पाल्पा। नेपाली कांग्रेस पाल्पा क्षेत्र नं. १ का उम्मेदवार सन्दिप रानाले चुनावी अभियान तीव्र बनाउनुभएको छ । आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा रानाले प्रचारप्रसारलाई तिव्र बनाउनु भएको हो । शुक्रबार देखि निस्दी गाउँपालिका केन्द्रित प्रचार प्रसारमा रहनु भएका रानाले शनिवार निस्दी गाउँपालिकाको वडा नं.२, ३, र ५ का बस्तीहरुमा घरदैलो गर्नु भएको हो ।
रानाले निस्दी-२ को सुकेकोट, थाम, पुरान्थर, कोटथर, लिन्दी, भाङ्गबारी, वडा नं. ३ को धार्केसिङ, झिरुवास, क्याङ्गरुङ्ग, भलुवा, वडा नं. ५ को पिपल भञ्ज्याङ्ग, गेझा, वडा नं. ४ को मिल्यालका बस्तीहरुमा पुगेर प्रचारप्रसार गर्नु भएको हो । रानाले टोल बस्तीमा पुगेर मतदातासँग घरदैलो संगै अन्तरक्रिया मार्फत क्षेत्र नं. १ को विकासको लागि अघि सारेको एजेण्डाको विषयमा जानकारी गराउनु भएको थियो ।
क्षेत्र नं. १ मा परिवर्तनको लहर छाएको बताउँदै उहाँले यस पटकको निर्वाचन विगतको भन्दा फरक रहेकाले उत्साहका साथ निर्वाचनमा होमिन आग्रह समेत गर्नुभयो । मतदाता समक्ष आफ्नो धारणा राख्नु हुँदै उहाँले पूर्वाधार विकास संगै युवाहरुलाई स्वरोजगार सृजना गरी देश मै बस्ने वातावरण निर्माण गर्ने बताउनुभयो । उहाँले जनता समक्ष राखेको बाचा पूरा गर्नमा सक्रिय रहने बताउँदै १६५ संसदिय क्षेत्र मध्ये पाल्पा क्षेत्र नं. १ लाई नमुना संसदीय क्षेत्रको रुपमा विकास गर्ने बताउनुभयो । रानाले पाल्पालीको शिर कहिल्यै झुक्न नदिने प्रतिवद्धता जनाउनुभयो । कृषि, पर्यटन र उद्यम विकास गरेर पाल्पाको परिवर्तन हुने बताउदै पर्यटकीय स्थल, गौरव पर्यटन, सांस्कृतिक पर्यटनको रुपमा बिकास गर्ने योजना रहेको बताउनुभयो ।
जबसम्म भौतिक बिकास हुँदैन तबसम्म प्रगति नहुने भन्दै आर्यभञ्ज्याङ् -हुमिन- ताहुँ- बिरकोट- जब्गादी- बेलडाँडा सडक स्तरउन्नति, झडेवा गोठादी रहबास मटेरी ताकातुङ बहादुरपुर जल्पा अर्चले मित्याल झिरुबास बाकामलाङ हुँदै भोताहा सडक स्तरोन्नती, कालीगण्डकी करिडोरलाई विकासको बाणिज्य करिडोरको रुपमा विकास गर्न, आर्यभञ्ज्याङ- रानीबास, दक्षिणी भेगबाट नवलपरासीका दुम्किबास, खैरेनी, सुनवल निस्कने मोटरबाटो स्तरउन्नति, सिचाइको लागि विभिन्न नहर, उज्यालो पाल्पालाई विद्धुतको केन्द्रिय प्रशारण सबै टोल र घरमा लैजाने गरि खाका बनाएको उहाँले बताउनुभयो ।
शिक्षा, स्वास्थ्य, खेलकुदको स्तर वृद्धि गर्ने देखि हरेक क्षेत्रमा विकासको लागि काम गर्ने बिश्वास सहित उहाँले संकल्प पत्रमा समेटेको बताउनुभयो । दलहरुले एकले अर्को दलको सम्मान गर्दै अघि बढ्नु पर्नेमा जोड दिनुभयो । एकले अर्को दललाई आक्षेप लगाउनु भन्दा पनि सद्भाव कायम राख्दै आफ्नो विकासको एजेण्डा लिएर निर्वाचनमा होमिन आग्रह गर्नुभयो । नेपाली कांग्रेसका समनुपातिक उम्मेदवार कृष्ण प्रसाद अधिकारीले देशैभर कांग्रेसको लहर आएको बताउँदै देशलाई जिताउन कांग्रेसलाई जिताउनु पर्ने बताउनुभयो । बदलियको कांग्रेसले देशलाई बदल्ने बताउनुभयो । देशै भरको उत्साहले कांग्रेसको जित सुनिश्चित बनाएको धारणा राख्नुभयो ।
नेपाली कांग्रेसका महासमिति सदस्य रमण बहादुर थापाले नेपाली कांग्रेसले पाल्पा र देशले गर्व गर्न लायक सक्षम व्यक्तित्व रानालाई जनता समक्ष प्रस्तुत गरेको बताउनुभयो । निर्वाचनमा रुख चिन्हमा मतदान गरी विजयी गराउन मतदातासमक्ष कांग्रेसका नेता तथा कार्यकर्ताहरु जनताको घरदैलोमा पुगेर आग्रह समेत गरिरहेका छन् । ३३ वर्ष देखि एउटै दलबाट निर्वाचित भएपनि जनअपेक्षा अनुसार विकासले गति लिन नसकेको भन्दै विकासका लागि एक पटक मौका दिन आग्रह गरेका छन् ।













