पाल्पा - तानसेन नगरपालिकाको मुख्य बजार क्षेत्रको सडक निर्माण कार्यमा देखिएको ढिलासुस्तीप्रति असन्तुष्टि जनाउँदै पाल्पा क्षेत्र नम्बर–२ का उम्मेदवार राम बहादुर अस्लामी मगरले भ्रष्टाचार र अनियमितताविरुद्ध कडा कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेका छन्।।
मुलुककै सबैभन्दा पुरानो नगरपालिका रूपमा परिचित तानसेनको ऐतिहासिक बजार क्षेत्रलाई पुरानै स्वरूपमा फर्काउने उद्देश्यले ढुङ्गा छाप्ने लगायतका सडक स्तरोन्नति कार्य थालिएको भए पनि समयमै सम्पन्न नहुँदा स्थानीय व्यवसायी र सर्वसाधारण सास्ती खेप्न बाध्य भएका छन्। तेर्सो सडकको बायाँतर्फ भइरहेको निर्माण कार्य लामो समयसम्म अधुरै रहँदा धुलो, साघुरो बाटो र आवागमनमा समस्या देखिएको स्थानीयको गुनासो छ।
तानसेन बजार ढुङ्गा छापिएका सडक, पुराना शैलीका घर, मठमन्दिर र ऐतिहासिक संरचनाका कारण पर्यटकीय तथा सांस्कृतिक महत्व बोकेको क्षेत्र हो। नगरपालिकाले बजारलाई थप आकर्षक बनाउने लक्ष्य लिएको भए पनि कार्यान्वयन पक्ष कमजोर हुँदा नागरिकमा असन्तुष्टि बढ्दै गएको छ।
यसै सन्दर्भमा सार्वभौम नागरिक पार्टीका उम्मेदवार अस्लामी मगरले विकास निर्माणका नाममा भइरहेको ढिलासुस्ती, अनियमितता र बजेट दुरुपयोगप्रति प्रश्न उठाएका छन्। “वर्षेनि कनिका छरेझैँ बजेट खर्च गर्नु विकास होइन,” उनले भने, “जनताको करको पैसाको सही उपयोग हुनुपर्छ र काम समयमै सम्पन्न हुनुपर्छ।”
निर्वाचन नजिकिँदै गर्दा उनले भ्रष्ट कुशासनमा संलग्न दल र तिनका उम्मेदवारलाई फागुन २१ गते मतमार्फत जवाफ दिन मतदातालाई आह्वान गरेका छन्। विशेषगरी युवा पुस्ता सहित सम्पूर्ण पाल्पाली मतदातालाई परिवर्तनका पक्षमा उभिन आग्रह गर्दै उनले पारदर्शिता, सुशासन र दिगो विकास आफ्नो मुख्य एजेन्डा रहेको बताए।
तानसेनको ऐतिहासिक पहिचान संरक्षणसँगै प्रभावकारी विकास निर्माणको विषय चुनावी बहसको केन्द्रमा रहँदै आएको छ। आगामी निर्वाचनले स्थानीय विकास र सुशासनको दिशा तय गर्ने विश्वास गरिएको छ।













