पाल्पा । नेकपा एमाले पाल्पा क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार ठाकुर प्रसाद गैरेले आसन्न निर्वाचनमा आफ्नो पार्टीले ३० हजारभन्दा बढी मत प्राप्त गरेर विजयी हुने दाबी गर्नुभएको छ । चुनावी अभियानलाई तीव्र पार्दै मतदाताको घरदैलोमा पुग्नुभएका गैरेले नेकपा एमालेको राष्ट्रियता र विकासको एजेन्डाका अगाडि अन्य शक्ति कमजोर रहेको बताउनुभयो ।
चुनावी अभियानअन्तर्गत रिब्दीकोट गाउँपालिकाका ठिमुरे, बल्घा, ढुस्टुङ, र लघुवालगायतका क्षेत्रमा पुगेर मतदातासँगको भेटघाटका क्रममा उहाँले यस्तो धारणा राख्नुभएको हो । मतदातासँग आफ्ना आगामी योजनाहरू सुनाउँदै नेता गैरेले विगतको कार्यकालमा सोचेजस्तो काम गर्न नपाएको अनुभव व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “अघिल्लो पटक निर्वाचित भएपछि जनताको सेवा गर्ने दृढ इच्छाशक्ति हुँदाहुँदै पनि राजनीतिक अस्थिरताका कारण पूरा समय काम गर्न पाइएन । यसपटक ती अधुरा कामहरू पूरा गर्ने र पाल्पाको मुहार फेर्ने संकल्पसहित म तपाईंहरूको आँगनमा आएको छु ।”
विशेषगरी रिब्दीकोटको लघुवा क्षेत्रमा कृषि क्षेत्र आधुनिकरीकरणतर्फ उन्मुख भइरहेकोमा खुशी व्यक्त गर्दै उम्मेदवार गैरेले कृषिमा आधारित स्वरोजगारलाई मुख्य प्राथमिकता दिने बताउनुभयो । उहाँले शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकासमा व्यापक नीतिगत सुधारको आवश्यकता रहेको र त्यो केवल नेकपा एमालेबाट मात्र सम्भव रहेको बताउनुभयो ।
रिब्दीकोटका नागरिकहरूले सधैं नेकपा एमालेको सिद्धान्तलाई शिरोपर गर्दै आएको र विकासका लागि एमालेले सधैं सहकार्य गरेको उहाँले बताउनुभयो । कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रमा नीतिगत परिवर्तन गरी गाउँमै रोजगारी सिर्जना गर्ने योजना रहेको निर्वतमान सांसदसमेत रहनुभएका गैरेले बताउनुभयो । उहाँले सचेत जनताले राष्ट्रवादी पार्टी छान्न कुनै कञ्जुस्याइँ नगर्ने बताउनुभयो । “जनताले विकास र राष्ट्रियताको पक्षमा मतदान गर्नेछन्,” उहाँले थप्नुभयो, “नेकपा एमाले नै यो देशको विकास र समृद्धिको एक मात्र भरपर्दो शक्ति हो भन्ने कुरा मतदाताले बुझिसकेका छन् ।”
चुनावी अभियानमा एमालेका स्थानीय नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो । मतदाताहरूले पनि स्थानीय स्तरमा सडक, खानेपानी र कृषिको बजारीकरणमा ध्यान दिन उम्मेदवार गैरेलाई सुझाव दिएका थिए ।












