पाल्पा - नेपाली कम्युनिष्ट पार्टी पाल्पा निर्वाचन क्षेत्र न - २ ले प्रतिवद्धतापत्र सार्वजनिक गरेकाे छ । तानसेनमा आयोजित पत्रकार सम्मेलनमा नेकपाले उम्मेद्वार साेमप्रसाद पाण्डेयकाे प्रतिवद्धतापत्र सार्वजनिक गरेकाे हाे ।
ने क पा पाल्पा क्षेत्र न २ पाल्पाले सार्वजनिक प्रतिबद्धता पत्र आदरणीय आमाबुवा, दाजुभाई तथा दिदीबहिनीहरू सात दशक लामो संघर्ष र बलिदानको परिणामस्वरूप नेपाली जनताले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान २०७२ प्राप्त गरेका छौं । देशमा यो अवस्था ल्याउनका लागि कम्युनिष्ट र वामपन्थी शक्तिहरूको ऐतिहासिक र निर्णायक भूमिका अनुकरणीय रहेको छ । सविधानको पूर्ण कार्यान्वयन, परिमार्जन, समाजवाद उन्मुख राज्य निर्माण गर्न, भाद्र २३ को जेन-जी आन्दोलनको मर्म र भावनाअनुसार भ्रष्ट्राचार विरुद्ध र सुशासनको पक्षमा प्रभावकारी कानुनी तथा संस्थागत सुधार गर्नु अहिलेको आवश्यकता हो । नेपालको संविधान २०७२ को भावना अनुरुप शिक्षा, स्वास्थ्य, निजामती सेवालाई जनमुखी बनाउने कानूनी व्यवस्था गर्ने साथै प्रदेश र स्थानीय तहलाई थप प्रभावकारी बनाउन आवश्यक ऐन तथा कानुन निर्माण गर्नुपर्नेछ । संविधानको रक्षा, राजनैतिक स्थिरता र आर्थिक समृद्धिको अभियानलाई सफल बनाउनका लागि २१ फागुन २०८२ मा हुने प्रतिनिधि सभा निर्वाचनमा पाल्पा क्षेत्र नं. २ बाट नेपाली कम्युनिष्ट पार्टीका प्रत्येक्षतर्फका उम्मेदवार क. सोमप्रसाद पाण्डेय र समानुपातिकतर्फका उम्मेद्वार क. पार्वती वि.क. (सामना) लाई चुनाव चिन्ह "तारा" मा मतदान गरी विजयी गराउन हार्दिक अपिल गर्दछौं ।
पाल्पाका हाम्रा प्रतिवद्धताहरूः
क) सामजिक, आर्थिक रुपान्तरणका लागि गुरुयोजना निर्माणः
१. सिद्धबाबा-तानसेन-भैरवस्थान-ऋषिकेश रानीमहल र राम्दीलाई जोडेर एकीकृत ध धार्मिक तथा सास्कृतिक पर्यटन सर्किट निर्माण गरिनेछ, जसले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्नेछ ।
२. अंग्रेजसंगको लडाईमा विजयी हासिल गरेको गौरवपूर्ण इतिहास र विरतासंग जोडेर पाल्पाका ऐतिहासिक गढी र किल्लाको एकीकृत विकास गुरुयोजना तयार गरिने छ ।
३. पाल्पा दरबारदेखि रानीमहलसम्म डेडिकेटेड सडकसहित पर्यटनमैत्री पूर्वाधार निर्माण गरिनेछ ।
४. पाँच वर्ष भित्रमा पाल्पा क्षेत्र नं. २ मा आधारभूत विकास (शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, विद्युत) लगायतका सेवाको पहुँच सुनिश्चित गरिनेछ ।
५. प्रभासदेखि दमकडा क्षेत्रलाई आवासीय शैक्षिक हवका रुपमा विकास गरिनेछ ।
६. पाल्पामा रहेका मगर र नेवारलगायत जाति विशेषको कला संस्कृति झल्किने खालका केन्द्रहरु स्थापना गरिनेछ ।
ख) सडक पूर्वाधार :
१. सिद्धबाबा सुरुङ मार्ग समयमै सम्पन्न गर्न र सिद्धार्थ लोकमार्गलाई स्तरउन्नति गर्नका लागि आवश्यक पहल गरिने छ ।
२. प्रदेश गौरवको आयोजनाका रुपमा रहेको हार्थोक बतासे-छहरा सडकलाई संघीय सरकारमार्फत स्रोतको व्यवस्थापन गरी दुई वर्षभित्र निर्माण सम्पन्न गरिने छ ।
३. कालीगण्डकी कोरीडोर अन्तरगत राम्दी-रानीघाट खण्डको निर्माण कार्य तदारुकताका साथ सम्पन्न गर्न विशेष पहल गरिने छ ।
४. यस निर्वाचन क्षेत्र अन्तर्गतका पालिका र वडास्तरीय सडकहरुको गुणस्तर सुधार गर्न सहजीकरण गरिने छ ।
ग) शिक्षा, स्वास्थ्य एवं खेलकुद :
१. एक पालिका एक नमुना विद्यालयको अवधारणा अन्तर्गत प्रत्येक स्थानीय तहमा १/१ आवासीय सुविधासहित स्मार्ट बिग स्कुलको स्थापना गर्न पहल गर्ने । साथै सबै सामुदायिक बिद्यालयहरुलाई प्रविधिमैत्री बनाउने ।
२. पश्चिम नेपालकै शैक्षिक धरोहरको रुपमा रहेको त्रिभुवन बहुमुखी क्याम्पसलाई वर्तमान विश्व बजारमा प्रतिष्पर्धा गर्न सक्ने जनशक्ति तयार पार्ने गरि शैक्षिक अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने ।
३. निर्वाचन क्षेत्र भित्र क्षेत्रीय स्तरको फुटबल र क्रिकेट स्टेडियम निर्माण साथै भलिबल लगायतका खेलकुदका लागि आवश्यक पूर्वाधार निर्माण गर्ने ।४. पाल्पा अस्पताललाई अत्याधुनिक भौतिक पूर्वाधार निर्माण गरी विशेषज्ञ सेवासहितको अस्पतालको रुपमा विकास गर्ने ।
५. गाउँपालिकाका आधारभूत अस्पतालको संचालन र स्वास्थ्य चौकीहरुको स्तरोन्नति गर्ने साथै स्वास्थ्य बीमालाई सहजीकरण गर्ने ।
६. मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेजमा अत्याधुनिक उपचार सेवाहरुको विस्तारमार्फत स्वास्थ्य पर्यटनको विकास गर्ने वातावरण बनाउन सहजीकरण गर्ने ।
घ) कृषि तथा सिंचाई :
१. माडी, अर्गली, छेर्लुङ्ग, कचल, दर्पक, सर्देवा, दोभान लगायतका फाँटमा उपलब्ध सिंचाइ आयोजनाहरुको मर्मत सम्भार गरी प्रभावकारी सिचाइँ प्रणालीको विकास तथा उन्नत विउ विजन र मलको प्रयोग गरी कृषिको उत्पादकत्व बढाउन सार्थक पहल गरिने छ ।
२. सहज सिंचाइ सुविधा नभएका डाँडापाखामा लिभट सिंचाइ तथा रिचार्ज पोखरीहरुको निर्माणमा जोड दिइने छ ।
३. निर्वाचन क्षेत्रभित्रका सम्भावित स्थानहरुमा सुन्तला, कागती लगायतका अमिला जातका फलफूलको पकेट क्षेत्रको रुपमा विकास गरिनेछ । साथै टिमुर, अम्रिसो, अकबरे खुर्सानी, अदुवा बेसार, दालचिनी, ओखर लगायतको व्यावसायिक खेतीमार्फत स्वरोजगारीका अवसर सिर्जना गर्न पहल गरिने छ ।
४. एक पालिका एक चिस्यान केन्द्रको अवधारणालाई मुर्त रुप दिई फलफूल, तरकारी तथा बीउविजन भण्डारण गर्ने कार्यलाई प्राथमिकता दिइने छ ।
५. पालिकाहरुको पहलमा कृषि सहकारीमार्फत कृषि उपजहरुको उत्पादनमा वृद्धि र व्यवस्थित बजारीकरणको कार्यक्रम लागु गरी कृषकहरुलाई प्रोत्साहित गर्न पहल गरिने छ ।
६. कालीगण्डकी करिडोरसंग जोडिएको खेतीयोग्य क्षेत्रहरुमा व्यवसायीक र वैमौसमी उत्पादनलाई स्वरोजगार सँग जोडिनेछ ।
पर्यटन पूर्वाधार-रोजगारीको आधार :
पाल्पाको आर्थिक विकास र रोजगारीको प्रमुख स्रोत पर्यटन भएको हुनाले गुणस्तरीय पर्यटनको विकास र विस्तारमा निम्नानुसारको पहल गरिने छ :
१. भैरवस्थान, रणउजिरेश्वरी, अमरनारायण, रुरुक्षेत्र, राम्दीघाट, नुवाकोटगढी, बल्ढेङ्गढी, जलेश्वर, शिवासन, दर्लमकाली, बगनासदेवी, रैनादेवी, कालिका थान आदिको संरक्षण र प्रर्बद्धन गर्ने ।








