तिनै गरिब जनतालाई सास्ती दिन्छ दिनभरि कमाएर बेलुका खाने मजदुरको चुल्हो बन्द गराउछ वा बिरामी बोकेको एम्बुलेन्स सडकमा रोकिदिन्छ भने त्यस्तो विद्रोहको औचित्यमाथि प्रश्न उठछ हामीले बुझ्नुपर्छ कि परिवर्तन जनताका लागि गर्ने हो जनतालाई दुःख दिएर वा उनीहरूलाई बन्धक बनाएर देश बदलिदैन जोस र आवेगमा होश गुमाउनु हुदैन हाम्रो सङघर्ष जनताका लागि सहयोगी हुनुपर्छ उनीहरूको सास्तीको कारण बन्नु हुदैन
योसगै अर्को तीतो सत्य के हो भने चाहे त्यो हिजो बन्दुकको बलमा आएको शक्ति होस वा आज भोट र प्रविधिको बलमा पाएको शक्ति कसैले पनि शक्तिको घमण्ड गर्नु हुदैन इतिहास साक्षी छ शक्तिको अहंकारले ठूला ठूला साम्राज्यहरूलाई त धुलोमा मिलाइदियो भने आजका शासक र नेताहरू त कुन छारो हुन् र हिजो हाम्रै कमाण्डरहरू जनताको काधमा चढेर सत्तामा पुगे तर आज उनीहरूमा शक्तिको यस्तो कुरुप घमण्ड पलाएको छ कि उनीहरू आफूलाई देवता र जनतालाई रैती ठान्न थालेका छन । लोकतन्त्र र क्रान्तिको पहिलो नियम नै जनताप्रति उत्तरदायी हुनु हो जनता जनार्दन हुन उनीहरूले सोधेका प्रत्येक प्रश्नको उनीहरूका प्रत्येक असन्तुष्टिको र उनीहरूका जायज मागहरूको उत्तर दिने कर्तव्य सत्ता र नेतृत्वको हो जनताका प्रश्नहरूबाट भाग्ने उनीहरूलाई दमन गर्ने वा शक्तिको मदमा चूर भएर घमण्ड देखाउने नेतृत्व ढिलो चाँडो इतिहासको फोहोरको टोकरीमा फालिन्छ
त्यसैले म मेरो जीवनको यो लामो सङघर्ष को निष्कर्ष का रूपमा भन्न चाहन्छु।
परिवर्तनका लागि जोस बोक्दै गर्दा जनताप्रति दया करुणा र उत्तरदायित्वको होश पनि राखौ र शक्ति हातमा आउदा घमण्ड होइन जनताको अगाडि शिर झुकाउने विनम्रता राखौ तब मात्र हामीले सोचेको वास्तविक न्यायपूर्ण र सुन्दर नेपालको निर्माण सम्भव हुनेछ।
लेखक: पूर्व जनमुक्ति सेना नेपालको सिपाही हुनुहुन्छ ।













